जनकपुरको रामचोकमा रातभरि अश्लील गीतमा आर्केस्ट्रा, प्रहरी अनभिज्ञ

समाजमा रहेका युवा क्लबहरूले युवा वर्गको नेतृत्व तथा क्षमता विकासका लागि काम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जनकपुरधामका केही युवा क्लबहरू आफ्नो कर्तव्य बिर्सेर नकारात्मक कामतर्फ बढी केन्द्रित भएको देखिएको छ। 

देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित र सशक्तीकरण गर्दै उनीहरूको सर्वाङ्गीण विकासका लागि युवामैत्री नीति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्न युवा क्लबहरूको भूमिका महत्वपूर्ण हुन्छ।

युवा लक्षित उद्देश्य प्राप्तिका लागि राज्यलाई पृष्ठपोषण दिन तथा सकारात्मक वातावरण निर्माण गर्न युवाका मुद्दाहरूको बहस पैरवी केन्द्रको रूपमा विकास गर्न युवालाई सामाजिक दायित्व र कर्तव्यप्रति जिम्मेवार बनाउन समाजमा क्लबहरूको गठन गरिएको हुन्छ । 

तर, जनकपुरधामस्थित गणेश युवा कमिटीले गणेश पुजनोत्सवको नाममा समाजमा अश्लीलता फैलाउन उद्धत रहेको देखिएको छ। बुधबारराति जनकपुरधामस्थित रामचोकमा सो कमिटीका पदाधिकारीहरूले गणेश पूजाको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा अश्लील गीतहरूमा नर्तकी नचाएका छन्। 

गणेश पूजनोत्सवमा सो कमिटीले यस्ता कार्यक्रमहरू प्रत्येक वर्ष आयोजना गर्दै आएको छ। तर, स्थानीय प्रशासन भने मुकदर्शक बनेको देखिन्छ । रामचोकमा स्थानीय प्रशासनबाट प्रतिबन्धित आर्केस्ट्रा प्रहरीकै संरक्षणमा नचाइएको छ । 

जिल्ला प्रहरी कार्यालयदेखि करिब ३०० मिटरको दुरीमा रहेको रामचोकमा रातभरी अश्लील गीतमा आर्केष्ट्रा हुँदा पनि प्रहरी अनभिज्ञता जनाएको छ।



यस्ता कार्यक्रम प्रदर्शनमा रोक लगाइएकोले यसबारे कुनै जानकारी नभएको भन्दै प्रहरी पन्छिन खोजेको छ । तर स्वयं प्रहरी नै प्रदर्शनमा देखिनुले उसको भूमिकामाथि पनि शंका उब्जिएको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गणेश युवा कमिटीले त्यस कार्यक्रमका लागि स्थानीय प्रशासनसँग कुनै अनूमति नलिएको बताए । 
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले यस्ता कार्यक्रम प्रदर्शनका लागि स्थानीय प्रशासनसँग कुनै अनुमति कसैले नलिएकोले बताए । 



बुधबार राति भोजपुरी भाषाको विभिन्न अश्लील एवम् दोहोरो अर्थका शब्दहरू प्रयोग गरी बनाइएको गीतहरूमा अश्लील तरिकाले नृत्य गरिएको थियो । 

रामचोकको खुल्ला स्थानमा कार्यक्रम समाप्त भएपछि नर्तकीहरूलाई त्यहाँबाट एक होटेलको सभाहलमा लगी कमिटीका पदाधिकारी तथा वरिष्ठहरूबीच नृत्य गराउन लगाइएको थियो । 

विगत कैयौं वर्षदेखि धनुषसागर पोखरीको पश्चिमी डिलमा बलपूर्वक कब्जा जमाएर बसेका गणेश युवा कमिटीले गत वर्ष मन्दिर नै निर्माण गरेका छन् । 

यसअघि धनुषसागरकै डिल कब्जा गरी वैशाखी निर्माण गरेर आफ्नो नाममा सञ्चालन गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकलाई हेर्दा धनुषामा मात्र ६५० वटा युवा क्लबहरू दर्ता भएका छन् । जसमध्ये आधाभन्दा बढी जनकपुरधाममै छन् । 

तर, तिनीहरूले समाज परिवर्तनका लागि कुनै सकारात्मक कामहरू गर्न सकेको देखिदैन । झन् कुनै राजनीतिक दलको संरक्षणमा समाजमा अश्लीलता फैलाउन उद्धत भएको देखिन्छ ।

  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १३:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया