अफगानिस्तानको जुनियर महिला फुटबल टिमका ३२ खेलाडीहरू पाकिस्तान पुगेका छन् ।
तीन साताअघि अफगानिस्तान छाड्न असफल भएका उनीहरू बुधबार पाकिस्तान पुगेका हुन्।
तालिबानले सत्ता कब्जा गरेपछि उनीहरू काबुलमा लुकेर बसेका थिए । तीन साताअघि देश छाड्ने योजनामा रहेपनि उनीहरू कागजपत्र जुटाउन असफल भएका कारण देश छोड्न सकेका थिएनन् ।
पाकिस्तानका सूचना मन्त्री फवाद हुसेन चौधरीले अफगानिस्तानका फुटबल खेलाडीलाई तोर्खाम बोर्डरमा स्वागत गरेको जानकारी दिएका हुन् ।
उनीहरूसँग अफगानिस्तानको पासपोर्ट भएको र पाकिस्तानले भिसा दिएको मन्त्री चौधरीको भनाइ छ । तालिबानले उनीहरूलाई धम्की दिएपछि पाकिस्तानले आकस्मिक भिसा दिएको हो ।
यसअघि अफगानिस्तानका सिनियर महिला फुटबलर २४ अगस्टमा अस्ट्रेलिया पुगेका थिए । त्यतिबेला कागजपत्र जुटाउन नसक्दा जुनियर महिला फुटबलर काबुलमै लुकेर बस्नु परेको थियो ।
तालिबानको धम्कीले अफगानस्तान महिला खेलाडी लुकेर बस्न बाध्य भएका छन् । तीनै मध्ये केही खेलाडी भने विदेशी देशमा शरण लिन पनि पुगेका छन् ।
अफगानस्तानमा तालिबानले सत्ता कब्जा गरे पछि महिला खेलाडीलाई खेलकुदमा रोक लगाएको हो । रोक लगाएपछि अफगानस्तानका महिला क्रिकेटर भने अझै पनि काबुलमा नै लुकेर बसिरहेका छन् ।
पछिल्लो समय अफगानस्तानको अन्तराष्ट्रिय खेलमा वरीयता तथा स्तर मान्यतामा पनि समस्या भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।