मेरो प्रष्ट मान्यता छ, अब पार्टीमा प्यानलगत चुनाव हुन हुँदैन : अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अब पार्टीमा प्यानलगत चुनाव हुन नहुने प्रस्ताव अघि सारेकी छन् । काठमाडौं जिल्ला कमिटीले आयाेजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव अघि सारेकी हुन् । 

‘नवौं महाधिवेशन भयो । हामी खुसी भयौं । तर, त्यहीँबाटै दुईवटा प्यानल बन्यो । त्यसैबाट पार्टीमा गुट सुरु भयो, असहमति सुरु भयो । त्यसपछि हामीले एमाले एक हुन सकेन’, उनले अघि भनिन्, ‘प्यानलगत चुनाव नगर्ने हो भने हामी सुढृढ एमाले बनाउन सक्छौं । मेरो प्रष्ट मान्यता छ, प्यानलगत चुनाव हुन हुँदैन ।’

साथै, पार्टीमा प्रशिक्षण आयोजना गर्न नसकेका कारणले असफल हुँदै गएको बताउँदै उनले भनिन्, ‘कहिले पनि हामीले व्यवस्थित खालको प्रशिक्षण आयोजना गर्न सकेनौं । जब प्रशिक्षणको अभाव भयो, जब विचारको अभाव भयो, त्यसपछि कमिटी अराजक हुँदै गयो । विचार शून्य भएपछि जन्माउने के ? हामी गुटबन्दीको सिकार हुँदै गयौं ।’

विगतको कमीकमजोरीहरूलाई लुकाएर नहुने उनले बताइन् । उनले भनिन्, ‘विगतको कमीकमजोरीलाई लुकाएर हुँदैन, ढाकछोप गरेर हुँदैन। त्यसको समीक्षा हुनुपर्छ । निमर्म समीक्षा गर्नैपर्छ । त्यो आँट नेतृत्व तहले गर्नैपर्छ । के भयो हिजो ? किन यस्तो भयो ? निर्मम समीक्षा गर्नैपर्छ । जनमतको कदर नै गर्न सकेन । यत्रो जनताले हामीलाई विश्वास गर्‍याे । जनताले माया गर्‍याे नेकपा एमालेलाई । जनताले के भन्छ ? फेरिपनि चुनावमा जानुपर्छ । हामी फुट्न हुँदैन, एकढिक्का हुनुपर्छ भनेर मनमा लिनपर्‍याे । जनमतको कदर नगरेपछि हामी अप्ठेरामा पर्‍‍याें । हामी चुनावमा जनताकोमा जाँदैछौं । अब हामी जनतालाई के भन्छौं ?’

उनले प्रश्न गरिन्, ‘हामी रूपान्तरित हुने कि नहुने ? तलदेखि माथिसम्म माथिदेखि तलसम्म हामी रूपान्तरित हुने कि नहुने ?’ सर्वोच्च अदालतको फैसलापछि पनि एमालेमा फर्कन नपाउँदा निकै दुःखी भएको पीडाबोध पनि सुनाएकी छन् । 





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १३:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया