के राजकिशोर यादवको नेतृत्वमा फेरि फुट्दै छ जसपा ?

जनता समाजवादी पार्टी (जसपा)मा सरकारमा सहभागी हुनेबारे आन्तरिक किचलो बढ्दो छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन धेरैजना आकांक्षी भएपछि जसपामा आन्तरिक किचलो बढेको बताइन्छ । 

सर्वोच्च अदालतको फैसला अनुसार २९ असारमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा शपथ लिएका थिए । शपथकै दिन प्रधानमन्त्री देउवाले चार सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । जुन अहिलेसम्म विस्तार हुन सकेको छैन ।

सरकारमा जान खुट्टा उचालेर बस्ने आरोप खेप्दै आएको जसपा भने अहिलेसम्म सरकारमा सहभागी भएको छैन । सुरुमा मन्त्री छान्न हम्मेहम्मे परेर सरकारमा सहभागी नभएको जसपा त्यसपछि उल्झनमा फस्यो । त्यो उल्झन थियो–राजनीकि दलसम्बन्धी अध्यादेश । 

यो अध्यादेशले २० प्रतिशत सांसद वा कार्यकारिणी समिति सदस्यले चाहेको बेलामा पार्टी फुटाउन सक्ने व्यवस्था गरेको छ । जुन कारणले झस्किए, जसपा अध्यक्ष यादव । त्यसपछि उनले तत्कालै सरकारमा सहभागी नहुने निधो गर्दै राजनीतिक दलसम्बन्धीको अध्यादेश खारेजको माग गर्न थाले । 

उनको यो मागपछाडिको खास कारण हो– पार्टीलाई पुनः फुटबाट जोगाउनु । जसपाले सरकारमा मन्त्रीको संख्या कम पाएको छ, तर सो दलमा मन्त्री बन्ने आकांक्षी धेरै छन् । अन्य पार्टीबाट मन्त्री बनाउने भनेर आश्वासन दिएर ल्याइएको छ । सबैलाई बनाउन सकिएन भने यही अध्यादेशको फाइदा उठाउँदै ती सबैले पार्टी फुटाइदिन सक्ने र जसले गर्दा फेरि कमजोर भइने उनलाई डर छ । त्यसैले अध्यादेश खारेज नभएसम्म सरकारमा सहभागी नहुने उनको तयारी छ । 

स्रोतका अनुसार उनलाई सबैभन्दा बढी डर ठाकुर समूहबाट ल्याइएकाहरुसँग छ । अझ बढी उनी जसपा नेता राजकिशोर यादवसँग सशंकित छन् । यदि उनलाई मन्त्री बनाइएन भने उनैले फेरि नेतृत्व गरेर अर्को पार्टी गठन गरदेलान् कि भन्ने जसपा अध्यक्ष यादवलाई चिन्ता छ । 



के छ अंकगणित ?

जसपा पार्टी फुटाउनलाई कम्तीमा ४ जना सांसदको समर्थन चाहिन्छ, जुन संख्या मन्त्री नबन्नेहरु मिले भने पुग्छ । ठाकुर समूह छाडेर आएकाहरु र आफ्नै पार्टीभित्रका असन्तुष्टहरु मिलेमा यो संख्या पुग्नेछ, जुन खतराको आकलन गर्दै अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने निचोडमा जसपा छ ।



तर, जसपा नेता राजकिशोर यादवले आफू कुनै हालतमा पार्टी फोडेर नजाने बताए । ‘म लोकतन्त्रमा पार्टी बलियो हुनुपर्छ भन्ने मान्यताका आधारमा राजनीति गर्ने व्यक्ति हुँ, पार्टी फुटाउने कुरै आउँदैन,’ उनले भने । उनले भने, ‘यो सब कुरा हावा हो, निराधार हो ।’ 

उनी प्रश्न गर्छन्, ‘म किन पार्टी फुटाउँछु ? मन्त्री बन्ने स्वार्थ पनि छैन । अर्को केही फाइदा लिने लोभ पनि छैन अनि पार्टी फुटाउँछु ? त्यसैले यो सब हावा कुरा हो ।’

जसपामा अहिले १८ सांसद छन्, जसमा ठाकुर समूहबाट ६ जना सांसद उपेन्द्र यादव नेतृत्वको पार्टीमा प्रवेश गरेका छन् । ती सांसदहरुमा महेन्द्र यादव, राजकिशोर यादव, प्रमोद साह, नरमाया ढकाल, रानी मण्डल र अमृता अग्रहरी छन् । 

तर, स्रोतका अनुसार यी सबै सांसद कसैको नेतृत्वमा नभई बेग्लाबेग्लै ‘डिल’ गरेर जसपाको उपेन्द्र पक्षमा प्रवेश गरेका हुन् । त्यसैले तत्कालका लागि कसैले पनि पार्टी फुटाउन आँट गर्न नसक्ने विश्लेषण गरिएको छ । 
 

  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १७:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया