असहायलाई निःशुल्क, सक्नेलाई ८५ रुपैयाँमा खाना

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ को यरीचोकमा ८५ रुपैयाँमा एक छाक सादा खाना पाइने गरेको छ । ९ जना युवा मिलेर खोलिएको कर्णाली खाना खाजा घरले ८५ रुपैयाँमा एक छाक खाना खुवाउने गरेको हो । 

युवा वीरेन्द्रबहादुर केसी, कालीबहादुर बुढा र रत्न बुढालगायत ९ जना युवा मिलेर ‘खाना जीवन हो, माया हजुरको’ नाराका साथ कर्णाली खाना खाजा घर खोलेका हुन् । 

कोरोना महामारीका कारणले रोजगारी गुमेका कारणले सबै जनाले महँगो खाना खान नसक्ने अवस्था आएका कारणले आफूहरुले ८५ रुपैयाँमा खाना खुवाउने गरेर खाना र खाजा घर सञ्चालन गरेको सञ्चालक समितिका प्रमुख वीरेन्द्र केसीले जानकारी दिए । ‘कोरोना महामारीका कारणले कैयौँको रोजगारी गुमेका छ । सबैले महँगो खाना खान सक्ने अवस्था छैन ।’ उनले भने,‘अहिले अवस्थामा रोजगारी गुमाएका बेरोजगारलाई लक्षित गरेर खाना र खाजा घर खोलेका हौँ ।’

एक छाक खानाको ८५ रुपैयाँ र दिउँसोको खाजा ५० रुपैयाँमा नै खुवाउने गरेको सञ्चालक केसीले जानकारी दिए । ‘हामीले शुद्ध शाकाहारी खाना तथा खाजा खुवाउँछौँ,’ उनले भने, ‘खानामा दात, भात, तरकारी चटनी हो । नास्तामा रोटी, तरकारी, पुरी खुवाउँछौँ ।’

१० लाख लगानीमा भोका कोही नरहून् भन्ने लक्ष्यका साथ खाना तथा खाजा घर खोलिएको केसीले बताए । ‘हामीले सडक बालबालिका, असहाय र विपन्न समुदायलाई निःशुल्क खुवाउने गरेका छौँ,’ उनले भने,‘अन्यबाट भने हामीले खाना ८५ रुपैयाँ र खाजाको ५० रुपैयाँ लिने गरेका छौँ ।’

त्यो रुपैयाँ घरभाडा र कर्मचारीको तलबका लागि प्रयोग गरिएको केसीले जानकारी दिए । ‘हाम्रो कुनै व्यवसाय गरेर नाफा कमाउने उद्देश्य हाम्रो हैन,’ उनले भने, ‘घरभाडा र कर्मचारीको तलब खुवाउन यो पैसा लिइएको हो ।’



यही भदौ २० गते खोलिएको खाना खाजा घरमा अहिले दैनिक ५० जनाले खाना तथा खाजा खाने गरेको त्यसको १ प्रतिशत रकम बचत गरेर सडक बालबालिका, असाहय र विपन्न समुदायलाई खाना तथा खाजा निःशुल्क खुवाउँदै आएको अर्का सञ्चालक कालीबहादुर बुढाले बताए । 

सस्तोमा खाना खाजा घर खोल्नका लागि धन सार्की (कालिकोट), राधेश्याम खड्का(काठमाडौं) अनामिका अर्याल(काठमाडौं), सूर्य खत्री (सुर्खेत) र मिलन बोगटी(कालिकोट)ले हौसला दिएको सञ्चालक केसीले जानकारी दिए । 



कुनै दाताले सहयोग गरे निःशुल्क खुवाउने

आफूहरुलाई सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गरेमा निःशुल्क खाना खाजा खुवाउने सञ्चालक केसीले बताए । ‘अहिले हामीले व्यक्तिगत लगानीमा सुर्खेतकै सस्तो मूल्यमा खाना तथा खाजा खुवाइरहेका छौँ । नाफा कमाउने हाम्रो उद्देश्य हैन,’ उनले भने, ‘सरकारी तथा गैरसरकारी संघ–संस्थाबाट सहयोग भए निःशुल्क खाना खुवाउन सक्छौँ ।’

खानाबाट आउने रकम अहिले घरभाडा, कर्मचारीको तलब, पानी बिजुली बत्ती र खाद्यान्न खरिदमा खर्च हुने गरेको सञ्चालक रत्न बुढाले बताए । 

सरकारी तथा गैरसरकारी संस्थाले सस्तोमा खाना खुवाएकोमा प्रशंसा गरिरहेको र केहीले सहयोग गर्ने प्रतिबद्धता गरेको बुढाले जानकारी दिए । 

  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १८:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया