हिजाे एमालेमा माधवकुमार नेपाललाई ‘उक्साएका’ नेता आज उनीविरुद्ध के भन्दैछन् ?

नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी बनेको धेरै भएको छैन । तर, नेकपा एमालेमा हुँदा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई ‘चर्को साथ’ दिएका एमाले नेताहरुको अभिव्यक्ति अहिले सुन्दा जोकोही अचम्ममा पर्न सक्छ ।

५ पुसमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि जसले ओलीको नाममा चर्को आलोचना गरेका थिए, तीमध्ये केही नेताले अहिले तिनै ओलीसँग मन्च सेयर गरेका छन् । त्यति बेला जसले ओलीको विरोधमा माधवकुमार नेपालको साथ दिँदै ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका थिए, अहिले उनीहरुको बोलीचालीमा युटर्न आएको छ ।

३ सय ६० डिग्रीमा आफ्ना धारणा परिवर्तन गर्ने यी नेता हुन्, एमाले स्थायी कमिटीका १० सदस्य ।

पार्टीभित्र चर्को संघर्ष गरेर अगाडि बढ्नु पर्ने र आवश्यक परेमा नयाँ पार्टीसमेत खोल्न आफूहरु तयार भएको अभिव्यक्ति दिएका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, योगेश भट्टराई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा र भीम आचार्य अहिले नयाँ पार्टी खोलेको भन्दै माधव नेपालको विरोध गरिरहेका छन् ।

माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग जाँदा पहिले उनीसँग साथमा भएका यी १० नेताले अहिले उनको साथ चटक्कै छाडेका मात्र होइनन्, एमाले विघटनको सम्पूर्ण दोष माधवकुमार नेपाललाई मात्र दिइरहेका छन् । त्यतिबेला स्वयं माधवकुमार नेपालले भनेका थिए— हिजाे मलाई जसले उक्साए, आज उनीहरुलाई देखिनँ ।

तीमध्ये एक हुन्, बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी अष्टलक्ष्मी शाक्य । नेपालको साथ छोडेकाले नै छोटो समयका लागि भए पनि बागमती प्रदेशकी मुख्यमन्त्री हुन पाएकी शाक्यले बिहीबार काठमाडौंमा ओलीसँग मन्च सेयर गरिन् ।



 बागमती प्रदेशकी मुख्यमन्त्री पदमा नियुक्त भएलगत्तै शाक्यले फरकधारसँग भनेकी थिइन्, ‘म माधवकुमार नेपालको पक्षमा नै छु, म ओली र नेपाल दुवैको विरोध कहिल्यै गर्दिनँ ।’

तर, बिहीबार उनले आफैंले भनेको यो कुरा बिर्सिइन् ।



बिहीबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै शाक्यले भनिन्, ‘कमरेड माधवकुमार नेपालले लिएको बाटो सही छैन ।’

शाक्यजस्तै यसअघि माधवकुमार नेपालको पक्षमा रहेका घनश्याम भुसालले पनि अब माधवकुमार नेपालको आलोचना गर्न थालेका छन् ।

३० भदौ २०७८, बुधबार बुटवलमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा भुसालले माधवकुमार नेपालले अब आत्मसमीक्षा गर्न जरुरी रहेको बताएका छन् । ‘उहाँ नबुझेको होइन जस्तो लाग्छ,’ भुसालले भनेका छन्, ‘तर, अहिले किन उहाँले बुझ्नु भएन ?’

ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गर्दा त्यसलाई प्रतिगामी कदम भन्दै मन्त्री पदबाट राजीनामा दिएका एमालेका अर्का नेता योगेश भट्टराईले पनि अहिले आफ्नो बोली फेरेका छन् । 

भट्टराईले त कतिसम्म भन्न भ्याएका छन् भने नेपालमा एकपटक अध्यक्ष बनौँ भन्ने लोभका कारण पनि उनले पार्टी खोलेका हुन् । एक टिभी कार्यक्रममा भट्टराईले भनेका छन्, ‘एमालेमै एकताबद्ध भइयो भने ७० वर्षे उमेरहद छ । एकपटक अध्यक्ष हुन पाए हुन्थ्यो भन्नेपनि सोच्नुभयो होला । माधव कमरेडको बारेमा पापी सोचाइ ठान्नुस कि यस्तो किन सोचेको भनिएपनि म फिर्तै लिउँला । जुन दिन पार्टी दर्ता गर्नुभयो निर्वाचन अयोगमा, माधव नेपाल हाँस्ने मान्छे त होइन तर, उहाँको अनुहारमा चमक नै अर्कै थियो ।’

कुनै समय माधवकुमार नेपालका अति निकट मानिएका भीम रावल पनि अर्का त्यस्तै पात्र हुन् जसले पहिले माधवकुमार नेपालको चर्को समर्थन गरे र अहिले चर्को आलोचना गरिरहेका छन् ।

कतिसम्म भने हिजोसम्म आफूले आदर्श मानेका एमाले नेता माधवकुमार नेपाल अहिले दक्षिणपन्थी पूँजीवादी कांग्रेसको सहकार्यमा गएकोसमेत उनले टिप्पणी गर्न थालिसकेका छन् । रावलजस्तै गोकर्ण विष्टले पनि माधवकुमार नेपालबारे अहिले आलोचनात्मक अभिव्यक्ति दिन थालेका छन् ।

नेपालले एक्लै ढिपी गरेर नयाँ पार्टी दर्ता गरेको विष्टले आरोप लगाउन थालेका छन् ।

कुनै समय राजनीतिमा इमान र जमान के हो भन्ने विषयमा यी नेताहरुले लामो लेक्चर दिने गरेका थिए । विशेषगरि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपामा विवाद देखिँदा यी नेताहरुले चर्को आलोचना गरेका थिए, ओलीको । उनीहरुले त्यति बेला आदर्श र राजनीतिक इमान्दारीको लामो भाषण गरिरहेका हुन्थे । तर, छोटो समयमा नै उनीहरु किन परिवर्तन भए त ?

यसको जवाफ एक समयमा पक्कै उनीहरुले पनि दिनेछन् ।

  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार २१:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया