कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को दोस्रो सिजन अन्तिम चरणमा छ । आगामी असोज २ गते कमेडी च्याम्पियनको ग्रान्ड फिनाले हुँदैछ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यस पटकको ग्रान्ड फिनाले नियमित सेटमा नै हुने भएको छ ।
च्याम्पियनको अन्तिम प्रतिस्पर्धामा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाले प्रतिस्पर्धा गर्दैछन् । सबै प्रतियोगी भोट माग्न आफ्नो गृह जिल्ला पुगेर ग्रान्ड फिनालेका लागि काठमाडौं फर्किसकेका छन् ।
सबै प्रतियोगीको आ–आफ्नै विशेषता छ । सबै प्रतियोगी उपाधि जित्ने होडमा छन् । फाइनलमा पुगेका तीनैजना प्रतियोगीलाई विभिन्न दल र क्षेत्रका नेताहरुले खुलेर भोट मागिरहेका छन् । गोरखाबाट प्रतियोगितामा सामेल हुन आएका सन्तोष थापाका लागि पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले खुलेरै भोट मागे ।
यता, ताप्लेजुङका भरतमणिलाई पूर्वमन्त्री तथा एमाले नेता योगेश भट्टराईले उत्कृष्ट १० देखिनै भोट माग्दै आएका छन् । भरतमणिको पक्षमा नेपाली कांग्रेसका नेता गगन थापाले पनि भोट मागेका छन् ।
उनले जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा भरतमणिलाई भोट माग्न आग्रह गरेका थिए । योगेशले भने लगातार रुपमा सामाजिक सञ्जालमार्फत पनि भरतमणिको पक्षमा भोट मागिरहेका छन् । उनले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका छन् ।
सिक्किमबाट कमेडी च्याम्पियनमा सहभागी हुन आएका बिक्की पनि प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा छन् । उनलाई पनि त्यहाँका मुख्यमन्त्री प्रेम सिंह तामाङले साथ दिएका छन् । उनले बिक्कीलाई भोट गर्नका लागि ६ लाख आईसी आर्थिक सहयोग गरेका छन् । उनले सबैलाई भोट गर्न समेत आग्रह गर्दै आए । तामाङले बिक्की भोट क्याम्पेनिङमा सिक्किम पुगेका बेला पनि निक्कै सहयोग गरे ।
कमेडी चयाम्पियनको पहिलो सिजनमा प्रतियोगीहरुलाई नेताले खुलेर भोट मागेका थिएनन् । यो वर्ष भने हरेक प्रतियोगीका पक्षमा नेता देखिएका छन् । सबैलाई नेताहरुले भोट अपिल गरेका छन् । प्रतियोगीहरुले पनि आफ्नै हिसाबले उपाधिको दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
शोका निर्णायक मध्ये मनोज गजुरेलले फाइनलमा पुगेका तीनैजनाका लागि भोट मागेका छन् । उनले सामाजिक सञ्जालबाट भोट अपिल गरेका हुन् । उनले लेखेका छन्, ‘उत्कृष्ट ३ कलाकार यहाँहरु समक्ष राखेका छौँ । कमेडी च्याम्पियन छान्ने जिम्मा दर्शकलाई ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।