सुदूरपश्चिम प्रदेशको अर्थमन्त्रीमा तामाङ र राज्यमन्त्रीमा बोहरा नियुक्त

सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् । 

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्टले तामाङ र बोहरालाई नियुक्त गरेका हुन्। 

नवनियुक्त मन्त्रीद्वयलाई शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यलयमा शपथसमेत खुवाएको छ । प्रदेश प्रमुख गंगाप्रसाद यादवले आर्थिक मामिला तथा योजना मन्त्री तामाङलाई शपथ खुवाएका हुन् भने मुख्यमन्त्री भट्टले आर्थिक मामिला तथा योजना राज्यमन्त्री बोहरालाई सपथ खुवाएका छन् ।

भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो । 

तामाङ एमालेका पूर्वप्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यसअघि नेकपा विवाद हुँदा ओली पक्षमा थिइन् । 

तर तामाङले २१ भदौमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि उनलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो । माओवादी नेतृत्वको सरकारमा एकीकृत समाजवादी पनि सहभागी छ । 



सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।

प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक/एक सांसद छन् ।



  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार २०:१२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया