नेपालमा कोभिड १९ को संक्रमण केही कम हुँदै गर्दा अहिले झन थरी–थरीका सरुवा रोग देखिन थालेका छन् । यसमा पछिल्लो थपिएको छ, स्क्रब टाइफस । केही दिनअघि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिडको आशंकामा केही बिरामी अस्पताल आए । जसमध्ये एकै दिन ६ जनामा स्क्रब टाइफस प्रमाणित भयो ।
त्यसैदिन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले यसबारे फेसबुकमा एक स्टाटस पोस्ट गरे । उनको त्यो पोस्टपश्चात् ज्वरो आउने लक्षण देखिएका मानिसले दुई–तीनवटा रोगको आशंका मान्न थाले । मानिसहरु नयाँ रोगबारेमा बुझ्न उत्सुक देखिन्छन् ।
के हाे स्क्रब टाइफस ?
यसबारे उनै डाक्टर शेरबहादुर पुन भन्छन्, ‘यो किटबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यसको समयमा उपचार भए पूर्ण रुपमा निको हुन्छ । यसको दीर्घकालीन असर पनि हुँदैन ।’
यो एक प्रकारको किटजन्य सरुवा रोग हो । यो ‘ओरिएन्टा सुसुगामुसी’ ब्याक्टेरियाका कारण हुन्छ । यो ब्याक्टेरिया एक प्रकारको सानो किरामा पाइन्छ । जसलाई ‘माइट’ भनिन्छ । माइटबाट नै यो रोग एकबाट अर्कोमा सर्छ । यो मुसामा पाइने ब्याक्टेरिया हो ।
मुसामा भएको यो ब्याक्टेरिया मानिसको शरीरमा सरेपछि स्क्रब टाइफस हुने गर्दछ । यस ब्याक्टेरिया (किर्ना)को टोकाइपछि मानिसमा अत्यधिक मात्रामा ज्वरो आउने, टाउको दुख्ने, कानमा कृत्रिम आवाज सुनिने, आँखा हल्का रातो हुने, लेन्स ग्रन्थी सुनिने, छालामा स–साना बिबिरा आउने, सास फेर्न अलि अप्ठ्यारो हुने गर्छ । महत्वपूर्ण कुरा भनेको ब्याक्टेरियाले टोकेपछि छालामा एक प्रकारको डाबर आउने गर्छ ।
डाक्टर पुन भन्छन्,‘ब्याक्टेरियाले टोकेको ठाउँमा चिलाउँछ र कन्याउँदै गर्दा डाबरको माथि कालो रङको पाप्रा आउँछ । जसलाई ‘इस्कार’ भनिन्छ ।’ उनी भन्छन्, ‘यो कुनै नयाँ रोग होइन । यो पहिला पनि नेपालमा थियो, तर पछिल्लो समय यसका बिरामी बढेको पाइन्छ ।’
यस हप्ता मात्रै उनले एकै दिनमा कोभिडको आशंका गरेर अस्पताल आएका बिरामीमा स्क्रब टाइफसको संक्रमण देखेका हुन् । उनी भन्छन्, ‘कोभिडको समय भएर तथा कोभिडसँग केही हदसम्म लक्षण मिल्दाजुल्दा भएका कारण मानिस झुक्किन्छन् ।’
यस प्रकारका लक्षण देखिएका केही बिरामी देखेपश्चात् परीक्षण अगावै स्क्रब टाइफस भनेर डाक्टरहरुले बताएका थिए । प्रयोगशालामा परीक्षणपश्चात् पनि यही प्रमाणित भयो । अन्य केही बिरामीमा पनि यो लक्षण देखिएको उनले बताएका छन् ।
उनी भन्छन्, ‘यस प्रकारका लक्षण संक्रमण भएको २ देखि ३ दिनभित्रमा देखिन्छ ।’ यसको परीक्षण सहज भएका कारण मानिसमा यस्तो लक्षण देखिएमा परीक्षणका लागि उनले अनुरोध पनि गरेका छन् ।
उनी भन्छन्, ‘यसको उपचार समयमा नै भएमा एकदमै राम्रो उपचार हुन्छ । सर्वसुलभ रुपमा पाइने एन्टिबायोटिक प्रयोग गर्छौं । बिरामीलाई ५ दिनदेखि एक हप्ताभित्रमा पूर्ण रुपमा सञ्चो हुन्छ ।’
डाक्टर पुन भन्छन्, ‘यसको उपचारमा ढिलाइ भएमा निमोनिया तथा अन्य जटिल समस्या आउन सक्छ ।’
यो रोग धेरैमा देखिएको भनेर उनले पोस्ट गर्नासाथ सर्वसाधारणको ध्यान यसतर्फ आकर्षित भएको हो । उनी भन्छन्, ‘अहिले टेकु अस्पताल कोभिड ओरियन्टेट अस्पताल हो । मानिसहरु ज्वरोको कारण यो समस्या लिएर आएका रहेछन्,’ उनले थपे, ‘एकजना बिरामीलाई हेर्नेबित्तिकै यो स्क्रब टाइफस भनेर भनेको थिएँ । त्यसको भोलिपल्ट रिर्पोट स्क्रब टाइफस भनेर नै आएको रहेछ ।’
त्यसै दिन अन्य ६ जना बिरामीको पनि स्क्रब पोजेटिभ आएपछि मानिसहरुमा यो रोग बढेको भनेर उनले पोस्ट राखेको बताएका छन् ।
टेकुमा हाल कोभिडका मात्रै बिरामी हेर्ने भन्दै गर्दा एकै दिनमा ६ जनासम्म स्क्रब पोजेटिभ देखिएपछि उनले उक्त फेसबुक पोस्ट राखेका थिए । मानिसमा यससम्बन्धी जानकारी जरुरी भएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘नेपालमा यो रोग विशेषतः गाउँमा हुन सक्छ । किनभने गाउँमा मानिसहरुको खाद्यान्नमा मुसा लाग्ने र त्यही अन्न मानिसको सम्पर्कमा आउँछ, जसले गर्दा मुसामा हुने यो ब्याक्टेरिया (किर्ना) मानिसको शरीरमा पुग्न सक्छ ।’
यस रोगबाट गाउँघरतिर धेरै मानिसले ज्यान गुमाए पनि रोगको पहिचान नभएको हुन सक्ने उनले बताएका छन् । समयमा नै यसको पहिचान नभएमा यसमा रहने कालो पाप्रो झरिसक्छ । झरिसकेपछि चाहिँ यहि हो भनेर पहिचान गर्न गाह्रो रहेको उनी बताउँछन् । यस ब्याक्टेरियाको संक्रमणलाई समयमा उपचार नभएमा यसले लामो समयसम्मका समस्या पनि ल्याउन सक्छ ।
विगतमा नेपालमा यो रोगबाट पनि मानिसको मृत्यु भएको उनले जानकारी दिएका छन् । यसको समयमा उपचार नभए, निमोनिया हुने, मस्तिष्कमा असर पार्ने, पेटमा समस्या ल्याउने, मुटुमा असर पार्ने, किड्नीमा असर पार्ने हुन सक्छ ।
यसको सहज उपचार भएको र एकपटक राम्रोसँग औषधि सेवन गरेपछि भने यो रोगले पछि नसताउने उनी बताउँछन् । त्यसैले यसको समयमा नै उपचार गर्नु राम्रो रहेको डाक्टर पुनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।