हाम्रो विद्रोह ओलीको दक्षिणपन्थविरुद्धको सानो झिल्को हो, सात महिनापछि डढेलो लागेर सतयनाश हुनेवाला छ : रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अबको सात महिनापछि केपी ओली नेतृत्वको नेकपा एमाले भत्किने दाबी गरेकी छन् । 

समाजवादी प्रेस संगठनले शनिबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ झाँक्रीले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा पनि एमाले भत्किएर जाने जिकिर गरिन् । 

केपी शर्मा ओली सच्चिने कुनै सम्भावना नरहेको दाबी गर्दै नेतृ झाँक्रीले निर्वाचनअघि नै ओलीलाई आफ्ना सयौँ नेता–कार्यकताले साथ छाड्ने बताइन् ।  

‘कुनै चिज बिग्रेपछि काम लाग्दैन । ओली सच्चिने कुनै सम्भावना छैन । त्यसकारण कुनै सम्भावना नै नभएको घरमा बस्नुभन्दा समयमै त्यहाँबाट छाडेर यो आन्दोलनमा समाहित हुनु सबैका लागि हितकर हुनेछ,‘उनले भनिन् । 

एमालेलाई ‘ओली कम्पनी’को संज्ञा दिँदै उनले अबको सात महिनासम्म सुस्त गतिमा एमाले भत्किने, ८ महिनापछि संघ र प्रदेशको निर्वाचनको प्रक्रिया सुरु हुने र त्यसपछि सामान्य विद्रोह नभई पहिरो जाने झाँक्रीले ठोकुवा गरिन् । 

संगठन निर्माणका क्रममा विद्रोहको प्रक्रियालाई संगठित गर्ने अभियान चलेको बताउँदै उनले सयौँ नेताहरू एकीकृत समाजवादी पार्टीमा आउन चाहिरहेको जिकिरसमेत गरिन् ।
 
नेकपा एमालेको नेतृत्वमा अवसरवाद, व्यक्तिवाद, नातावाद, विसर्जनवाद, दक्षिणपन्थी हावी भई पार्टी सच्चिनै नसक्ने अवस्थामा गएपछि आफूहरुले विद्रोह गरेको नेतृ झाँक्रीले बताइन् । 



दुईतिहाइ बहुमतको तत्कालीन सरकारलाई सोही ढंगले सञ्चालन गर्नुको सट्टा दुई–दुईपटक संसद विघटन गर्नेजस्तो गैरजिम्मेवार, असंवैधानिक र अपराध गर्ने काम ओलीले गरेको उनको आरोप छ । 

नेतृ झाँक्रीले आफूहरुले गरेको विद्रोह संविधानको रक्षाको लागि लोकतन्त्रलाई प्रवर्द्धन गर्दै संसदलाई पूर्ण कार्यकाल सञ्चालन गर्नका निम्ति रहेको धारणा राखिन् ।
 
उनले युवा पुस्तामा एकीकृत समाजवादी पार्टीको बढ्दो आकर्षण रहेको र समाजवादतर्फको यात्रामा आफूहरु अगाडि बढ्छौँ भन्ने संकल्पलाई धेरै साथ र सहयोग भेटिरहेको दाबीसमेत गरिन् । 



‘यदि केपी ओलीलाई हामीबाट धक्का लागेको छैन भने उहाँले हाम्रो बाटो किन छेकिराख्नुभएको छ ? उनले प्रश्न गर्दै भनिन्, ‘केपी ओलीको दक्षिणपन्थको विरुद्ध विद्रोहको सानो झिल्को हो । अहिले सलाई मात्रै कोरिएको हो । बिस्तारै धेरै ठूलो डढेलो लागेर सत्यानाश गर्नेवाला छ । उहाँ धेरै हतास मनस्थितिमा हुनुहुन्छ ।’

  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १९:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया