संखुवासभा सामूहिक हत्याकाण्ड : थप ४ जना नियन्त्रणमा

संखुवासभाको मादीमा दुई साताअघि भएको एकै परिवारका ६ जनाको ‘सामूहिक हत्या’को अनुसन्धानका क्रममा थप ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्याको अभियोगमा पक्राउ परेका लोकबहादुर कार्कीको बयानका क्रममा थप ४ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।

हत्या अभियोगमा पक्राउ परेका लोकबहादुरका बाबु, भाइ र अन्य दुई छिमेकीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रदेश १ प्रहरी प्रमुख अरुणकुमार बिसीले बताए ।

उनका अनुसार सोधपुछका लागि नियन्त्रणमा लिएकाहरुलाई म्याद थप गरिएको छैन । यसअघि लोकबहादुरका भाइ नरेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

सामूहिक हत्यामा परेकी रञ्जना कार्कीको हराइरहेको मोबाइल नरेशसँग फेला परेपछि उनलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो ।

बाबु र छिमेकीलाई भने के कारणले नियन्त्रणमा लिइएको भन्ने प्रहरीले खुलाएको छैन ।  



सामूहिक हत्या भएको एक सातापछि मृतकका भतिजा पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ गरेको थियो । उनले रिसको आवेगमा सबैको पालैपालो हत्या गरेको बताएका थिए । 

१३ दिनअघि संखुवासभा मादी उम्लिङकी ८४ वर्षीय पार्वती कार्की, उनका ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीय कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीय रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीय गोमाको शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो । 



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १८:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया