काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जानकारी दिए ।
उनले काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुसी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताए ।
सामाजिक विकासमन्त्री सुवेदीले भने, ‘साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौं, साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौंका संयोजकज्यूको प्रस्ताव र प्रचलित कानुनबमोजिम काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ रहेकाले काठमाडौं जिल्लालाई आज मिति २०७८÷०६÷०४ गते सोमबारका दिन साक्षर जिल्ला घोषणा गर्दछु । साक्षर बनाउँदा आज हामी जुन किसिमको खुसी व्यक्त गरिरहेका छौँ । यसपछाडिका हाम्रा धेरै खुड्किलाहरू पनि छन्, हामीले अरू धेरै कुराहरूलाई लिएर अघि बढ्नुपर्नेछ । त्यसैले अब त्योभन्दा बाँकीलाई साक्षर बनाउनुपर्नेछ । अहिले ललितपुर शतप्रतिशत साक्षर जिल्ला छ, त्यसैगरी काठमाडौंलाई पनि पूर्ण साक्षर बनाइनेछ ।’
शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको बताए । स्रोत र साधन पर्याप्त भए पनि यसलाई व्यवस्थापन गर्न नसकेको कुरामा उनले जोड दिए ।
निर्देशक लुइँटेलले शिक्षाको कार्यक्रममा र कार्यान्वयनमा जटिल समस्या रहेको भन्दै नेपालमा शिक्षाको अहिलेको अवस्था बसको इन्जिन नबनाई झ्याल ढोका बनाउन थालिएको र इन्जिन मुग्लिनमा गएर जोड्ने जस्तो तरिकाले अघि बढिरहेको तर्क गरे।
निर्देशक लुइँटेलले भने, ‘शिक्षामा व्यवस्थापकीय चुनौती छ । स्रोत र साधन छ तर व्यवस्थापन र कार्यान्वयनमा जटील चुनौती छ । म एउटा शिक्षासेवक भएकोले के भन्छु भने नेपालको शिक्षामा कार्यक्रममै चुनौती छ, कार्यान्वयनमै जटिल समस्या छ । अहिलेको शिक्षाको अवस्था बसको इन्जिन बनाइएको छैन, झ्यालहरू बनाउन थालिएको छ । त्यो पनि इन्जिन मुग्लिनमा जोड्ने गरी, त्यहाँसम्म पुग्छ कि पुग्दैन थाहा छैन ।’
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरूलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान अनुरोध गरे ।
सचिव थपलियाले भने, ‘म खासगरी शिक्षा शाखामा काम गर्ने हाम्रा शिक्षा अधिकारी ज्यूहरूलाई विशेष निवेदन गर्न चाहन्छु । भोलिको दिनमा हामीले हाम्रो व्यवस्थापनलाई चुस्त बनाउनका लागि स्थानीय पालिकाहरूको महत्वपूर्ण भूमिका रहने भएकाले त्यसैले म सामाजिक विकासमन्त्रीज्यूलाई प्राविधिक शिक्षा क्षेत्रमा धेरैभन्दा धेरै बजेट छुट्याउन अनुरोध गर्दछु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।