कोरोनाको तेस्रो लहरको खतरा कायमै रहँदा खुसीको खबर पनि साथै आएको छ । फाइजरले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका निम्ति उपयोगी देखिएको छ । कम्पनीले उक्त उमेर समूहका बालबालिकामाथिको परीक्षण सफल भएको दाबी गरेको छ ।
फाइजरले अमेरिकासँग यसको अप्रुभल लिने प्रयास थालेको बताएको छ । फाइजर र जर्मन साझेदार बायोएनटेकले निर्माण गरेको भ्याक्सिन १२ वर्षभन्दा बढी उमेर समूहका बालबालिकाका लागि पहिला नै उपलब्ध भइसकेको छ ।
महामारी कायमै रहँदा विद्यालय खुल्न थालेका छन्, यसकारण पनि बालबालिकाका निम्ति भ्याक्सिन अनिवार्य बनेको छ । बालबालिकामा कोरोनाको डेल्टा भेरिएन्ट बढी संक्रामक भएको पाइएको छ ।
फाइजरले विद्यालय जाने उमेरका बालबालिकामाथि फाइजरको भ्याक्सिन परीक्षण गरेको हो । कम्पनीले निकै कम डोज परीक्षण गर्दा सकारात्मक नतिजा पाएको बताएको छ ।
फाइजरका सिनियर चिकित्सक बिल गु्रबरले भने, ‘यो भ्याक्सिनको दोस्रो डोजपछि पाँचदेखि ११ वर्ष उमेरका बालबालिकामा कोरोनाविरुद्ध लड्ने एन्टिबडी बलियो भएको पाइएको छ । भ्याक्सिनले किशोर उमेरका व्यक्तिमा जस्तै बालबालिकामा पनि प्रभाव पारेको परीक्षणबाट पुष्टि भएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।