यस्ता छन् इपिएलमा सहभागी टोली

नेपालको सर्वाधिक सफल क्रिकेट लिग हो, एभरेस्ट प्रिमियर लिग (इपिएल) । सन् २०१६ देखि सुरु भएको यो लिगको तीनवटा संस्करण सम्पन्न भइसकेको छ । 
इपिएलको चौथो संस्करणसम्म आइपुग्दा लिगले ३ फरक टोलीलाई विजेताका रूपमा पाएको छ । 

घरेलु खेलाडी तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रदर्शनका कारण नेपाली दर्शकले इपिएललाई निकै रुचाएका छन् ।  

अन्य सिजन भन्दा इपीएलमा यसवर्ष हरेक टोलीले खेलाडी छनोटदेखि आर्थिक लगानीमा निकै बढोत्तरी गरेको देखिन्छ । 

इपीएलको यो सिजन पहिलेका तीन सिजनको तुलनामा केहि खर्चिलो पनि देखिएको छ । हरेक टोलीका व्यवस्थापकदेखि लगानीकर्ताले यस वर्षको इपिएलमा गरेको लगानी हेर्दा लिग निकै भव्य हुने अनुमान पनि गर्न सकिन्छ ।  

इपिएलको विजेताले ५० लाख रुपैयाँ तथा उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । इपिएलको पहिलो संस्करणदेखि नै ६ टिमको सहभागिता रहँदै आएको छ । 

इपिएलको पहिलो संस्करणमा टिमको नाम कर्पोरेट हाउसका आधारमा राखिएको थियो । पहिलो संस्करणमा विशाल ग्रुपको विशाल वारियर्स, टेलिटक प्राइभेट लिमिटेडको कलर्स एक्स फ्याक्टर्स, शंकर ग्रुपको जगदम्बा राइनोज, पञ्चकन्या गु्रपको पञ्चकन्या तेज, कान्तिपुर पब्लिकेसनको कान्तिपुर गुर्खाज र घोराही सिमेन्ट्सको सगरमाथा लिजेन्टसले सहभागिता जनाएका थिए ।



इपिएलको दोस्रो संस्करणदेखि भने टिमको नाम सहरको आधारमा राखियो । इपिएलमा काठमाडौं, ललितपुर, चितवन, भैरहवा, पोखरा तथा विराटनगर सहरका नामबाट टिमले सहभागिता जनाएका छन् । हाल इपिएलमा यिनै सहरका ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । 

पहिलो संस्करणमा पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई ४० रन हराउँदै उपाधि जितेको थियो । दोस्रो संस्करण विराटनगर वारियर्सले १ तथा तेस्रो संस्करणमा ललितपुर प्याट्रियट्सले १४ रनले विजयी हुँदै उपाधि उचाले । दुवैले फाइनलमा भैरहवा ग्ल्याडिएटर्सलाई पराजित गरेका थिए ।



इपिएलमा प्रत्येक टोलीले सिंगल राउन्ड रोबिनको आधारमा एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन् । 

समूह चरणमा शीर्ष दुईमा रहने टिमले क्वालिफायर १ खेल्नेछन् र विजेता टोली सीधै फाइनल प्रवेश गर्नेछ ।

समूह चरणमा तेस्रो तथा चौथो स्थानमा रहने टिमले इलिमिनेटर राउन्ड खेल्नेछन् र विजेता टिमले क्वालिफायर १ मा पराजित हुने टिमसँग क्वालिफायर २ मा प्रतिस्पर्धा गर्नेछ । क्वालिफायर १ तथा क्वालिफायर २ को विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 

इपिएलको चौथो संस्करण असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

चौथो संस्करणको इपिएल उद्घाटन खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्सले काठमाडौं किंग्स–११ सँग प्रतिस्पर्धा गर्नेछ । 

यो संस्करण अघिल्ला संस्करणभन्दा निकै उत्कृष्ट हुने निश्चित छ । यसको कारण हो, इपिएलमा विश्व क्रिकेटका चर्चित हस्तीहरूले सहभागिता । 

यस सिजनका लागि पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, श्रीलंकका उपुल थरंगा, दक्षिण अफ्रिकाका रिचर्ड लेभी, बंगलादेशका तमिम इक्वाल अफगानिस्तानका मोहम्मद शहजाद लगायतका खेलाडीले इपिएल खेल्ने पक्का भइसकेको छ । 

यस्तो छ हालसम्मको प्रदर्शन  

चितवन टाइगर्स 

चितवन इपिएलमा खासै बलियो टोली होइन । इपिएलको चौथो संस्करणसम्म आइपुग्दा यो टिम गत संस्करण प्ले अफसम्म पुगेको थियो । यो टिम आइडिएस ग्रुप प्रा.लिको स्वामित्वमा छ । 

सोमपाल कामीको कप्तानी रहने चितवनमा विदेशी खेलाडीका रूपमा अफगानिस्तानका मोहम्मद शहजाद, श्रीलंकका सिकुगे प्रशन्न, पाकिस्तानका दानिस अजिज, मलेसियाका विरनदिप सिंह र अफगानिस्तानका करिम जन्नत छन्। 

चितवनमा दिलिप नाथ, भिम सार्की, शाहब आलम, कमलसिंह ऐरी लगायतका नेपाली खेलाडी छन् । पुरु सिंह चितवनका प्रमुख प्रशिक्षक हुन् । 

पोखरा राइनोज 

पोखरा इपिएलको कमजोर टिममध्ये एक हो । यो टिमले इपिएलमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा पोखराले दोस्रो संस्करणको प्ले अफ खेलेको थियो । 

यो टिम गत संस्करणमा अन्तिम स्थानमा थियो । पोखरा राइनोज दीपा अग्रवालको स्वामित्वमा छ। पोखराले हालसम्म आफ्नो कप्तान तोकेको छैन। विनोद भण्डारीले कप्तानीको जिम्मा पाउने सम्भावना छ । 

पोखरामा वेस्ट इन्डिजका केस्रिक विलियम्स, दक्षिण अफ्रिकाका रिचर्ड लेभी, श्रीलंकाका असेला गुणारत्ने र सहान अर्चिगे छन् । नेपाली खेलाडीमा सुशन भारी, सुनिल धमला, किशोर महतो, रित गौतमलगायत छन् । 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक उमेश पटवालले पोखराको मुख्य प्रशिक्षककोे जिम्मेवारी सम्हाल्ने छन् । 

विराटनगर वारियर्स

​विराटनगर इपिएलको दोस्रो संस्करणको विजेता टोली हो । यो टिम गत सिजन भने पाँचौँ बनेको थियो । विराटनगर वारियर्सको स्वामित्व विशाल अग्रवालको नाममा छ ।
यसअघिको सिजनमा विराटनगरको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले गरेका थिए । यो सिजन उनले खेल्ने छैनन् । विराटनगरले अहिलेसम्म कप्तान तोकेको छैन । 

विराटनगरमा जिम्बावेका सिकन्दर राजा, वेस्ट इन्डिजका चन्द्रपल हेमराज, श्रीलंकका दिलशान मुनबिरा र क्यानडाका रायन पठान विदेशी खेलाडी छन् । 
विराटनगरलाई करण केसी, आशिफ शेख, अनिल शाह, शौरभ खनाललगायतका स्वदेशी खेलाडीको साथ छ । विराटनगरको प्रशिक्षण मनोज कुटवालले सम्हाल्नेछन् । 

काठमाडौ किंग्स–११

काठमाडौंले इपिएलमा मध्यम प्रदर्शन गरिरहेको छ । यो टिम गत संस्करणमा प्लेअफसम्म पुगेको थियो । 

यो सिजन काठमाडौंको कप्तानी युवा बलर सन्दीप लामिछानेले गर्नेछन् । काठमाडौं किंग्स–११ टेली होल्डिङ्स प्राइभेट लिमिटेडको स्वामित्वमा छ । 

यो सिजनमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, जिम्बावेका रायन ब्रुल  अफगानिस्तानका रहमानुउल्लाह गुर्बाज र सिंगापुरका जनक प्रकाशले काठमाडौंबाट खेल्ने छन् । 

काठमाडौंले गुल्सन झा, राजु रिजाल, सुबास खकुरेल, सिद्धान्त लोहनीजस्ता नेपाली खेलाडीलाई अनुबन्ध गरेको छ । काठमाडौंको प्रशिक्षण कलाम अलीले सम्हाल्नेछन्। 

ललितपुर प्याट्रियट्स 

ललितपुर इपिएलको साबिक विजेता हो । राष्ट्रिय टिमका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको यो टिम ललितपुर प्याट्रियट्स इन्टरनेशनलको स्वामित्वमा छ । 

ललितपुरले इंग्ल्यान्डका एलेक्स ब्लेक, श्रीलंकाका सन्दुन विराकोडी, अफगानिस्तानका अजमतउल्लाह ओमरजाई, भुटानका रानजुंग मिक्यो दोर्जी र श्रीलंकका ओशदा फर्नान्डोलाई अनुबन्ध गरेको छ । 

ललितपुरसँग पवन सरार्फ, ललित राजवंशी, कुशल भुर्तेल, सन्दीप जोरालगायतका स्वदेशी खेलाडी छन् । ललितपुरले अहिलेसम्म आफ्नो मुख्य प्रशिक्षक तोकेको छैन । 

भैरहवा ग्ल्याडिएटर्स

​इपिएलको सर्वाधिक सफल टोली भैरहवा ग्ल्याडियटर्सले प्रतियोगिताको तीन वटै फाइनल खेलेको छ । शरद भेषवाकरको कप्तानीमा रहेको यो टोलीको स्वामित्व आदित्य सांघाईसँग छ । 

शरदको कप्तानीमा पञ्चकन्या तेजले इपिएलको पहिलो संस्करणको उपाधि जितेको थियो । बंगलादेशका तामिम इक्वाल, श्रीलंकाका उपुल थरंगा र धाम्मिका प्रसाद र मलेसियाका सार्बिन मुनिएन्डी भैरहवामा आबद्ध छन् । 

आरिफ शेख, अविनाश बोहोरा, रोहितकुमार पौडेल, प्रदिप ऐरी जस्ता नेपाली खेलाडीलाई भैरहवाले भित्र्याएको छ । 

भैरहवाको प्रशिक्षण श्रीलंकाली मूलका क्यानडेली प्रशिक्षक पुबुदु दासानायकले गर्नेछन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक समेत हुन् । 
 

  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १२:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया