जसले स्कूटर किन्न जम्मा गरेको सबै पैसा सहयोग गरेरै सकाइन्

जुलाई २१ । पोखरेली २४ वर्षीय युवती गिभिना मगर घरबाट कतै जाँदै थिइन् । उनले बाटोमा भेटिन्, ‘बालाई’ । 

ती बा वैशाखीको साहरामा थिए, हात पनि सामान्य अवस्थामा थिएनन् । प्यारालाइसिस भएर एउटा हात र एउटा खुट्टा चल्दैन थियो । 

पोखराको हेम्जाकै ति ‘बालाई’ देखेपछि गिभिनाको मन पग्लियो, उनले गोजीबाट हजार रुपैयाँको नोट झिकिन्, ती बालाई दिइन् । गिभिनाले दिएको यो हजार रुपैयाँको नोटलाई ती बाले जसरी ग्रहण गरेका छन्, त्यो हेर्दा सायदै कसैको मन नपग्लिएला ।

सहयोग गर्नुका साथसाथै गिभिनाले त्यो दिन त्यो क्षणलाई आफ्नो मोबाइलमा क्याप्चर पनि गरिन्, भिडियो बनाइन् । 

त्यसलाई अपलोड गरिन्, टिकटकमा ।

आज गिभिनाको त्यो भिडियो १५ लाखभन्दा बढीले हेरिसकेका छन्, चार लाखले टिकटकमा ‘लभ’ रियाक्ट गरेका छन्, ४ हजारभन्दा बढीले कमेन्ट गरेका छन् ।



ती कमेन्टमध्ये एक प्रयोगकर्ताले भनेकी छिन्, ‘ट्रेन्ड भन्दै नानाथरी गर्दै भाइरल हुनुभन्दा एउटा असाह्यलाई सहयोग गरेको निकै राम्रो लाग्यो ।’

निकै धेरैले मन पराएको यो भिडियो यति धेरै चर्चामा आउला भन्ने गिभिनाले सोचेकै थिइनन् । तर, यसको चर्चा कतिसम्म चुलियो भने उनकै साथीभाइले उनकै ‘बालाई’ पनि यो भिडियो देखाए ।



‘स्याबास छोरी, तिमीले गरेको यो निकै राम्रो काम हो,’ गिभिनाले प्रतिक्रिया पाइन्, ‘यस्तो सहयोग गर्दै रहनु ।’

सहयोग त यसअघि पनि गिभिनाले गर्ने गरेकी थिइन् । तर, उनले टिकटकमा भिडियो हाल्नु पर्ला भन्ने त्यसअघि सोचेकै थिइनन् । २४ वर्षे गिभिनाले बरु यसअघि टिकटकमा उनकै उमेरका अरुहरुको जस्तै गीतमा ‘डान्स’ गरेका भिडियो राख्दै आएकी थिइन् । तर, अहिले गिभिनालाई नेपाली टिकटक प्रयोगकर्ताले ‘डान्सर’ भनेर चिन्दैनन्, सहयोगी मनको उपमा दिन्छन् ।

गिभिनाले सहयोगीको उपमा पाउनु स्वभाविक पनि हो । उनले त सहयोग गर्नकै लागि लामो समयदेखि बनाएको आफ्नो ‘ड्रिम स्कुटी’को सपनालाई तिलाञ्जली दिएकी छिन् ।

सौभाग्य भनौँ कि दुर्भाग्य; अहिले गिभिनासँग स्कुटर छैन जसमा सवार भएर उनी आफूले पढाउने स्कुल र पोखराका विभिन्न ठाउँमा घुम्न सकुन्; उनीसँग त बरु छन् दर्जनौँ मनहरु जसले उनको कार्यलाई मन पराएर स्याबासी दिइरहेका छन्, त्यसलाई आफूले पनि फलो गर्ने वाचा गरिरहेका छन् ।

सानैदेखि आवश्यक परेकालाई सहयोग गर्न हुरुक्कै हुने गिभिना अहिले टिकटकमा अधिकांश यस्तै आफूले सहयोग गरेका भिडियोहरु मात्र अपलोड गर्छिन् । अरु कोही रोइरहेको देख्दा गिभिनाका आँखामा पनि आँसु आउँछ, अब त उनले अरु धेरैको मुहारमा खुसी ल्याएकी छिन्, उनको मनमा खुसीको बहार छाएको छ ।

‘यस्तो किन पनि भने मैले जति सकेको छु, त्यति नै सहयोग गरिरहेकी छु,’ गिभिनाले भनिन्, ‘मैले अरु कोहीसँग सहयोग गर्छु, मलाई सहयोग गर्नुस् भनेर याचना गरेकी छैन ।’
 

गिभिनाले टिकटक बनाउनकै लागि सहयोगको यो यात्रा सुरु गरेकी भने होइनन् । उनले त कुनै हिसाबकिताब नराखी लामो समयदेखि आवश्यक भएका मानिसहरुलाई सहयोग गर्न सुरु गरेकी थिइन्, टिकटकमा भिडियो अपलोड चाहिँ निकै पछि मात्र गर्न थालेकी हुन् ।

‘मलाई अत्यावश्यक खर्चबाहेक अरु मैले कमाउने पैसा सबै सहयोगमा नै खर्च गरेकी छु,’ गिभिनाले फरकधारसँग भनिन्, ‘जसलाई आवश्यक छ, उसलाई सहयोग गर्नु मेरो धर्म हो ।’

त्यसो त उनले यसरी सहयोगमा अहिलेसम्म कति पैसा खर्च गरिन्, त्यसको पनि हिसाब अहिले राखेकी छैनन् ।

कुम्बिनी होम्स गैरापाटनमा पढाउने गिभिनाले आफू ११ कक्षामा हुँदा नै विद्यार्थीहरुलाई पढाउन थालेकी थिइन् । यही कारणले पनि उनमा सहयोगी भावना जन्मियो, आफूसँग भएको ज्ञान र शिक्षामात्र होइन, अन्य विषयमा पनि अरुलाई सहयोग गर्नुपर्छ भन्ने सोच्न थालिन् ।

‘म घरबाट निस्किँदा त आज यति सहयोग गर्छु, यो यो मान्छेलाई सहयोग गर्छु भनेर निस्किन्नँ,’ गिभिनाले भनिन्, ‘तर, बाटोमा जब हिँड्दै जाँदा मानिसहरुलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्छु, म सहयोग गर्न अगाडि बढिहाल्छु ।’

बिर्सनु हुँदैन, उनले गर्ने सहयोग सबै आर्थिक मात्र हुँदैन । ‘अपाङ्गता भएका व्यक्ति, बाटोमा फोहोर टिप्दै हिँडेकाहरु, जो अस्पताल जान सक्नु भएको छैन, वृद्धवृद्धाहरु र सहायता चाहिएकाहरुलाई चाहिँ म सहयोग गर्न अगाडि बढिहाल्छु,’ गिभिनाले भनिन्, ‘कसैलाई उपचार गर्न पैसा छैन भने म पैसा दिन्छु, आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने मेरो मनमा भावना उब्जिन्छ ।’

गिभिनाले आवश्यक परेकाहरुलाई कतिसम्म सहयोग गरेकी छिन् भने आफूसँग भएको सुन नै पनि उनले सहयोगका लागि नै बेचेकी छिन् ।

‘अति आवश्यक भएका व्यक्तिहरुलाई सहयोग गर्नैपर्छ भन्ने लाग्छ, गर्दै जाँदा पैसा पुग्दैन,’ गिभिना हाँसेको फोनमा नै प्रष्ट सुनियो, ‘एकपटक यस्तै हुँदा मैले आफूसँग भएका सुनका गरगहना पनि बेचेकी छु ।’

तर, आफ्नो इच्छा र चाहनालाई यसरी तिलाञ्जली दिँदा पनि गिभिनालाई कुनै गुनासो छैन । ‘मलाई पैसा सबथोक होइन भन्ने लाग्छ,’ गिभिनाले भनिन्, ‘यो त जीवन जिउने एउटा माध्यम हो भन्ने मात्र मलाई लाग्छ ।’

पैसालाई जीवनको आवश्यकता तर सबैभन्दा महत्वको विषय नमान्ने भएकाले नै हुनुपर्छ, गिभिनाले आफूलाई चाहिने सामानहरुको आश पनि मार्दै गएकी छिन्, जस्तो कि उनले स्कुटर किन्ने सपनालाई अब केही समय पछाडिका लागि धकेलेकी छिन् ।

‘स्कुटर किन्नका लागि केही समयअघि देखि पैसा बचाएकी थिएँ,’ उनले भनिन्, ‘त्यसका लागि जम्मा गरेको सबै पैसा पनि मैले सहयोग गरेरै सकाएँ ।’​

गिभिना आम युवतीहरुभन्दा अर्को अर्थमा पनि फरक छिन् । उनले मेकअपका लागि पैसा खर्च गर्दिनन् । सौन्दर्यका लागि पैसा खर्च गर्न थाल्ने हो भने अतिआवश्यक भएकाहरुलाई पैसा दिनै नसकिने उनले बुझेकी छिन् ।

‘आफूले सौन्दर्य प्रशाधनका सामग्रीमा खर्च गर्नुभन्दा आफूले सहयोग गरेका व्यक्तिहरुको अनुहारमा केही भए पनि मुस्कान देख्नु वा खुसी देखिनु नै मलाई सबैभन्दा ठूलो खुसी हो भन्ने लाग्छ, त्यसमा आफूसँग भएको धनभन्दा कयौँ गुणा बढी खुसी देख्छु म,’ गिभिनाले भनिन्, ‘मैले एउटा सामान्य परिवारमा जन्मिएकाले पनि दुःख के हो बुझेकी छु ।’

सहयोग गर्ने गिभिनाको यो कुरा केहीअघिसम्म घरमै पनि थाहा थिएन । ‘मेरो बाआमालाई पनि यो कुरा थाहा थिएन,’ गिभिनाले भनिन्, ‘अहिले त मेरै साथीभाइले पनि मेरो भिडियो बाआमालाई देखाइदिएका छन्, उहाँहरुलाई पनि यसबारे थाहा छ ।’

साथीभाइले भिडियो देखाइदिएर अब गिभिनाका बाआमालाई उनको सहयोगी मनबारे थाहा भएको मात्र होइन, टिकटक र अन्य सामाजिक सन्जालमा पनि उनको विषयमा चर्चा चुलिन थालेको छ, उनलाई यसले थप हौसला मिल्न थालेको छ ।

’यसरी सबै जनाले राम्रो प्रतिक्रिया दिँदा मेरो थप हौसला बढेको छ । मलाई अझ राम्रो काम गर्न प्रेरणा मिलिरहेको छ,’ उनी भन्छन् ।

त्यसैले पनि हुनुपर्छ, उनले त अब आफ्नो भविष्य नै यस्तै काममा समर्पण गर्ने तयारी गरिसकेकी छिन् । उनले एउटा आश्रम खोलेर सहयोगको आवश्यक भएकाहरुलाई आश्रय दिने योजना बनाएकी छिन् ।

‘मैले के बुझेकी छु भने, जो मानिसलाई जतिबेला जे आवश्यक छ, त्यसमा नै हामीले सहयोग गर्नुपर्छ,’ गिभिनाले भनिन्, ‘अहिले भोकाइरहेको मान्छेलाई कपडा दिएर केही हुँदैन, उसलाई त खानेकुराको सबैभन्दा बढी आवश्यकता हुन्छ ।’

गिभिनाले आफूले सहयोग गर्ने कुरामा पनि यसलाई निकै ख्याल गर्छिन् ।

त्यसैले त उनले जसलाई सहयोग गरेकी छिन्, उनीहरुको भिडियोमा खुसीको अनुहार पनि देखेकी छिन् ।

  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १४:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया