चिन्ता देवीको दुःख : घरमा खानलाई अन्न छैन्, छोराछोरी कहाँबाट पढाउनु ?

धनुषाको शहिदनगर नगरपालिका–८ डुमरीया बस्ने चिन्ता देवी दिनरात साहु महाजनको घरमा मजदूरी गर्छिन् । 

परिवारका पाँच जना सदस्यको छाक टार्न चिन्ता देवीलाई दिनहुँ चिन्ताले सताइरहन्छ । उनको श्रीमान् बिरेन्द्र माझी पनि उनलाई साथ दिन्छन् । दुवैजना मिलेर गाउँकै धनाढ्यको घरमा गएर सँगै काम गरी परिवारको गुजारा चलाउँछन् । 

चिन्ता देवीका तीन सन्तान छन् । एक छोरी र दुई छोराको आमा चिन्ता देवी आफ्नो सन्तानपनि भविष्यमा गएर गरिबीमै गुजारा चलाउने हो की भन्ने चिन्ताले दिनरात पिरोलिन्छीन् । उनीहरुको कमाइले दैनिकी टारेपनि भविष्यको भने यिनलाई चिन्ता छ ।

‘गरिबको कोखबाट जन्मनु पनि अभिशाप रैछ’ उनी भन्छिन्, ‘म त यसरी नै गुजारा चलाइरहेकी छु, म भन्दापनि मेरा छोराछोरीको भविष्यको चिन्ताले मलाई पोल्छ ।’ आफु गरिब भएको भन्दापनि आफ्नो सन्तान पनि गरिब नै रहने हो की भन्ने कुराको उनलाई धेरै पिडा छ । 

उनीहरुसँग न बस्ने स्थायी घर छ न खाने अन्न नै । गाउँभन्दा टाढा साहुको घरमा काम गर्दा तत्काल बस्नका लागि उनले दिएको दुई धुर जग्गामा एउटा सानो झुपडी बनाएर त्यहीं उनीहरु बस्दै आएका छन् ।  

‘दिनमा त जसोतसो बसिहाल्छु तर साँझ पर्नेबित्तिकै कहिले हावाहुरीको डर त कहिले बर्षाको डरले  सताइरहन्छ,’ आँखा रसिलो बनाउँदै चिन्ता देवीले सुनाइन् । 



उनीमाथि अहिले झन् ठूलो समस्या आइपरेको छ । साहुले तत्काल बस्नका लागि दिएको जग्गा बेचिदिए । त्यो जग्गा अब अर्कैको भइसक्यो । नयाँ जग्गाधनीले चिन्ता देवीलाई त्यहाँबाट हट्न दवाब दिइरहेका छन् । 

‘दिनरात त्यो मान्छे आएर जग्गा खाली गर्न दबाब दिन्छ,’ उनको आँखाबाट आशु खस्यो । 



एकछिन रोकिएर उनले थपिन्, ‘साँच्चिकै यो संसारमा गरिबका लागि भगवान छैनन् ।’ 

एक त छाक टार्ने समस्या छँदै थियो, झन् घर खाली गर्न दिनरात दबाब सहनु परेको छ । ‘अब हामी कहाँ जाने ? यी साना बालबालिकालाई कहाँ लैजाऊँ,’ सुकसुकाउँदै उनले भनिन् । 

गाउँ गाउँमा सिंहदरबार पुग्यो भनिएको छ । तर चिन्ता देवीलाई सिंहदरबार के हो, कहाँ छ केही पत्तो छैन । न गाउँगाउँ पुगेको सिंहदरबारमा बस्नेहरु नै उनको झुपडीमा पुगेका छन् । 

‘चुनावको बेला हात जोडेर भोट माग्न आएका व्यक्ति जितेर गएपछि एकपटक पनि फर्केर आएका छैनन् । हाम्रो पीडा सुन्ने उनीहरुलाई फुर्सद नै छैन,’ जनप्रतिनिधिहरूप्रति उनको ठूलो गुनासो छ । 

अरु सबै बालबालिका विद्यालय जान्छन् । तर चिन्ता देवीको छोराछोरीले विद्यालयको कक्षाकोठामा टेक्न पाएका छैनन् । 

‘घरमा खानलाई अन्न छैन्, छोराछोरीलाई कहाँबाट पढाउनु ?,’ उनले भनिन् । 

उनले फुसको छानो भएको सानो झुपडी देखाउँदै भनिन्, ‘निकै अप्ठेरोसँग यहाँ बसेका छौं । मेयर त भोट माग्न आएपछि फर्केर आएका छैनन् ।’ 

चिन्ता देवीलाई दिनमा खाए राती के खाने चिन्ता छ । अहिले घरको समस्या थपिएको छ । 

लकडाउनको समयमा पनि स्थानीय सरकारले उनीहरुलाई राहत उपलब्ध गरेन । राहत नपाउँदा कति दिन भोकभोकै बस्नु परेको उनले सुनाइन् । 

सुकुम्बासीको समस्या समाधान गर्न देशमा १४ पटकसम्म आयोग बनेपनि वास्तविक सुकुम्वासीको लागी काम हुन सकेको छैन । सुकुम्बासीलाई राज्यले दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरेको बुझाई चिन्ता देवीको छ । उनले आफुहरुलाई उचित ठाउँमा स्थानान्तरण गर्न माग गरेकी छन् ।

भुमि सम्वन्धी ऐन २०२१ र भुमि सम्वन्धी नियमहरु २०२१ को व्यवस्था राज्यले गरेपनि ऐन तथा नियमहरूले वास्तविक सुकुम्बासीलाई सुरक्षित आवास र रोजगारीको व्यवस्था गर्न सकेको छैन। 

  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १५:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया