प्रचण्डको आक्रोश : बादललाई सम्झँदा पनि एलर्जी हुन्छ, टोपबहादुर भगौडा र धोकेबाज

काभ्रेको पाँचखालमा भाषण गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो साथ छाडेर नेकपा एमालेतिर गएका नेताहरूप्रति कडा कटाक्ष गरेका छन् । विशेषगरी केपी शर्मा ओलीले संसद विघटन गरेपछि आक्रोशित हुँदै आएका प्रचण्ड त्यहीबेलादेखि नै आफ्नो साथ छाडेका नेताहरुलाई पनि बेला बेला प्रहार गर्दै आएका छन् ।  

२०६४ सालको निर्वाचनभन्दा  पछाडि निरन्तर कमजोर बन्दै गएको माओवादी केन्द्र एमाले र माओवादी विभाजनपछि पनि एक नम्बरको पार्टी भएरै छाड्ने दाबी गर्न प्रचण्डले अहिले पनि छाडेका छैनन् । उनी हिजोआज चुनाव नजिकिँदै गर्दा प्रायजसो दैनिक भाषणमा यस्तो बताइरहेका हुन्छन् । ​

वाइसियल नेपालको नगर सम्मेलनमा भाषण गर्न पाँचखाल पुगेका उनले आजपनि माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने दाबी गरे ।  

टोपबहादुर र बादललाई चोटिलो प्रहार 

अध्यक्ष प्रचण्डले संसद विघटन भएपछि मन्त्री पद लिँदै एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझीलाई ‘मन्त्री बनाएपछि ठिक हुन्छ कि’ भन्ने ठानेर मन्त्री बनाएको आशय व्यक्त गरे । उनले भने,‘अनुभवले के देखायो भने– मैले जसलाई धेरै मन्त्री बनाएँ त्यही सबैभन्दा ठूलो भगौडा, धोकेबाज भयो । मन्त्री बनाएपछि ठिक हुन्छ भन्ने ठानेको के को हुन्थ्यो, त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी बनाएँ, अहिले त कहाँ हेर्नुस् त ?’ 

उता रामबहादुर थापा​ 'बादल'को बारेमा धेरै टिप्पणी नगर्ने बताउँदै गृहमन्त्रीसम्म पुर्याउन आफूले गरेको स्मरण गरे । साथै, उनले बादलको कुरा गर्दा ‘एलर्जी’ हुने समेत बताए । ‘त्यो बादल मेरो हिजोको साथी, बढी त भन्दिन अहिले एलर्जी हुन्छ क्या । सम्झँदा पनि, धैट् ! यस्तो पनि हुन्छ । कहाँबाट ल्याएर गृहमन्त्री बनाई सरकारको नेतृत्व तपाई गर्नुस् भनें,’ प्रचण्डले पुराना दिनको सम्झना गरे । 



ग्राउन्ड लेभलका कार्यकर्ता नबिग्रिएको बताउँदै प्रचण्डले माथिका नेताहरु बिग्रिएको स्वीकारोक्ति गरे । ‘जो जति माथि आएको छ त्यति बिग्रिएको छ । अरुलाई म धेरै भन्दिन बिग्रिएको मै हो भनेको छु अहिले । म हो, अब म सच्चिन्छु । अब को को सच्चिने नसच्चिने तपाईंहरु सोच्नुस्,’ उनले भने ।



  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १६:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया