देउवाको गृहजिल्लामा कांग्रेस कार्यकर्ता रिले अनसनमा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेता तथा कार्यकर्ताहरूले रिले अनशन सुरु गरेका छन् ।

धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै उनीहरूले बिहीबारदेखि रिले अनसन सुरु गरेका हुन् । 

जिल्ला कार्य समितिको निर्णयविपरित भदौ २५ गते वडा अधिवेशन गरिएको भन्दै कठिन बाटो रोज्न बाध्य भएको डडेलधुरा कांग्रेसका उपसभापति करूणाकर भट्टले जानकारी दिए ।

‘धाँधलीपूर्ण ढंगबाट बाँडिएको क्रियाशील सदस्यताको आधारमा सम्पन्न वडा अधिवेशनलाई मान्यता नदिन हामीले केन्द्रीय समिति र निर्वाचन समिति दुवैलाई लिखित जानकारी पठाएको छौँ,’  भट्टले भने, ‘त्यहाँबाट कुनै जवाफ नआएपछि अनशन बस्ने निर्णयमा पुगेका हौँ ।’ सिफ्ट अनुसार कार्य समितिका पदाधिकारी तथा सदस्य अनशनमा बस्ने उनले बताए ।

जिल्लाबाट पठाइएको क्रियाशील सदस्यहरूको नाम काटेर पार्टी सभापति देउवाको निर्देशनमा केन्द्रबाट नाम थप गरिएको डडेलधुरा कांग्रेसका सभापति कर्ण मल्ल, उपसभापति भट्टल गायतका पदाधिकारीहरूले आरोप लगाएका छन् ।



क्रियाशील सदस्यता विवाद नटुंग्याएर वडा अधिवेशन प्रक्रिया अगाडि बढाएको भन्दै जिल्ला सभापति, उपसभापतिलगायतका पदाधिकारीले बहिष्कार गरेका थिए । डडेल्धुरा कांग्रेस जिल्ला कार्यसमितिविरुद्ध गुटबन्दीमा सक्रिय केही जिल्लास्तरीय नेताले आफूनिकट कार्यकर्तालाई भेला गरेर अधिवेशनको नाटक मञ्चन गरिएको नेपाली कांग्रेस डडेल्धुरा बुहुसांख्यिक सदस्यहरुको भनाइ छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन गरिरहेको जिल्लास्तरीय नेताहरु बताउँछन् । केन्द्रीय सभापति देउवाले हालसम्म जिल्लामा नेतृत्व स्थापित हुन नदिएको इतिहास रहेको र यसपटक पनि जिल्लास्तरमा बलियो नेताका रुपमा स्थापित सभापति मल्ललाई सिध्याएर आफूलाई चुनावमा लगानी गर्ने र विभिन्न ठेक्काहरु लिएर काम अलपत्र पार्ने ठेकेदार भीम साउँदलाई जिल्ला नेतृत्वमा ल्याउन वडा अधिवेशनको नाटक गरिएको नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टको भनाइ छ । 



सभापति देउवाकै निर्देशन र संरक्षणमा हाल डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन् । जिल्ला सभापति कर्णबहादुर मल्ल र केन्द्रीय सभापति देउवाको संरक्षणमा रहेको गुट हाल अस्तित्वमा रहेको कांग्रेस कार्यकर्ताहरु बताउँछन् । 

सभापति देउवाको संरक्षणमा रहेको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, प्रदेश सभाका समानुपातिक सांसद गोविन्दराज बोहरा, पर्शुराम नगरपालिकाका मेयरसमेत रहेका ठेकेदार भीमबहादुर साउँदलगायतका जिल्लास्तरीय नेता छन् ।

जिल्ला कार्यसमितिले नवीकरण र नयाँ क्रियाशील सदस्यताका लागि पाँच हजार आठ सय चारजनाको नामावली पठाएकोमा सभापति देउवाको निर्देशनमा छानबिन समितिले चार सय ४४ जनाको नाम हटाइदिएको र कुनै पनि प्रक्रियामा नआएका तीन सय १२ जना थपिएको असन्तुष्ट पक्षले जनाएको छ ।

  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १७:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया