आलमको मुद्दा : १२ पटक पेसी तोकिँदा भएन सुनुवाइ, होला त आज?

ज्यूँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका मोहम्मद अफताव आलमविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै छ ।

सुनुवाइका लागि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा.कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ । 

उनीविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा सर्वोच्चमा छ ।

मुद्दाको सुनुवाइका लागि १२ पटक पेसी तोकिँदा ६ पटक ‘स्थगित’ भएको छ ।

तीन पटक ‘हेर्न नमिल्ने’ र एकपटक ‘हेर्न नभ्याइने’ भनेको छ । 

इजलास अधिकृतले न्यायाधीशद्वय सिन्हा र चुडालको इजलासमा पहिलो नम्बरमै पेसी तोकिएको हुँदा सुनुवाइ हुन सक्ने ठानिएको छ ।



आलम कांग्रेस नेता हुन् । पटकपटक सांसद हुँदै मन्त्री भइसकेका छन् । 

२०६४ चैत २७ गते संविधानसभा निर्वाचन ठीक अघिल्लो दिन रौटहटको राजापुरमा बम विस्फोट हुँदा घाइते भएकाहरूलाई ज्यूँदै लगेर इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि छ । 



विस्फोटमा परी मृत्यु भएकाहरूलाई पनि इँटाभट्टामै लगेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी दाबी छ ।

पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले २०७६ कात्तिक २९ गते दिएको आदेशलाई उच्च अदालत वीरगञ्जले २०७६ माघ २४ गते सदर गरेपछि उनले २०७७ असोज १२ मा सर्वोच्चमा निवेदन दिएका हुन् । 

थुनामा पठाउन जिल्लाले दिएको आदेश र सदर गर्ने उच्च अदालतको आदेशलाई बदर गर्नुपर्ने आलमको माग छ । 

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीविरुद्ध ४५ वर्ष कैद सजायको माग गरेको छ । 

त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सफी अहमदलाई बम विष्फोटन गराई घाइते बनाएको र ज्यान मार्ने उद्योग गरेको भन्दै उक्त मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्षको कैद सजायको माग कार्यालयले गरेको हो । 
 

  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १२:३५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया