राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित, भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुनुपर्ने माग

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी स्थानीयले रामानन्दचोकमा चक्काजाम गरेका छन् । भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुनुपर्ने माग गर्दै उनीहरूले चक्काजाम गरेका हुन् । 

आन्दोलनरत विद्यार्थीहरूले देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमै कक्षा सञ्चालन सुरु भइसके पनि यहाँका उपकुलपति प्राध्यापक भरत झा, कार्यवाहक क्याम्पस प्रमुख विनोद कुमार कर्ण र रजिष्ट्रार महेन्द्रप्रसाद यादवले अनलाइन कक्षा सञ्चालनको नाममा विद्यार्थीलाई कोर्सको तयारी नै नगराई बाहिरका शिक्षकसँग कक्षा सञ्चालन गराइरहेको आरोप लगाएका छन् । 

पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, राराब क्याम्पसलगायतका शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहे पनि राजर्षि जनक विश्वविद्यालयले लहान, धरान, काठमाडौंका शिक्षकहरूसँग कोर्स बाहिर गएर अनलाइन कक्षा सञ्चालन गराइरहेको आन्दोलनरत विद्यार्थी श्रीराम साहले बताए । 

‘अनलाइन शिक्षाको नाममा हामीसँग मजाक भइरहेको छ । हामीलाई अध्ययन गराउने शिक्षकहरू धर्नामा छन् । उनीहरूलाई बाइकट गरेर आन्दोलनलाई कुनै वास्तै नगरी बाहिरका अन्य शिक्षकसँग कोर्स बाहिरका विषयवस्तु पढाउनु हामीलाई मान्य छैन । अब भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नुपर्छ,’ उनले भने ।

आन्दोलनरत विद्यार्थीले चक्काजाम गर्दै जनकपुरधामस्थित व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि र मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतका डिनको कार्यालयमाहरूमा तालाबन्दीसमेत गरेका छन् । यता, करार नियुक्तिको माग गर्दै विश्वविद्यालयका ३५ जना शिक्षक पनि गत ३२ दिनदेखि आन्दोलन गरिरहेका छन् ।



आन्दोलनरत शिक्षक अहिले पनि विश्वविद्यालयको मुख्यगेट अगाडि धर्नामा छन् ।पठनपाठन ठप्प गरी शिक्षक विश्वविद्यालयको पेपर (कोर्स)  कन्ट्रयाक्ट शिक्षक संघको ब्यानरमा धर्नामा बसेका हुन् ।

स्थापनाकालमै आफूहरूलाई कोर्ष कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिए पनि हालसम्म माग सम्बोधन नगर्दा बाध्य भएर आफूहरू आन्दोलनमा उत्रेको विश्वविद्यालयको पेपर (कोर्स)  कन्ट्रयाक्ट शिक्षक संघका सचिव रविकुमार राजले बताए ।



  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १९:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया