साउदी–कतारका लाहुरेको पीडा दसैँ–तिहार गीतमा लिएर आए सन्ताेष (भिडियाे)

हरेक वर्षझैँ यस वर्ष पनि हाम्रो आँगनीमा दसैँ–तिहार पर्व आउनै लागेको छ । वर्षभरि यत्रतत्र छरिएर बसेका परिवारका सदस्य एकै ठाउँमा जम्मा भएर यो पर्व मनाउने रहर सबैलाई हुन्छ । 

तर, सबैले यो रहर कहाँ पूरा गर्न पाउँछन् र ? देशको आर्थिक अवनति र पारिवारिक दायित्वका कारण लाखौँ नेपाली युवा देश छाडेर परदेसिन बाध्य छन् । दसैँ–तिहारजस्ता चाडपर्वमा आफ्नै मातृभूमिमा आउने रहर कसलाई नहोला र ?

तर, साहुको ऋण सम्झिएपछि स्वदेश आउनै लागेका पाइला पनि उतै रोकिन बाध्य छन् । अझ कोरानाका कारण कतिको काम ठप्प भएको छ त कतिको भनेजस्तो कमाइ भएको छैन । 

यस्तै भावलाई गीतमा समेटेर बजारमा आएका छन् लोकसर्जक सन्तोष सुवेदी । भागिरथ चलाउने र आशा बिसीको स्वरमा नयाँ दसैँ गीत ‘साउदी कतार’ बजारमा आएको हो । काठमाडौं डिजिटल स्टुडियोमार्फत बजारमा आएको गीतको लय पनि गीतकार सुवेदी स्वयंको छ । संगीत संयोजन माधव भण्डारीले गरेका छन् ।

बबिता सुनार र कुशल पटेलकाे अभिनय रहेकाे गीतको म्युजिक भिडियो निर्देशन सफल फिल्म्सका पुंके सुरजले गरेका हुन् । निर्देशक स्वयंको छायांकन रहेको म्युजिक भिडियोको सम्पादन सुनिल विकले गरेका हुन् । पारिवारिक दायित्वका कारण परदेशिन बाध्य नेपाली दाजुभाइको यथार्थ कहानीलाई समेटेर गीतमा मर्मश्पर्शी ढंगले प्रस्तुत गरिएको छ ।

धेरै नेपालीले विदेशमा पाएको दुःखलाई आफूले गीतमार्फत सन्देश दिन खोजेको सर्जक सुवेदीले बताए । आफ्नो गीतलाई आमनेपाली दर्शक–श्रोताले मन पराउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १९:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया