कान्ति बाल अस्पतालको लापर्बाही र सेकेन्ड ओपिनियनले टारेको सर्जिकल दुर्घटना

‘भोलि बिहान साढे ९ बजे सर्जरी हुन्छ । ५ बजेदेखि नै बच्चालाई भोकै राखेर अस्पताल ल्याउनुहोला ।’

ओपिडी सर्जिकल युनिट ३ की एक डाक्टरबाट आएको आदेशले म छाँगाबाट खसेझैं भएँ । एक्कासी मन विषादित भयो ।

टिलपिलाएको आँखा र भारी आमा मनले मैले श्रीमानको अनुहारमा हेरिरहें । उहाँको मुहारमा बेचैनीको बादल मडारिइरहेको थियो । सर्जरीको सवालमा डाक्टरलाई हतपत विश्वास नगर्ने र निकै गम्भीर हुने उहाँको बानी छ । सायद ३ वर्षअघि आफ्नै शरीरमा भएको एउटा जटिल सर्जरीले उहाँलाई धेरै पाठ सिकाएको छ र सर्जनप्रतिको भाष्य बदलिदिएको छ ।  

बिरामी बालबालिकालाई जाँच गर्ने शैय्यामा सुतिरहेको ६ महिने छोरोलाई हेरेँ । स्वास्थ्य समस्या आएकाले केही दिनदेखि उसको हाउभाउ कम भएको थियो। बाल अनुहारको आभा बितुरिएको थियो । तर पनि रित्ता गिजा देखाउँदै खिस्स हाँस्न खोज्यो, ऊ । उसको अबोधपना देखेर सम्हालिन लागेको मेरो गहको तलाउ फेरि भरियो ।

श्रीमानले कपडा लगाइदिएर छोरालाई सम्हाल्नुभयो । मलाई थपथपाएर उहाँले शल्यक्रियाको प्रक्रियाबारे डाक्टरसँग केही परामर्श लिनुभयो । बुवाको प्यारमा लाडिएको छोरा बुबाको मुहारबाट मास्क उतार्न खोज्दै, जिस्किँदै थियो । यसबीच डाक्टरले अस्पतालको पूर्जीमा सर्जरी प्लान लेखिओरी सर्जरीको स्ट्याम्प लगाइन्- झ्याप्प !

... ... ...



सरकारी स्वामित्वको एक मात्रै ठूलो बाल अस्पताल कान्ति बाल अस्पतालस्थित सर्जिकल युनिटकी यी डाक्टरसँग यसअघि पनि भेटघाट भएकै हो । बच्चाको नियमित चेकजाँचका क्रममा करिब २ महिनाअघि सामान्य भलाकुसारी भएको थियो । पछिल्लोपटक गत भदौ २६, शनिबारको दिन भने सोही अस्पतालको आकस्मिक कक्षमा सोही डाक्टरसँग भेट भएको थियो ।

भदौ २३ गते, तीजको अघिल्लो दिनेदेखि केही बिसञ्चो भएको संकेत बाबुको अनुहारको रंगले गरेको थियो । आफ्नो समस्या बताउन सक्ने उमेर नभएका  बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न सकस हुने नै भयो । ऊ उति नरोएकोले हामीले सामान्य रुपले लियौं ।



निकै हाँस्न र बालसुलभ बोली सिकाइमा उत्सुक छोरा २४ गते झन् कम सक्रिय देखियो । घरमा आफन्त आएकाले नौला अनुहारसँग कम झ्याम्मिएको हुनसक्ने सामान्य आँकलन मात्र गरिएको थियो । नियमित भन्दा कम पिसाब पनि गरेको थियो । उसले ठोस खाना सुरु गरिसकेकाले शरीरमा पानीको मात्रा कम भयो कि भन्ने 'लेम्यान' बुझाइ हामीमा रह्यो र स्तनपान गराउनमा केन्द्रित रहें । 

बाबुले २४ गते राति निकै कम पिसाब गर्‍यो । शुक्रबार २५ गते बिहान १० बजे कान्ति अस्पताल पुग्दा मेडिकल युनिटले छोराको केसलाई 'फाइमोसिस' भन्यो र सर्जिकल ओपिडी युनिट ३ मा रेफर गर्‍यो।

हाम्रो बच्चाको समस्या उति धेरै नभइसकेकोले घरमै औषधि लगाएर एक्सरसाइज अनि सरसफाई गरे समाधान हुने सुझाव डाक्टरले दिए । हामीले सल्लाह लिएको सर्जिकल युनिट ३ को पालो शुक्रबार र मंगलबार छ । शुक्रबार मैले बच्चालाई अस्पताल लगेकी थिएँ । तर एक्सरसाइजको तरिका न त डाक्टरले राम्ररी बुझाइन्, न त मैले नै बुझें ! जे बुझें, घरमा त्यही भनें । जसका कारण सही तरिकाले एक्सरसाइज हुन सकेन । र, बाबुले २५ गते रातभरी नै पिसाब गरेन । यसरी हामी २६ गते बिहानै कान्ति अस्पतालको आकस्मिक कक्षमा पुग्नुपरेको थियो ।

... ... ...

कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा डाक्टरको प्रतीक्षा निकै पट्यारलाग्दो थियो ।

अस्पतालको गेटबाट छिर्ने बित्तिकै देखिने आकस्मिक कक्षतिर आफ्नो बच्चा लैजादा जो कोही अभिभावकलाई पनि लाग्दो हो- अब मेरो बच्चा डाक्टरलाई देखाउँछु, उपचार सुरु हुन्छ...। जो कोही पनि रहरले आकस्मिक उपचार सेवा कक्षमा पुग्दैन । आफ्ना प्रियजनको छटपटी घटाउन नै त्यहाँ पुग्छन् । भलै कोही बिरामीको अवस्था गम्भीर होला, कोही सामान्य होलान् । त्यहाँ पुग्नेबित्तिकै डाक्टरले हेर्नुपर्छ । निदानका लागि पहल गर्नुपर्छ । तर, त्यहाँको अवस्था यस्तो केही देखिएन । आकस्मिक कक्ष अगाडि बिरामी बच्चा र अभिभावकको लाइन लाग्छ । डाक्टरहरु आफ्नै काम र व्यवहारमा रहन्छन्, अनुहारसम्म देख्न पनि धेरैबेर कुर्नुपर्छ । मानौं इमरजेन्सीको अगाडि बिरामीहरु मनोरञ्जनका लागि आएका हुन् ।

कुराईका दौरान मनमा अनेकौं कुरा खेले । अरुलाई यो अवस्था सामान्य लाग्ला तर, आफ्नो मुटुभन्दा प्यारो लाग्ने आफ्नो बच्चा छट्पटाइरहँदा कुन आमाको मन ढुक्क होला ? मनमा अनेकौं हुण्डरी चले । उसले मुख अमिलो बनाएर रुँदा झस्किन्थें- अब बच्चाको मुत्रथैली नै फुट्यो भने ?

आकस्मिक कक्षमा झन्डै एक घण्टा लामो प्रतीक्षापछि एक डाक्टर आए । लाग्यो- अब मेरो समस्या समाधान भयो । तर, डाक्टरले सामान्य रुपमा लिँदै आज फर्कन र भोलिपल्ट ओपिडीमै देखाउन भनेपछि तनावको ग्राफ एक्कासी माथि गयो ।

बच्चाले पिसाब नगरेको १२ घण्टा नाघिसकेको थियो । डाक्टरले त्यति समयावधि पिसाब नगर्दा उति ठूलो जोखिम नहुने अर्थ्याए । तर सधैं हँसमुख गर्ने सानो बच्चालाई अप्ठेरो भएर छटपटी गर्दा आफूलाई मुटु नै चुडिएजस्तो भइरहेको थियो ।

लामो समयसम्म बाबुले पिसाब गरेको छैन, यसको समाधान त खोज्नुपर्छ भन्ने हाम्रो ढिपीपछि पहिलेको ओपिडी कार्डअनुसार ती डाक्टरले सर्जिकल युनिट ३ की डाक्टर बोलाइदिए ।

लगभग १० मिनेटपछि डाक्टर आइन् । पहिले पनि देखिराखेको डाक्टर । उनले पिसाबनलीमा कृत्रिम पाइप जोडेर पिसाब निकालिदिइन् र एक्सरसाइज गर्न सिकाइन् । बिरामीसँग गर्ने व्यवहार नराम्रो थिएन । हामीलाई उनको व्यवहार चित्त बुझ्यो र सुझावअनुसार घर फर्कियौं ।

... ... ...

दैनिक ३ पटकको औषधिसहितको एक्सरसाइजले बाबुको नियमित पिसाब पुन: सुचारु भयो । हामी केही हदसम्म ढुक्क भयौं ।

केही दिनपछि फेरि अवसाद सुरु भयो । बाबुको पिसाबनलीको टुप्पा वरपर सेता फोका देखिन थाले । बाहिरबाट हेर्दा पीप जस्तो देखिने फोकाबारे श्रीमानले खोजीनीति गरे र त्यसलाई 'ग्लान्ज सिस्ट' नाम दिए । एकाध दिनमा ग्लान्ज सिस्टको साइज र फैलावट बढ्दै गयो । हामी फेरि आत्तियौं । बाबुलाई खोकी पनि लागेको थियो । दुवै कुराको जाँच गराउन बिहीबारको ओपिडीमा बाबु लिएर फेरि हामी कान्ति अस्पताल पुग्यौं ।

मेडिकल युनिटको काम सहजै सम्पन्न भयो । तर, बार फरक परेकाले सर्जिकल वार्डमा मेरो बाबुलाई हेर्ने गरेको युनिट ३ को पालो थिएन । यद्यपि, उपलब्ध डाक्टरले बाबुको जाँच गरे । मृगौला र पिसाबथैलीको भिडियो एक्सरे र पिसाबका २ वटा जाँच गराउन लगाए । र सुझाए- ‘केही दिन हेरौं । एक्सरसाइज निरन्तर गरिराख्नु । यो सिस्ट आउनू नर्मल चाहिँ होइन । रिपोर्ट ल्याएर भोलि शुक्रबार युनिट ३ लाई नै देखाउनू ।’

सबै रिर्पोटसहित शुक्रबारै सर्जिकल ओपिडी युनिट ३ का डाक्टर भेट्ने इच्छा भए पनि पिसाब जाँचको रिर्पोट आउन ढिला भयो । हामीले युनिट ३ लाई भेट्न मंगलबारसम्म कुर्नुपर्ने भयो । अनेकन तनावबीच ४ दिन बिते । मंगलबार बिहान ९:३० बजे नै बाबु लिएर अस्पताल पुगियो ।

टोकनअनुसार आफ्नो पालोमा ओपिडी सर्जिकल युनिट ३ पुग्दा २ डाक्टर भेटिए । ती मध्ये महिला डाक्टरले बाबुलाई आकस्मिक कक्षमा समेत हेरेकाले हामीले महिला डाक्टरलाई नै देखाउने कानेखुशी गर्यौं । उनले सबै कुरा सुनिन् र रिपोर्टहरु हेरिन् । ती सबै नर्मल थिए भन्ने हामीलाई थाहा थियो र डाक्टरले पनि सोही बताइन् ।

बाबुलाई अब्जरभेसन बेडमा सुताउन भनियो । डाक्टरले चेकजाँच गरिन् ।

'यो केसलाई त माथि नै गर्नुपर्छ ।'

उनको अस्पष्ट जवाफबारे श्रीमानले जिज्ञासा राख्नुभयो । डाक्टरले नजिकै रहेका अर्का पुरुष डाक्टरलाई बोलाएर सल्लाह लिइन् । अर्का डाक्टरले भने- 'उहाँहरु आफैलाई घरमै एक्सरसाइज कन्टिन्यु गर्न सल्लाह दिने हो कि ? सिस्ट निस्कन थालेको छ, निस्किहाल्ला !’

तर, उनले अर्का डाक्टरको सल्लाह सुनिनन् र हामीलाई भनिन्- 'यो सर्जिकल केस हो, माथि नै गर्नुपर्छ ।'

'माथि मतलब ?' श्रीमानले जिज्ञासा राख्नुभयो ।

'अपरेसन थिएटरमा । ढिला किन गर्ने ? भोलि नै गरौँ ।'

यति बोलिनसक्दै डाक्टरले स्ट्याम्प निकालेर इन्क प्याडमा टाँस्न भ्याइसकेकी थिइन् । ओपिडी पूर्जामा बैजनी रंगको स्ट्याम्प लागिसकेको थियो । स्ट्याम्पमा मुद्रित थियो- 'बुधबार बिहान ९:३० बजे सर्जरी, बिहान अन्तिम पटक दूध खुवाउने समय ५:०० बजे ।'

स्केज्यूल फिक्स गर्दै डाक्टर बोलिन्- 'बुधबार बिहान ९:३० मा अप्रेसन । बिहान ५ बजे अन्तिमपटक दुध खुवाउने, बिहान ८:०० बजे अस्पताल आएर एन्टिजेन जाँच गर्ने, अन्य इमरजेन्सी केस आएन भने दुईजना साना बच्चाको सर्जरी सकेर ९:३० बजेपछि तपाईंको बच्चाको अप्रेसन हुन्छ । अप्रेसन आधा घण्टादेखि ४५ मिनेटमा सकिन्छ । बाहिर निकालेको २ घण्टापछि पानी खुवाउन मिल्छ त्यसपछि मात्रै अरु खानेकुरा ।’

मेरो मुटु काँप्यो । दैनिक अफिस जाँदा घरमा ढुक्कले खानेकुरा खुवाउने पारिवारिक सदस्य हुँदा पनि दिनभरी चिन्तामा रहने मलाई सबैभन्दा पहिला यति लामो समय भोकै राख्ने कुराले पिरोल्यो ।

'बिहानै ठोस खाना खुवाउन मिल्छ ?' मैले जिज्ञासा राखें ।

उनले भनिन्, ‘मिल्दैन । बच्चालाई बेहोस बनाउनुपर्छ ।'

'सर्जिकल प्रसिजर के हो डक्टर ? एनेस्थेसिया कस्तो हो ? रिस्क फ्याक्टर र कम्प्लिकेसन्स के हुन्छन् ? सामान्यतया कति समयमा बाबुको होस आउँछ ?', श्रीमानले प्रश्न गरे ।

'उसको सिस्ट निकाल्न पातलो छाला निकाल्नु पर्छ । त्यसको लागि बच्चाको पुरै शरीर बेहोस बनाउनुपर्छ । ५ बजेपछि सोलिड वा ब्रेस्टफिड गरे बच्चाको ज्यानै जानसक्छ ।’

कति समयमा होस फर्कन्छ भन्नेबारे डाक्टरले स्पष्ट जवाफ दिन आनाकानी गरिन् । डाक्टरका लागि यो भाष्य र तरिका सामान्य र नियमित होला । तर, मेरो आमा मन कति छियाछिया भयो होला ? सायद ती डाक्टरले कुनै अनुमान लगाउन सक्तिनन् ।

हामी कागजपत्र बोकेर बाहिर निस्कियौं । मलाई अफिस जाने हतारो पनि उत्तिकै थियो । हामी दैनिक कार्यालय गई काम गर्दै बच्चा हुर्काउने महिलाहरुलाई मन धेरै कमलो बनाउने छुट पनि हुँदोरहेनछ ।

अस्पतालको गेटछेउमा बसेर बाबुलाई दूध चुसाएँ । श्रीमानले चिन्ता नलिन ढाडस दिए । अफिसको हतारोले थिचिएको समयलाई ख्याल गर्दै, मनमा चलेको हुण्डरीलाई मत्थर पार्ने कोशिस गरें ।

मन अझैं कठोर पारेर बाबुलाई श्रीमानको हातमा थमाएँ । श्रीमान लाजिम्पाट  ओर्लिएर बाबु बोकी डेरा जानुभयो, म अफिस हानिएँ । अफिस पुग्दासम्म मैले गरिरहेका दुईवटा न्यूज स्टोरीका लागि फोन गरें ।

... ... ...

अफिस पुगें तर काम गर्नसक्ने मानसिकता थिएन । दर्जनौंपटक श्रीमानसँग फोनमा, मेसेजमा सल्लाह भयो । सर्जरीको केसमा 'सेकेन्ड ओपिनियन' मा जानैपर्ने र हतारमा निर्णय लिन नहुने अडान श्रीमानको थियो । ३ वर्षअघि भएको आफ्नो जटिल सर्जरीका बेला लिइएका सेकेन्ड ओपिनियन सम्झाउँदै त्यतिबेला टारिएको ठूलो र निकै गम्भीर सर्जिकल दुर्घटनाबारे श्रीमानले सम्झाइरहे । ती सब घटनाका प्रत्यक्षदर्शी म नै थिएँ र राष्ट्रिय ट्रमा सेन्टरमा हुन लागेको जटिल सर्जरीलाई अन्तिम क्षणमा अन्यत्र सारिएको थियो । त्यो घटना सम्झदा अहिले पनि मन आतंकित हुन्छ । त्यसबाट पाठ सिक्नैपर्ने अठोट हामीले गर्यौं ।

दिनभर श्रीमानले बाबुको समस्याबारे इन्टरनेटमा अध्ययन गर्ने र मैले सम्भावित वैकल्पिक डाक्टर खोज्ने र साँझसम्म निस्कर्ष निकाल्ने सल्लाह भयो ।

अफिसबाटै स्वास्थ्य पत्रकार पदमराज जोशीसँग फोनमा कुराकानी गरें । उनीसँग मैले केही डाक्टरबारे जानकारी लिएँ । उनले भनेका सर्जनहरुसँग फोनमा कुरा गर्दा यो हतारमा सर्जरी गर्ने केश नभएकाले हतारमा नगर्न सुझाव पाएँ ।

आधा दर्जन बढी वरिष्ठ डाक्टरहरुसँगको कुराकानीपश्चात अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालका वरिष्ठ सर्जन डाक्टर शान्तचन्द्र शाक्यलाई भेट्ने निर्णय गरियो । बुधबारको अवस्था आँकलन नै गर्न नसकेकाले अफिसमा दुई दिनको बिदा लिएँ र सिधै पठाओ चढेर घर पुगें । साँझ साढे ५ बजे बेलुका महाराजगञ्जस्थित डाक्टर शाक्यको अस्पताल पुगियो ।

बाहिर टिकटको प्रक्रिया सकेर जब डाक्टर शाक्यको कोठामा पुगियो, अवस्था अर्कैं बन्यो । डाक्टरले बाबुको समस्या सर्जरी गर्ने केस नभइ २ मिनेटमा सफा गर्न सकिने समस्या भएको बताए । यसअघि आफूले भोगेका तनाव र दौडधूपले हामीलाई गालिसकेको थियो । सायद हामीले धेरै प्रश्न गर्यौं, डाक्टर शाक्य 'निर्णय लिएर तत्काल उपचार गर्न वा मन लागेको ठाउँमा जान' भन्दै खरो रुपमा प्रस्तुत भए । हामीले केही समय माग्यौं र डाक्टरको कोठाबाट बाहिर निस्कियौँ ।

हामी बिलखबन्दमा पर्यौं ।

'अक्सर खरो व्यक्तिले सत्य बोल्छ, अब डाक्टर शान्तचन्द्र शाक्यबाट उपचार गराऔं' भन्ने निष्कर्षमा पुगियो । सिस्ट निकाल्ने, फोरस्किन च्यातेर सफा गर्ने लगायत सबै आवश्यक उपचार साँच्चिकै २ मिनेटमा सम्पन्न भयो । सामान्य दुखाइ बाँकी भए पनि बाबुको अवस्था अहिले सामान्य छ । उसलाई केही दिनका लागि पारासिटामोल र २ हप्ताको लागि सामान्य मल्हम दिइएको छ । 

... ... ...

सर्जिकल वार्डका डाक्टरहरुलाई यस्ता कुरा सामान्य नै लाग्लान् । तर, आम मानिसको जिन्दगीसँग जोडिएका यस्ता विषय सामान्य नै हुन् त ? कान्ति बाल अस्पतालको सर्जिकल युनिट ३ ले हामीसँग केही पनि नराम्रो व्यवहार गरेन तर, यति सानो समस्यालाई अप्रेसन थिएटरसम्मै लैजाने बाध्यता त्यो युनिटलाई के र किन थियो ?

'फाइमोसिस' छोरा बच्चाहरुमा अधिकांश देखिने समस्या रहेछ । पिसाब नली वरिपरी फोहोर जमेर नलीको टुप्पो साँघुरिन गई पिसाब गर्न अप्ठेरो हुने र अन्तत: पिसाब पुरै बन्द हुने अवस्था आउने रहेछ । फाइमोसिस हुन नदिन नवजात शिशुलाई सुरुदेखि नै तेल लगाउँदा ध्यान दिनुपर्ने रहेछ । हामी कोरा आमाबाबुलाई त्यसबारे सुरुमा ख्यालै भएन । फाइमोसिस भइसकेपछि घरमै निरन्तर एक्सरसाइज गराइ सफा गरिदिँदा पनि केही हप्तापछि समस्या समाधान हुने रहेछ । सिस्ट र फोहोर देखापरे त्यो सफा गर्न अनुभवी बालरोग विशेषज्ञलाई २ मिनेट समय काफी रहेछ । मतलब, हाम्रो बाबुको अवस्था सर्जरी गर्नुपर्ने अवस्थाको होइन रहेछ ।

यस्तो अवस्थामा सर्जरी गर्दा कान्ति बाल अस्पताल सर्जिकल युनिट ३ की ती र तिनीजस्ता डाक्टरलाई के फाइदा होला के बेफाइदा, उनीहरु नै जानुन् । तर मुटुका टुक्रा जस्ता बालबालिकाको सर्जरी गर्ने भन्दै पूर्ण बेहोस बनाएर गरिने उपचारबाट बढ्ने जोखिमको जिम्मा डाक्टरहरुले लिन सक्छन् ?

हामीले बच्चाको त्यस्तो जोखिमपूर्ण सर्जरी गर्ने निर्णयभन्दा पहिले सेकेण्ड ओपिनियन लियौं र सम्भावित ठूलो जोखिम ट र्‍यो । तर, सबै अभिभावक यस्तो लम्बेतान प्रक्रियामा जान सक्षम होलान् ?

मेरो अन्तिम प्रश्न, 'कान्ति बाल अस्पताल सर्जिकल युनिट ३ की डाक्टर साहेब ! तपाईं मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो ?’

  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १३:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया