गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी, आइएलओ घोटाला छानविन गर्ने उद्घोष

गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । 

विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएनएका पूर्वउपाध्यक्षसमेत रहेका आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आइएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमतिताको छानबिन गर्न माग गरेका छन्।

आचार्यले आफू निर्वाचित भएमा संस्थाभित्र गरिएका अनियमिततालाई बाहिर ल्याउने घोषणा गरेका छन् । उनले संघभित्र सानो समूहले चरम दुरुपयोग गरिसकेपछि ठूलो समूहमाथि दोष लगाउने गरेको बताए। 

‘एनआरएनएलाई सही अर्थमा आमप्रवासी नेपालीहरूको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु,’ आचार्यले भने, ‘पैतृक सम्पतिको अधिकार, राहदानीसहित तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिनेछु ।’



आचार्यले आफ्नो दुईवर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तीमा एक सय पुर्याउने घोषणा गरे । 
हाल एनसिसीको संख्या ८४ रहे पनि कतिपय एनसिसीहरू निष्क्रिय रहेका छन् । संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा छ ।

गैरआवासीय नेपालीलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसलाई पनि जोड्ने आचार्यको योजना रहेको छ । उनले थाइल्याण्ड, म्यानमारलगायत मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुलअफ नेपाली ओरिजिन (पिएनओ)को मान्यता दिलाउन पहल गर्ने घोषणा गरे ।



पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् । 

करिब दुई दशकदेखि एनआरएनअभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने
अध्यक्षका उम्मेदवार आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्घोष गर्दै मध्यपूर्व, मलेसियालगायत मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा पनि विशेष ध्यानदिने घोषणा गरेका छन् ।

वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने उनले बताए।

घोषणासभामा एनआरएनए उपाध्यक्ष मन केसी, आइसिसी सल्लाहकार विश्वआदर्श पण्डित, एसी शेर्पा, हरिबोल भण्डारी, सचिवआरके शर्मा, एनसीसी अमेरिकाका सल्लाहकार वेद खरेल, पूर्वकोषाध्यक्ष हिक्मतथापालगायतले शुभकामना दिएका थिए।

त्यस्तै, गैरआवासीय नेपाली अभियन्ताहरू जानकी गुरुङ, आरके शर्मा, प्रवीण गुरुङ, राज रेग्मी, खगेन्द्र न्यौपाने, नारायण आचार्य, मनोज गोर्खाली, भोमा लिम्बु, हिमाल गुरुङलगायतले कुल आचार्यको टिमबाट विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार २०:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया