माओवादी केन्द्र सुनसरीमा चरम विवाद, एकले अर्कोलाई कारबाही गर्न प्रदेशमा सिफारिस

माओवादी केन्द्र सुनसरीमा चरम विवाद उत्पन्न भएको छ । पार्टीले हस्तक्षेप गरी जुनियरलाई जिल्ला इन्चार्ज बनाएको विषयबाट सुरु भएको विवाद अहिले एकले अर्को समूहलाई कारवाही गर्नेसम्मको अवस्थामा आइपुगेको छ । 

माओवादी केन्द्रले जिल्ला इन्चार्जमा निर्मल बराल र सहइन्चार्जमा मुक्सामहाङ मेन्याङ्बो ‘मुकेश’ र शिव डाँगीलाई जिम्मेवारी दिएर पठाएपछि विवाद बढेको हो । 

जिल्लामा अन्य दुई केन्द्रीय सदस्यहरू रामकुमारी चौधरी र किरणकुमार राई रहँदारहँदै के आधारमा निर्मल बराललाई इन्चार्ज बनाइयो भन्दै निर्मललाई इन्चार्ज मान्ने र नमान्ने समूह माओवादीमा खडा भएको छ । 

केन्द्रीय कमिटीले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने कामै गलत भएको भन्दै पुनर्विचारको माग राख्दै एउटा समूहले प्रदेश कमिटीमा ज्ञापनपत्र बुझाएको छ । समूहमा सहइन्चार्ज मुकेश, पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, सन्तोष थारु ‘विश्व’, जिल्लाका संयोजक योगेन्द्र मण्डललगायत रहेका छन् । उनीहरूले अझै निर्मल बराललाई इन्चार्ज स्वीकार गरेका छैनन् । अर्को समूहले पनि पार्टीमा अराजकता मच्चाएको भन्दै कारवाही गर्ने धम्की दिँदै  आएको छ । पार्टीमा अराजक गतिविधि गरेको भन्दै उनीहरूले विज्ञप्ति नै जारी गरेका छन् । 

यसरी विज्ञप्ति जारी गर्नेहरूमा इन्चार्ज निर्मल बराल, सहइन्चार्ज शिव डाँगी, प्रदेश कमिटी सदस्यहरू आइन्द्रबिक्रम बेघा, अनिता परियार, उमिता बराइली, नरेन्द्र बस्नेत, सुरेन्द्र महताे र भानु मैनाली छन् । तर भानु मैनालीले भने आफूले हस्ताक्षर नगरेको र कीर्ते गरिएको बताएका छन् ।

निर्मलभन्दा मुकेश पार्टीमा सिनियर नेता हुन् । नेकपा एकता केन्द्रबाट नारायणकाजी श्रेष्ठ प्रकाशसँगै माओवादीमा आएका एकचन्द्र बराल अर्थात् निर्मल बराल यसअघि पनि जिल्लाको अध्यक्ष थिए । उनी नारायणकाजी श्रेष्ठ निकट नेता मानिन्छन् । यस्तै शिव डाँगीलाई सहइन्चार्ज बनाएकोमा पनि मुकेश लगायतको समूह असन्तुष्ट रहेको छ । निर्मल बराल अध्यक्ष हुँदा मुकेश पार्टीको पोलिटब्युरो सदस्य थिए । शिव डाँगी भने निर्मल बरालसँग अध्यक्षमा पराजित भएका नेता हुन् । माओवादी सुनसरीमा सिनियर र जुनियरसँगै गुटको लाइन पनि हावी भएको एक नेताले बताए । ९० प्रतिशत जनयुद्ध लडेर आएका माओवादी कार्यकर्ताको नेतृत्व जनयुद्ध नलडेकाले गर्न नसक्ने भन्दै  निर्मल बराललाई इन्चार्ज नै अस्वीकार गर्दै आएका छन् । 



बरालले जनयुद्ध नलडेको र जनयुद्धको व्याज खान आएको भन्दै असन्तुष्टि जनाइएको एक नेताको भनाइ छ ।  

असन्तुष्ट समूहका नेता मुकेश पार्टीमा केन्द्रीय कमिटीका अन्य केन्द्रीय सदस्यहरू हुँदाहुँदै के कति कारणले बराललाई इन्चार्जको जिम्मेवारी दिइयो भन्ने कार्यकर्ताहरूको प्रश्न रहेको ती नेता बताउँछन्। उनले केन्द्रीय कमिटीले विधि र प्रक्रिया मिचेकाले सच्याउन कार्यकर्ताको दबाब रहेको जिकिर गरे । 



जिल्लामा रामकुमारी चौधरी ‘रोजिना’ र किरणकुमार राई केन्द्रीय सदस्यको भूमिकामा छन् । तर माओवादी केन्द्रीय कमिटीले इन्चार्जमा निर्मल बराल र सहइन्चार्जमा मुकेश र शिव डाँगीलाई तोकेको छ । यसअघि प्रदेश कमिटीले भने सहइन्चार्जहरू मात्रै तोकेको थियो । 

जिल्ला कमिटीलाई जिल्ला समन्वय समितिको रूपमा रूपान्तरण भएपछि समन्वय समितिको संयोजक भने  नेकपा हुँदा अध्यक्ष भएका योगेन्द्र मण्डल पप्पु छन् । उनी मातृका यादवको माओवादीबाट माओवादीमा आएका हुन् । 

प्रचण्ड निकट माओवादी आन्दोलनबाट आएका नेताहरूलाई साइड लगाउन खोजेको भन्दै मुकेश, रामकुमारी चौधरी, सन्तोष थारु विश्व लगायतले निर्मल बराललाई इन्चार्ज मान्न अस्वीकार गरेको स्रोतको दावी छ । उनीहरूलाई योगेन्द्र मण्डल पप्पुको समूहले समेत साथ दिएको छ । पार्टीमा अन्तरसंघर्ष चल्दा सुनसरी माओवादी पार्टीलाई व्यवस्थापन गर्न माओवादी प्रदेश कमिटीलाई समस्या परेको छ । आइतबार समस्या समाधान गर्न इटहरीमा सहइन्चार्जहरू सुरेश किराँती ‘हिमाल’, अजम्बर काङमांङ्ग र साबित्रीकुमार काफ्लेले सुनसरीका दुवै पक्षका नेताहरूलाई भेटेर समस्या समाधान गर्न खोजे पनि समस्या समाधान भएको छैन । 

दुवै समूह एकले अर्को पक्षलाई निषेध गरेर जाने तयारीमा रहेको छ  । 

इन्चार्ज सहइन्चार्जबिनै जिम्मेवारी तोकियो 

पार्टीभित्रको दुई लाइन संघर्षका कारण इन्चार्जबिनै जिल्ला समन्वय समितिले जिम्मेवारी तोकेको छ । योगेन्द्र मण्डलको नेतृत्वमा बसेको बैठकले इन्चार्ज र सह इन्चार्जबिनै  जिम्मेवारी तोकेको हो ।
 
बैठकमा मुकेशसमेत सहभागी थिएनन् । बहुमत सदस्यले गरेको निर्णयलाई प्रदेश र केन्द्रले अनुमोदन गर्नुपर्ने बताउँदै आएको छ । इन्चार्ज निर्मल बरालको समूह भने जिम्मेवारी तोकिनु विधानविपरीत भएको भन्दै कुनै पनि हालतमा अनुमोदन हुन नदिने पक्षमा लागेको छ । पहिलेको जिल्ला कमिटी नै अहिले जिल्ला समन्वय समिति बनेको छ ।

समितिमा ६२ जना सदस्यहरू छन् । ६२ सदस्यीय जिल्ला कमिटीमा ४२ जना मुकेशको पक्षमा रहेको बताइन्छ । जिल्ला कमिटीमा बहुमत भएपछि मुकेशलाई केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज बनाउन सिफारिस गरिएको छ । २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकीकरण हुँदा मुकेशलाई केन्द्रीय समितिमा नसमेटिएको र पार्टी अलग भइसकेपछिको नयाँ कार्य विभाजनमा पनि वास्ता नगरेको भन्दै बैठकले असन्तुष्टि व्यक्त गरेको छ ।

‘नयाँ कार्य विभाजनले सुनसरी जिल्लाको पार्टी बन्ने भन्दा पनि विघटनतिर जाने स्थिति देखिएको, घुर्की, धम्की र गुटका आधारमा जिम्मेवारी दिँदा र कार्य विभाजन गर्दा पार्टी र क्रान्तिलाई विघटनतिर लगेको’ निष्कर्ष निकाल्दै जिम्मेवारी दिन आग्रह गरिएको छ ।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ को संयोजकमा अशोक राई र सहसंयोजकमा उत्तमकुमार लिम्बुलाई जिम्वेवारी दिएको छ ।  यस्तै क्षेत्र २ संयोजकमा सपना परियार र सहसंयोजकमा टिका प्रसाईं तोकेको छ । यसैगरी क्षेत्र ३ को संयोजकमा राजेन्द्र चौधरी, सहसंयोजकमा अनुष्ट दाहाल तथा क्षेत्र ४ को इन्चार्जमा पुष्प ढुङ्गाना र संयोजकमा राजकुमार शाहलाई जिम्मेवारी दिइएको छ  ।

बैठकले धरानको सहइन्चार्जमा सावित्रा चौलागाइ (भूमिका), अध्यक्षमा फोक्वाहाङ सुब्बा (चोत्लुङ) र उपाध्यक्षमा दिलबहादुर रामदामलाई जिम्मेवारी दिएको छ ।

बैठकले इटहरी नगरपालिकाको इन्चार्जमा मदन चुँडाल, अध्यक्षमा बहादुरसिंह तामाङ, उपाध्यक्षमा राकेश बराइलीलाई र सचिवमा मणिराम गिरीलाई जिम्मेवारी दिएको छ । 

एक पक्षीय बैठकले दुहवी इन्चार्जमा रहिम मियाँ र अध्यक्षमा अर्थलाल चौधरी, रामधुनी इन्चार्जमा दिनेश चौधरी र अध्यक्षमा उत्तम पौडेल, बराहक्षेत्र इन्चार्जमा धनबहादर कटुवाल र अध्यक्षमा कमल कटुवाल, इनरुवा इन्चार्जमा ओमकार ढकाल र अध्यक्षमा रमेश भट्टराईलाई जिम्मेवारी दिएको छ । 

बैठकले पार्टीको साधारण सदस्य पनि नरहने गरी रामजन अली, लक्ष्मण राई, माया पोखरेल, बिनोद गुरुङ, पशुपति राईलाई कारवाही गर्न समेत सिफारिस गरेको छ ।

विद्यार्थीको सम्मेलनबाट विवाद सतहमा

अनेरास्वियू क्रान्तिकारीको जिल्ला अध्यक्ष कसलाई बनाउने भन्ने विषयबाट सुनसरी माओवादीमा विवाद उत्कर्षमा पुगेको थियो । १३ औं जिल्ला अधिवेशनले अर्जुन पौडेललाई अध्यक्ष बनाउने तयारी गरिरहँदा निर्मल बराल समूहले हस्तक्षेप गरेपछि विवाद थप उत्कर्षमा पुगेको हो । निर्मल बराल समूहले भने सिएम पौडेललाई अध्यक्ष बनाउने तयारी गरेको थियो । 

इन्चार्ज लगायतको समूहले हस्तक्षेप गरेपछि स्थगित भएको अधिवेशनले पुनः अर्जुन पौडेललाई नै अध्यक्ष बनाएपछि इन्चार्ज बराललगायतको समूह संयोजक योगेन्द्र मण्डल लगायतको समूहलाई कारवाही गर्ने सम्मको विज्ञप्तिबाजीमा उत्रिएको हो । 

बराल भन्छन्- दोष ढाकछोप गर्न अराजकता 

जिल्ला इन्चार्ज निर्मल बरालले भने पार्टी लामो समय नेतृत्वमा रहेर पनि माओवादीको संगठन बनाउन नसकेको दोष ढाकछोप गर्न अराजकता मच्चाएको आरोप लगाएका छन् । 

माओवादी सुनसरीको १० वर्ष मुकेशले नेतृत्व गरेको र १० वर्ष रामकुमारी चौधरीले नेतृत्व गरेको भन्दै दोष ढाकछोप गर्न अहिले पार्टीमा अराजकता मच्चाएको जिकिर गरे । ‘नेतृत्वमा रहँदा उहाँहरूले केही गर्नसक्नु भएन’, उनले भने, ‘अहिले यो दोष ढाकछोप गर्न अराजक गतिविधि गरिरहनु भएको छ ।’

भदौ ५ गते बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय र ६ गते जारी गरेको परिपत्रविपरीत एकलौटी ढंगले जिल्ला समन्वय समिति गठन भएको बरालको भनाइ छ । 

उनले विधि र विधानविपरीत गठन भएको समन्वय समितिको निर्णयलाई वैधानिक मान्न नसक्ने बताए । उनले भने, ‘कोही विधि र विधानविपरीत काम गर्दै हिँड्छ भने यो अराजकता हो । अराजकता मच्चाउँदै हिँड्ने अधिकार पार्टीमा जो कोहीलाई छैन ।’
 
उनले जिल्ला समन्वय समितिले उपमहानगरको इन्चार्ज तोकेकोमा आपत्ति जनाए । प्रदेश सदस्यसमेत नभएको व्यक्तिलाई उपमहानगरको इन्चार्ज तोकेको भन्दै यसरी मनपरी काम गर्दै हिँड्नेहरूलाई पार्टीले कारवाही गर्ने बताए । 

  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १५:३९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया