तराईमा जितिया
ज्योति झा
फरकधार / ११ असोज, २०७८

तराई–मधेशमा आजदेखि जितिया पर्व सुरु भएको छ । तराईमा यस्ता धेरै पर्व छन्, जसको आ–आफ्नै विशेषता र महत्व छ । त्यस्तै पर्वमध्ये एक हो जितिया । यसलाई तराई–मधेशको महान पर्व पनि भनिन्छ । यो पर्व तराईवासीहरूको लागि धेरै महत्वपूर्ण र विशेष छ । छठ जस्तै जितिया पर्वलाई पनि तराईवासीले श्रद्धा र भक्तिले मनाउने गर्छन् ।



आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो ब्रत विशेष कठोर मानिन्छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको छ । यस पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर हुन्छ । पितृपक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।

उपवास बसेका दिन आमाले मुखमा थुक निल्न, खकार वा जिब्रो टोकेमा ब्रत असफल भएको मानिन्छ । र, ब्रत असफल भएमा यसको नकारात्मक असर पर्ने बुझाई आमजनमा छ । त्यसैले पनि जितिया पर्वलाई कठोर पर्व पनि भनिन्छ । असफल भएकी ब्रतालुले आजीवन ब्रत बस्न नपाउने नियम रहेको छ । 

जितिया पर्व पनि छठ जस्तै तीन दिनसम्म चल्छ । जसमा पहिलो दिन चोखो भएर विभिन्न मिष्ठान्न परिकार खाइन्छ । यस्तै दोस्रो दिन व्रतीहरू निराहार व्रत बस्छन् र तेस्रो दिन व्रतको अन्त्य हुन्छ । यो पर्व खास गरेर तराई मधेश, मिथिला, भारतको बिहार र उत्तर प्रदेशको केही ठाउँहरुमा पनि श्रद्धापूर्वक मनाइन्छ । 



आश्विन कृष्णअष्ठमीमा आफ्ना सन्तानको मङ्गल कामना र लामो आयुको लागि महिलाहरूले जितियामा व्रत बस्ने गर्छन् । व्रतको पहिलो दिन नदी, पोखरीमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर लगायतका सामग्री सूर्यपुत्र शालिवाहनका छोरा जितवाहन भगवानलाई चढाउने गर्दछन् ।

जितियाको पहिलो दिन माछा र कोदोको रोटी खाने परम्परा छ । राति ओटघन पनि गरिन्छ । ओटघनमा चिउरा, दही, केरा, अम्मट खाइन्छ । यस्तो परिकार खानाले आयु बढछ् भने धार्मिक मान्यता छ । ओटघन गरेपछि मुलगेटमा बसेर पानी पिउँदै ‘हे ओटघन महाराज ओटघनिया रखिह’ भन्ने प्रचलन छ । व्रतको दोश्रो दिनलाइ खर जितिया भनिन्छ र योद व्रतको मुख्यदिन पनि हो ।

दोश्रो दिन व्रतालुहरू २४ घण्टा लामो निराहार उपवास बस्ने गर्छन् । व्रत लिएका महिलाहले थुक पनि निल्न नहुने धार्मिक मान्यता छ । जितवाहनको पूजा गर्नलाई धुप दीप, चामल, फूल, चन्दन लिएर पूजा गरिन्छसँगै माटो अथवा गाईको गोबरले चिल वा स्यालको प्रतिमा बनाइन्छ । गोबरबाट बनाईएको प्रतिमाको टाउकोमा रातो सिन्दुरको टीका लगाईन्छ ।

पूजा समाप्त भएपछि जिवित पुत्रिका व्रतको कथा सुन्नुपर्छ । यसो गर्नाले पुत्र भएको महिलाको पुत्रको लामो आयु हुने र नभएकोलाई पुत्र रत्नको प्राप्ति भई सुख समृद्धि प्राप्त हुने विश्वास छ । जितियाको सबैभन्दा मुख्य काम डाली भर्नु हो । 

डाली भर्नलाई काँक्रो, नरिवल, बाँसको पात, जियल पात, सरिफाको पात, आखकर, जनै, सुपारी डालीमा राखिन्छ । यसले पुत्रको आयु बढ्छ । व्रतको तेस्रो दिननै अन्तिम दिन हो । यो दिन ब्राम्हणलाई दानदक्षिणा वा भेटी दान गरेपछि खाना खाने गरिन्छ । व्रतपछि अरू परिकार खान मिल्ने भएता पनि विशेषतः भात, नैनिको साग र कोदोको रोटीलाई सबभन्दा पहिले मुखमा लिने परम्परा छ ।

राजा शालिवहानको राज्यमा एउटी आमाकी सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएको र छोरा दीर्घ सम्म बाच्ने भएकाले आमालहरूले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालिए ।  

  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १८:९:३९,   अन्तिम अपडेट : असोज ११, २०७८ साेमबार १८:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया