अब प्रदेश १ को मुख्यमन्त्री भीम, राजेन्द्र वा राजीव ?

भीम आचार्य प्रदेश १ सरकारको मुख्यमन्त्री बनेको एक महिना पूरा भएको छ । बहुमत दलको हैसियतले भदौ १० गते मुख्यमन्त्री बनेका आचार्य भदौ २५ गतेबाट भने अल्पमतमा परे । 

भदौ २५ गते एमालेबाट फुटेर गएका सांसदहरूले समाजवादीमा सनाखत गरेको प्रदेश १ संसद सचिवालयमा पत्र आयो । १० जना प्रदेशसभा सदस्य समाजवादीमा गएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्‍यो । 

संविधानअनुसार सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री आचार्यसँग ३० दिनभित्र विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विकल्प थियो । आचार्यले विश्वासको मत लिने विकल्प रोजे । सोहीअनुसार मुख्यमन्त्री  आचार्यले असोज २४ गतेसम्म विश्वासको मत लिनु पर्नेछ । 
प्रदेश प्रमुखको कार्यालयले यसको तयारी स्वरूप असोज २२ गतेलाई प्रदेश सभाको बैठक आह्वान गरेको छ । 

आचार्यले पाउलान्  विश्वासको मत?

बहुमतको सरकार रहँदारहँदै पार्टी विभाजनपछि शेरधन राई नेतृत्वको सरकारलाई विस्थापन गर्दै भीम आचार्यलाई एमालेले संसदीय दलको नेता बनायो । यसलाई धेरैले एमालेको  समाजवादीमा जाने सांसदहरूले रोक्ने रणनीतिको रूपमा हेरे । समाजवादीमा जान ठीक्क परेका प्रदेश १ का प्रदेशसभा सदस्य आचार्य नजिकका थिए । 
शेरधन राईसँग संसदीय दलको निर्वाचनमा पराजित हुँदा आचार्यले २४ मत पाएका थिए । आचार्यलाई २४ मत दिनेहरू नै धेरै जसो एमालेमा रहँदा माधव नेपाल पक्षमा थिए । उनीहरू नै माधव नेपालसँगै जाने भएकाले आचार्यलाई मुख्यमन्त्री बनाएर उनीहरूलाई रोक्ने योजना एमालेको रहेको देखिन्थ्यो । किनभने प्रदेशसभामा सदस्य बनेका एमालेका १५ सांसदमध्ये १३ जना सांसदलाई  आचार्यले बनाएको मानिन्थ्यो ।

पूर्वमख्यमन्त्री राईले नै फरकधारसँग भनेका थिए, ‘भीम आचार्यले मुख्यमन्त्री बन्न पहिला नै योजना बनाएका थिए । यसका लागि उनले आफूले भनेको मान्ने सांसदरूलाई समानुपातिक तर्फबाट प्रदेश सांसद बनाएका छन् ।’



शेरधन राई मुख्यमन्त्री हुँदा नहेरेको र पेलेको भनेर गुनासो गर्ने प्रदेशसभा सदस्यहरू आचार्य मुख्यमन्त्री बनेपछि थामथुम हुने विश्वास लिइएको थियो । उनी आफैँले पनि संसदीय दलको नेता हुने बेलामा आफू पार्टी एकता बलियो बनाउन मुख्यमन्त्री बन्न लागेको बताएका थिए । तर, उनले प्रदेशसभा सदस्यहरूलाई एमालेमा राख्न सकेनन् । 

आफू निकटका १० जना प्रदेशसभा सदस्यहरू समाजवादीमा गए । उनीहरू आचार्य नजिकका थिए । योसँगै ५१ जना प्रदेशसभा सदस्य रहेको एमालेले प्रदेशमा बहुमत गुमाएको छ । सभामुख र अर्का एकजना गुलेफन मियाँ किर्ते कागजात बनाएको काण्डमा फरारको सूचीमा रहेपछि अब एमालेसँग ३९ सांसद मात्रै रहने छन् । 



९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउन कम्तिमा ४७ जना प्रदेशसभा सदस्य रहनु पर्नेछ । एमाले एक्लैसँग ४७ सांसद नरहेको अवस्थामा अन्य दलसँग गठबन्धन गर्नुपर्ने देखिन्छ । प्रदेश १ मा कांग्रेसका २१ जना प्रदेशसभा सदस्य छन् भने माओवादी केन्द्रका १५ जना छन् । 

३ जना जसपा, १ जना संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र एकजना राप्रपाका प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशका सदस्यहरूको जोडघटाउ हेर्ने हो भने आचार्यको सरकार टिकाउन साना दलसँगको गठबन्धनले मात्रै पनि सम्भव नहुने देखिन्छ । 

कांग्रेस, माओवादी वा नेकपा समाजवादीसँग गठबन्धन नगरी बहुमत नपुग्ने अवस्थामा आचार्य नेतृत्वको सरकार टिक्ला? एमालेकै प्रदेशसभा सदस्यहरू कठिन रहेको बताउँछन् । कुनै राजनीतिक घटनाक्रममा राजनीतिक फेरबदल भएन भने यी तिनै दलसँग गठबन्धन गर्न सक्ने अवस्था छैन । एमाले सांसदले भने, ‘प्रयास जारी छ तर सम्भावना न्यून ।’ 

मुख्यमन्त्री आचार्यले भने अहिले पनि विश्वासको मत पाउने बताउँदै आएका छन्  । ती सांसदले भने, ‘जरसाप’ शैलीले सरकार टिकाउन गाह्रो भयो ।’ अहिलेका मुख्यमन्त्री आचार्यलाई एमाले प्रदेशका धेरै सदस्यहरू ‘जरसाप’ भन्छन् । प्रदेशको इन्चार्ज भएदेखि नै उनले जरसापको परिचय पाएका हुन् । 

आचार्यको शैली तलका नेताकार्यकर्ताको कुरा नसुन्ने र आफ्नो मात्रै निर्णय सुनाएर कार्यान्वयन गर्ने भएको भन्दै यो ‘जरसाप’ प्रवृती भएको एमाले नेताहरू नै बताउँछन् । प्रदेशसभा सदस्य उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सरिता थापा र पदमकुमारी गुरुङ आचार्यको बानीका कारण समाजवादीमा लागेको सांसदहरू बताँउछन् । उपेन्द्र घिमिरे त संसदीय दलको नेतामा आचार्य छानिने दिन बैठकमा सहभागी हुन लेटांगबाट हिँडेका थिए ।  

हस्ताक्षर गर्न हिँडेका घिमिरे बाटैबाट घर फर्किए । उनीनिकट एक नेताकाअनुसार आचार्यले सही गर्न आउनु भनेर बोलाएको र केमा सही गर्ने भनेर उपेन्द्रले सोध्दा आचार्यले ‘आउनु न आउनु’ भनेका कारण घिमिरे बिच्किएर बाटोबाटै फर्किएका थिए । 

मुख्यमन्त्री बन्न लाग्दासम्म सबै कुरा नभनी सही गर्न मात्रै बोलाएकोमा घिमिरेको चित्त दुःखाई थियो  । यही इगोका कारण घिमिरेले समाजवादीमा सनाखत गरेका हुन् । उनै घिमिरेले कृष्ण कुमारीलाई  समेत समाजवादी बनाए । आफू निकटकालाई समयमै  कुरा नभन्ने कारणले आचार्यलाई समस्या परेको प्रदेशसभा सदस्यले बताए । 

उनले भने, ‘अहिले पनि विश्वासको मत लिने प्रयास गर्ने हो? नभए विपक्षमा बहुमत हुन नदिने हो । तर, यसमा काम  नै भएको छैन ।’   
‘यस्तो अवस्थमा फोनसमेत उठाउनु हुन्न । छलफल र योजना बनाउनु त परै जाओस्,’ अर्का एक सांसदले भने । 

उनी निकट ती सांसदले मुख्यमन्त्री आचार्य जिम्मेवारी नै नदिने गरेको गुनासोसमेत पोखे । ‘मुख्यमन्त्रीले विश्वास गरेर जिम्मेवारी नै दिनु हुन्न । हामी कसरी लाग्नु?,’ उनले प्रश्न गरे । उनले पक्षमा मत दिन नसके पनि विपक्षमा पनि मत हाल्न नदिने वातावरण बनाउन सकिने र सरकार टिकाउन सकिने बताए ।  

राजीव वा राजेन्द्र?

एमाले नेतृत्वको सरकार अल्पमत परेपछि अब कसको नेतृत्वमा सरकार बन्ला र को मुख्यमन्त्री बन्ला भन्ने चासो छ । मुख्यमन्त्रीको लाइनमा अहिले दुई ‘आर’ अर्थात् राजेन्द्र राई र राजीव कोइराला उभिएका छन् । 

राजीव  कांग्रेस संसदीय दलका नेता हुन् भने राजेन्द्र राई नेकपा समाजवादीका संसदीय दलका नेता हुन् । हुन त मुख्यमन्त्रीको दौडमा माओवादी केन्द्र संसदीय दलका नेताइन्द्र आङ्वो पनि छन् । तर, माओवादीले अन्य तीन प्रदेशको नेतृत्व गरेकाले माओवादीभन्दा समाजवादी र कांग्रेसले मुख्यमन्त्रीको दाबी बढी बलियो देखिन्छ । 

समाजवादी गठन गरेसँगै मुख्यमन्त्रीको तयारी गरेका राईले पटकपटक समाजवादीले नेतृत्व पाउने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा बनेको विपक्षी गठबन्धन अहिले पनि नटुटेकाले गठबन्धनको सहमतिमै सरकार बन्ने र मुख्यमन्त्री बन्ने कांग्रेस  संसदीय दलका नेता कोइरालाले बताए । 

उनले भने, ‘गठबन्धनको जे सहमति हुन्छ त्यही मुख्यमन्त्री बन्छ । अहिले यहाँ यो बन्ने त्यो बन्ने कुरा भएन ।’ कोइरालाले गठबन्धनको कुरा गरे पनि कांग्रेसभित्रको अन्तर कलहले समाजवादीलाई फाइदा पुग्ने देखिन्छ । 

कांग्रेसको संस्थापन पक्षले कोइरालालाई मुख्यमन्त्री बनाउन चाहेको देखिन्न । तर, उनलाई हटाएर उपनेता हिमाल कार्कीलाई मुख्यमन्त्री बनाउने अवस्था पनि नहुँदा प्रदेशमा समाजवादीलाई मुख्यमन्त्री दिनसक्ने सम्भावना रहेको कांग्रेस नेताहरू नै बताउँछन् । 

मुख्यमन्त्री बने सुनसरीमा कोइरालाको हाइट बढ्ने र अहिलेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादर कार्कीका प्रतिस्पर्धी हुनेछन् । देउवाका अति निकट मानिने कार्कीले कोइरालाअघि बढेको नचाहेको कांग्रेस नेताहरू बताउँछन् । तर, कांग्रेस नेता गुरुराज घिमिरेले कुन पार्टीको भागमा मुख्यमन्त्री बन्ने भन्ने के सहमति हुन्छ तर को मुख्यमन्त्री बन्ने भन्ने विषयमा कोइरालाको विकल्प प्रदेश नरहेको बताए ।  

समाजवादीकी सांसद सावित्रा रेग्मीले प्रदेश १ को मुख्यमन्त्री समाजवादीले पाउने बताइन् । उनका अनुसार नेताहरूले त्यहीअनुसार कुरा गरिरहेको बताइन् । 

  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार २१:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया