बरामद वस्तुको पहिचान नहुँदै आरोपित सार्वजनिक गर्न प्रहरीलाई किन हतारो ?
फरकधार / १३ असोज, २०७८

नेपाल प्रहरीमा पछिल्लो समय हचुवाको भरमा मान्छे पक्राउ गर्ने प्रवृति बढ्दो छ । कुनै पनि प्रतिबन्धित वस्तु वा चिज पक्राउ गर्दा प्रहरी अपरिपक्व ढंगले हचुवाको भरमा मान्छे पक्राउ गरिरहेको पाइएको छ ।

यो कुरा पुष्टि गर्न कैयौं उदाहरण छन् । त्यो पनि बाहिरको उदाहरणबाट होइन, प्रहरीबाट जारी हुने प्रेस विज्ञप्ति नै काफी छ । पछिल्लो समय प्रहरीले कुनै वस्तु वा प्रतिबन्धित सामान पक्राउ गर्दा लेख्छ,‘ ....जस्तो देखिने धातु वा पदार्थ पक्राउ गरिएको ।’  

यसले सिधा अर्थ हो–कि प्रहरीले पक्राउ गरेको सामानमा ऊ आफैं पूर्ण विश्वस्त छैन । यो हो कि होइन भनेर आफै ‘कन्फ्यूज’ रहने प्रहरी फेरि त्यसैलाई आधार मानेर पक्राउ परेका व्यक्ति र सामानलाई मुद्दा प्रकियामा लैजान्छ, जुन उसको अधिकार हनन् गरेको सरह हो ।
प्रहरीले के गर्छ ?



केही उदाहरण हेरौं



प्रहरीले केही ग्राम सुनसहित सो सुन तस्करीमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ पक्राउ ग¥यो । प्रहरीको टोलीले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङबाट १४९ दशमलव ५ ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको हो । 

यी दुई जनालाई पक्राउ गरिसकेपछि प्रहरीबाट एउटा प्रेस विज्ञप्ति जारी भयो । जसमा लेखियो, ‘त्रिभुवन विमानस्थलमा रहेको प्रहरीको टोलीले मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएको ‘सुन जस्तो देखिने’ पहेँलो रंगको धातु पक्राउ गरियो, जसमा २ जनाको संलग्नता छ ।’

यही दिन प्रहरीले त्रिभुवन विमानस्थलबाट अर्को ७ सय ५० ग्राम सुनसहित १५ जनालाई पक्राउ गर्‍यो । तर यहाँ पनि प्रहरीबाट जारी भएको विज्ञप्तिमा लेखियो–‘मलेसिया र सिंगापुरबाट काठमाडौं आउने शंकास्पद यात्रीहरुबाट सुनजस्तो देखिने पहेँलो धातुसहित १५ जनालाई पक्राउ गरियो । 

फेरि यही विज्ञप्तिमा प्रहरीले अर्को वाक्यमा लेखेको छ, ‘विमानस्थलको बाटोबाट सुन कारोबारीहरुले यात्रुहरुलाई सुन बोकाइ भन्सार छली गरिरहेको सूचनाको आधारमा पक्राउ गरियो, ती व्यक्तिहरुलाई मलेसिया र सिंगापुरको विमानस्थल वरपरबाट नाम थर स्पष्ट नभएका व्यक्तिहरुले सुन दिएर पठाएका थिए ।’

यस्तो प्रेस विज्ञप्ति जारी गर्नेमा काठमाडौं प्रहरी मात्रै छैन । देशभरीका अधिकांश प्रहरी कार्यालयहरुबाट पनि उस्तै प्रकृतिका विज्ञप्ति आउने गर्छ । 

झापा प्रहरीले पठाएको विज्ञप्तिमा १४२ ग्राम ३७ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको उल्लेख छ । तर विज्ञप्तिमा ब्राउनसुगर नै हो भनेर यकिन छैन । 
किनकि झापा प्रहरीले जारी गरेको विज्ञप्तिमा ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको उल्लेख छ । यसरी जारी भएका विज्ञप्ति हेर्ने हो भने जोसुकैलाई लाग्दो हो पुष्टि नहुदाँसम्म प्रहरीले सिधै अपराधी पक्राउ पर्नेका नाममा कनि विज्ञप्ति जारी गर्नुपर्ने ? 

पछिल्लो समय प्रहरी कार्यालयबाट आउने यस्ता विज्ञप्तिले धेरैको मनमा शंका मात्र पैदा गरेको छैन, प्रहरीको कार्यमाथि अविश्वास पनि बढ्दै गएको छ । किनकि प्रहरीको यस्ता अपुष्ट आरोपले उसैको कार्यमाथि प्रश्न उब्जाइरहेको छ ।

किन यस्तो गर्छ प्रहरी ?

प्रहरीले यस्ताखाले विज्ञप्ति गलत नियतले जारी नगर्ने गरेको प्रहरी प्रधान कार्यालय बताउँछ । प्रहरी मुख्यालयका अनुसार समय कम भएको हुनाले तत्कालै पक्राउ गरेको मान्छे सार्वजनिक गर्नुपर्ने अर्को बाध्यता रहेकाले यसरी लेखेर विज्ञप्ति जारी गरिन्छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार कुनै पनि प्रतिबन्धित वस्तु वा पदार्थ पक्राउ गर्दा त्यसलाई चाँडै सार्वजनिक गर्नुपर्ने प्रहरीलाई बाध्यता रहन्छ । 

उनी भन्छन्, ‘त्यो मान्छे कहाँ छ भनेर देखाउनका लागि पनि सार्वजनिक गर्नुपर्ने हाम्रो बाध्यता छ । अनि अर्को हामीसँग सीमित स्रोत साधन छ। पक्राउ परेको पदार्थ वा वस्तुको तत्कालै परीक्षणबाट रिपोर्ट आउँदैन । जसले गर्दा हामी पक्राउ गर्ने बित्तिकै यकिन नभएको हुनाले...‘जस्तो देखिने’ लेखेर सार्वजनिक गर्ने गर्छौ ।’ 

मुख्यतः प्राविधिकरुपमा चेक नभएसम्म यही हो भनेर किटान गर्न सक्ने आधार नभएको हुँदा अनुसन्धान प्रक्रिया अगाडि बढाउँनका लागि यसरी लेखेर प्रहरीले आफ्नो काम अगाडि बढाउने गरेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘कहिलेकाँही रिपोर्ट आउँन महिनौ लाग्छ, अनि त्यसैले प्रहरीलाई बल पुग्ने मुचुल्का बनाइ यस्तो विज्ञप्ति लेखिन्छ । तर यस्तो लेख्दैमा प्रहरी अपरिपक्व वा अनुसन्धान कमजोर भन्ने हुँदैन । यो बाहिरी अभ्यास पनि हो ।’

कुनै पनि पदार्थ वा वस्तु पक्राउ पर्दा प्रहरीले त्यसको अगाडि जस्तो देखिने शब्द लेख्नुको मुख्य कारण डर रहेको पूर्व प्रहरी अधिकारीहरुको भनाइ छ । 

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्, ‘पछिल्लो समय प्रहरीमाथि शंका उपशंका बढ्दै गएको छ, जसले गर्दा प्रहरीमा डरमा रहन्छ । अनि त्यही शंका अझै नबढोस् भनेर प्रहरीले रिस्क नलिन खोजेको हो, जुन कारणले केही पनि पक्राउ गर्दा त्यसको अगाडि ‘जस्तो देखिने’ शब्द लेख्ने गर्छ ।’ यसमा अरु कुनै कारण नदेखिएको उनी बताउँछन् ।

  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार ९:३०:११,   अन्तिम अपडेट : असोज १३, २०७८ बुधबार १२:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया