गुम्दै गएको राजनीतिक चेतना
हरजिन्दर
फरकधार / १३ असोज, २०७८

करिब ३१ वर्षअघि मानव सभ्यताले संवादका निम्ति एउटा नयाँ माध्यम हासिल गरेको थियो । संवादको हरेक नयाँ माध्यमले केवल अभिव्यक्तिको नयाँ बाटो खोल्दैन, त्यसले ज्ञान-विज्ञानलाई पनि नयाँ उचाइमा लैजान्छ । अनेक दबाबहरूका बीच मानिस परिवर्तन हुन्छ र समाज पनि पूरै परिवर्तन हुन्छ । कतिपय अवस्थामा त यति धेरै परिवर्तन हुन्छ कि, पुरानो र नयाँको अन्तर आकाश-जमिनको जस्तै हुन पुग्छ । 



अतीततिर फर्किएर त्यो समाजलाई हेर्दा, त्यहाँ भाषाको विकास भएको थिएन । अब त्यो समाज र अहिलेको समाजलाई तुलनात्मक रूपमा हेर्दा, भाषाको चरम विकास भइसकेको छ । यी दुई अवस्थाको फरक स्पष्टै देखिन्छ । यस्तो लाग्छ, दुवै अवस्था अलग्गै ग्रहका मानिसबीचको फरक महसुस हुन्छ । 

यस्तैखाले परिवर्तन तीन दशकअघि इन्टरनेटले हाम्रो पोल्टामा पारिदियो । यो प्रविधिले अहिले हाम्रो जीवनलाई पूरै परिवर्तन गरिदिएको छ । जब हामीले भाषाको विकास गर्‍याैं, जब हामीले लेख्न सुरु गर्‍याैं या जब छापाखानाले संसारभर आफ्नो प्रभाव बनायो, जब रेडियो, टेलिभिजन र टेलिफोनजस्ता संवादका माध्यम हामीबीच आयो- यी सबै तीन दशकको अवधिका उपलब्धि हुन्। 

यति तीव्र गतिमा परिवर्तन होला भनेर हामी कसैले पनि सोचेका थिएनौं । कतिपय अवस्थामा रेडियोले भूगोललाई पूरै जोड्न सकेन, तर जब इन्टरेनट आयो तब सारा संसारलाई एकै ठाउँमा जोडिदियो । यी र यस्ता फरकपना आआफ्नो ठाउँमा थिए, संसार स्वतन्त्रताको दौडमा थियो । अभिव्यक्ति स्वतन्त्रताको मूल्य बढ्दै गएको थियो।



संसारका कतिपय मुलुकमा तानाशाहीको अन्त्य र लोकतन्त्र विस्तार हुँदै थिए । बर्लिनको पर्खाल चकनाचुर भएको थियो । चीनबाहेक अन्य मुलुकमा साम्यवाद र सर्वहाराका कथित तानाशाही व्यवस्था विदा लिँदै थिए या अन्तिम स्वास गनिरहेका थिए । यस्ता देश, जहाँ लोकतन्त्र छ तिनको संख्या अचानक निकै बढ्दै जान थाल्यो । 

यस्तै अवस्थामा अमेरिकाका एक राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले संसार नै हल्लाउने विचार अघि सारे । ‘द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ नामक उनको पुस्तकको आलोचना भयो, विशेषगरी शीर्षकलाई लिएर । तर, उनले पुस्तकमा व्यक्त गरेको विचार विस्तारै मानिसहरूलाई मन पर्न थाल्यो, सत्य लाग्न थाल्यो ।

उनको विचारमा मानव सभ्यता विचारको शिखरमा पुगिसकेको छ । विस्तारै लोकतन्त्र संसारका सबै देशमा पुग्ने छ र यसको परम्पराअनुरुप चल्ने छ । तर, ३० वर्षमा संसार कहाँ पुग्यो ? यसको चर्चा पछि गर्ने छौं, अहिलेलाई भने इन्टरनेटमै केन्द्रित रहन्छु ।

त्यो समय उद्देश्य के राखिएको थियो भने, एउटा यस्तो मञ्च तयार होस् जसमा संसारका मानिसहरू जोडियून्- यसबाट थुप्रै रिक्तताहरूको पूर्ति हुने छ । दिल्लीको कुनै एक बेडरुममा बसिरहेको व्यक्ति जब लिस्बन, काहिरा र रियो डि जेनेरियोका अञ्जान मानिससँग जोडिन्छ तब त्यो व्यक्तिको बुझाइ र हेराइको क्षितिज नै फराकिलो बन्न पुग्छ । उसको सोच विस्तार हुनुका साथै पूर्वाग्रहरूको अन्त्य हुन्छ, उसलाई विश्व दृष्टि प्राप्त हुन्छ ।

अपेक्षा के पनि थियो भने, तानाशाही व्यवस्था भोग्दाभोग्दा थाकेका मानिसहरूले जब लोकतन्त्र पाउँछन् तब उनीहरूमा लोकतन्त्र मजबुत पार्न दबाब पनि पर्न जान्छ । यसैको केही समयपछि जब पश्चिम एसियामा ‘अरब स्प्रिङ’ नामको आन्दोलन देखापर्‍याे, तब संसार लोकतन्त्रको सपना साकार पार्नतिर लाग्यो । तर, त्यो सुन्दर सपना टुटेको इतिहास पनि उत्तिकै ठूलो छ, जति स्वयम् मानव सभ्यताको इतिहास छ ।

अहिले हामी २०२१ सालमा छौं । यतिखेर हामीलाई अमेरिकी संस्था फ्रिडम हाउसको रिपोर्ट- ‘फ्रिडम अन द नेट’ प्राप्त भएको छ । इन्टेरनेटमा दुनियाँको स्वतन्त्रताको अवस्था बताउने त्यस्तो रिपोर्ट हरेक साल सार्वजनिक गरिन्छ । त्यो रिपोर्टले अहिले के बताएको छ भने, लगभग संसारका सबै देशमा इन्टरनेट प्रयोगकर्तामाथि सरकारले निगरानी गरिरहेको छ । सोसल मिडियामा गरिएको पोस्टका कारण मानिसहरूमाथि हमला भएको छ, कयौं मानिसलाई पक्राउ गरेर जेलमा कोचिएको छ । भारतलगायत केही मुलुकमा यो अवस्था छैन । तर, सवाल भारतको वा पोस्ट गरिएका सामग्रीमा नियन्त्रण नगर्ने अवस्थाको मात्रै होइन, संसारका अधिकांश मुलुकमा निगरानी र नियन्त्रण हुन थालेको छ ।

यो निश्चित छ कि, इन्टरनेटका माध्यमबाट गरिएको कुनै पोस्टका कारण कोही व्यक्तिलाई गिरफ्तार गरिन्छ भने त्यसलाई इन्टरनेटको ताकत मान्न सकिन्छ । संसारभरका तानाशाहहरू कुनै आन्दोलनसँग भन्दा इन्टरनेटसँग डराउन थालेका छन् । तर, सत्य यो पनि हो कि इन्टरनेटबाट हामी जस्तो दबाब वा परिवर्तनको अपेक्षा गरिरहेका छौं, त्यो अपेक्षा अपूरोमात्रै हुन पुगेको छैन- संसार त्यसको उल्टो दिशामा हिँडिरहेको पनि छ । हामी सोचिरहेका थियौं कि, इन्टरनेटले हरेक मानिसको सोचविचारलाई नयाँ ढंगमा विस्तार गरिदिन्छ । तर, मानिसको मानसिकताको पिँजडा निकै साँघुरो हुँदै गएको छ । यस्तो अवस्था इन्टरनेट प्रयोगकर्तामा मात्र होइन, त्योभन्दा बाहिरको समाजमा पनि देखिएको छ ।
 
उदारवाद, नागरिक अधिकार र धर्मनिरपेक्षता जस्ता शब्दहरूलाई जब गालीका रूपमा प्रयोग गर्न थालिन्छ तब हामीले पाएको स्वतन्त्रता बाँचिरहला भन्ने अपेक्षा कसरी गर्न सकिएला र ! हाम्रा उपलब्धिहरू कसरी सुरक्षित रहन सक्लान् ? यी सारा उपलब्धिहरू बीसौं शताब्दीको राजनीतिक चेतनाबाट प्राप्त भएका हुन् र थुप्रै देशहरूमा भएका अनेक संघर्षको बलमा यी स्थापित भएका हुन् । जसले यस्ता स्वतन्त्रता प्राप्त गर्न सकेनन्, त्यो दुर्भाग्य हो । एक्काइसौं शताब्दीको सुरुआतका केही वर्षमै हामीले राजनीतिक चेतना गुमाउन थालेका हौं । त्यो पनि यस्तो समयमा चेतना गुम्न पुग्यो, जतिखेर त्यो चेतनाको आवश्यकता सर्वाधिक थियो ।

(हरजिन्दर भारतका वरिष्ठ पत्रकार हुन् । हिन्दुस्तान टाइम्सबाट अनूदित तथा सम्पादित ।)  

  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १२:५२:२,   अन्तिम अपडेट : असोज १३, २०७८ बुधबार १२:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया