नेपालको राजनीतिमा चासो राख्ने हरेक व्यक्तिलाई नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीको ‘झोँक र अडान’को सम्झना हुन्छ । उनलाई यसरी पनि बुझिन्छ– उनी युवा छिन् त्यसैले झोक्किन्छिन्, राजनीतिमा सचेत छिन् त्यसैले अडान लिन्छिन् । नेकपा एमाले विभाजनपछि नेकपा एसमा लागेकी झाँक्रीको पछिल्ला गतिविधिले उल्लिखित बुझाइलाई पुष्टि गर्छ ।
उनले २०६५ सालमा पोखरा महाधिवेशनबाट नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिम्मेवारी सम्हालेकी थिइन् । सो पदमा विजयी हुने उनी पहिलो महिला पनि हुन् । एमालेबाट मुलुकको मूलधारको राजनीति गर्दै आएकी नेतृ रामकुमारी अहिले एमालेमा छैनन् ।
पार्टी परिवर्तनसँगै उकालो लागेको देखिएको उनको राजनीतिक ग्राफ यतिबेला ‘मन्त्री’ बन्ने दौडमा अडिएको छ । ०३४ सालमा गुल्मीमा जन्मिएकी उनको छवि नेपालको वामपन्थी राजनीतिमा ‘बागी’ चरित्रका रुपमा पनि उभारमा आएको छ ।
विद्यार्थी जीवनदेखि नै आन्दोलन र भागदौडमा आफूलाई अग्रपंक्तिमा उभ्याइन् उनले । त्यो क्रम अहिले पनि रोकिएको छैन । एमाले र माओवादीको एकतापछि रामकुमारीको भूमिका पार्टीमा केन्द्रीय सदस्य थियो । राजनीतिक उतारचढावका बीच अहिले उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) कि सचिव बनेकी छन् ।
प्रतिनिधिसभामा समानुपातिक सांसदसमेत रहेकी रामकुमारीलाई महत्वपूर्ण मन्त्रालयसहित सरकारमा पठाउने चर्चा भइरहेको छ । यद्यपि, सत्तारुढ गठबन्धनले यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन ।
नेकपा ‘वार’मा रामकुमारी
५ पुस ०७७ विहानै नेकपामा देखिएको समस्याका टुंगो लगाउने गरी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो दिएका थिए, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले । तर, उनले प्रचण्डलाई नै झस्काइदिए ।
ओलीसँग वार्ता गर्न जाने मुड बनाएर बसेका प्रचण्डलाई आफ्नो तर्फबाट नेतृत्व गरेका मन्त्रीहरुले संसद् विघटनको खबर सुनाएसँगै झाँगिएको थियो नेकपा विवाद ।
उनी बालुवाटारको गेटमै पुग्दा ओली शीतलनिवासतर्फ हानिए । प्रचण्डको अनुरोधलाई स्वीकार गर्दै केहीबेरमा आउने बाचा गरेका ओलीले आफूसँगै संसद् विघटन भएको निर्णय पनि प्रचण्डको कानमा पु¥याए ।
पार्टी एकता भएको केही समयदेखि नै ओलीविरुद्ध खनिनेहरूको बढ्दै थिए । ओलीले पहिलोपटक संसद् विघटन गरेपछि भने उनीविरुद्धको एउटा समूह सडकमै निस्कियो ।
संसद् विघटनविरुद्ध त्यतिबेला प्रचण्ड र माधव नेपाल समूह एक भएर लागेको थियो । ओलीको कदमको खरो विरोध र आलोचना गर्नेमध्येकी एक हुन्, रामकुमारी । अहिले पनि उनले ओलीको नाम किटेर आलोचना गर्न छाडेकी छैनन् ।
संसद् विघटनपछि राजनीतिमा उनले देखाएको ‘आक्रामकता’ नै अब मन्त्री बन्ने सबैभन्दा ठूलो अस्त्र बनेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । नेकपा एसकै कतिपय नेता रामकुमारीलाई मन्त्री दिनुपर्ने बताउन थालेका छन् ।
केही समयअघि रामकुमारी जेल परेकै बेलामा एकजना माओवादी निकट नेताले गफगाफको सिलसिलामा सुनाएका थिए, ‘अब झाँक्री कमरेड मन्त्री पक्का ! (हाँस्दै) जे होस् एमालेतिरका नेताहरुलाई जेल परेको फाप्ने रैछ ।’
ओलीको कदमविरुद्धको विरोधसभामा कालो टेपले मुख बाँधेर कालो वस्त्रमा देखिनेदेखि राष्ट्रपतिको खरो आलोचना गर्न उनले कुनै कसर बाँकी राखिनन् । अहिले पनि रामकुमारीका अधिकांश भाषण र सम्बोधनहरु ओली र विद्यादेवी भण्डारीतर्फ नै केन्द्रित हुन्छन् ।
नेकपा विघटन नहुँदा नै उनले एउटा कडा भाषण गरिन्, यही कारण प्रहरीले उनलाई पक्राउ पनि गर्यो । उनले गोरखामा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘ठाडो गाली’ गरेकी थिइन् ।
१६ माघमा गोरखा पुगेकी रामकुमारीले एमालेले भूलवश सुरु गरेको ‘सेतो सारी’को संस्कारको प्रत्युत्पादकका रुपमा विद्या भण्डारीलाई चित्रण गरेकी थिइन् । त्यसपछि पार्टीभित्र उनको चर्काे आलोचना भएको थियो । उनलाई अनुशासनहीनको कोटीमा राखिएकाए थियो । राष्ट्रपति कुनै व्यक्ति नभई एउटा उच्च पद र संस्था भएका कारण पनि रामकुमारीले उक्त संस्थामाथि त्यो हदको गालीगलौज गर्न नहुने टिप्पणी सर्वत्र भएको थियो । तर, यहीँनिरबाट उनको राजनीतिक ग्राफले उकालो चढ्ने क्रम तीव्र पारेको देखिन्छ । उनलाई आफ्नो कुरामा अडान राख्ने नेताका रुपमा सोही बखतदेखि चित्रित गर्न थालिएको पाइन्छ ।
‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्ने र मतदातामा प्रभाव पार्ने गलत संस्कृतिको सुरुवात एमालेमा भएको थियो, त्यसैको प्रतिउत्पादक हो विद्या भण्डारी । जो आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ । त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ । धरानमा हामीले चुनाव हार्नुको पछाडिको कारण पनि त्यही हो,’ उनले भनेकी थिइन् ।
महिलालाई होच्याएर, महिलाको अस्मितामाथि धावा बोलेको आरोप पनि उनीमाथि लागेको थियो । जिल्ला–जिल्लामा ओली पक्षका महिला समूहहरूले रामकुमारीलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी तथा प्रशासन कार्यालयहरूमा ज्ञापन पत्रसमेत बुझाएका थिए ।
तर, रामकुमारी त्यतिमै चुप बसिनन् ।
संसद् विघटनविरुद्ध राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘महिला अस्मिताविरुद्ध’ बोलेको भन्दै देशभर भएका आलोचनाहरूलाई राम्रैसँग जवाफ फर्काएकी थिइन् ।
उनले भृकुटीमण्डपमा भनेकी थिइन्, ‘एउटा तानाशाह, बन्दै गरेको अहंकारी, सर्वज्ञानी, सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्न पाइन्छ । यहाँनेर महिला अस्मिताको प्रश्न आउँदैन । कुनै पनि पदमा लिंग हुँदैन, त्यो सार्वजनिक पद हो त्यसैले बोल्न पाइन्छ ।’
ओलीविरुद्ध सडकमा उभिएका अरुलाई रामकुमारीका यी आक्रामक सम्बोधनले निकै बल पुर्याएको थियो । आन्दोलनकारीहरु उनको सम्बोधनको प्रतीक्षा गरिरहन्थे । र, उनको सम्बोधनले आन्दोलनलाई बल मिलेको उनीहरुको बुझाइ थियो ।
एमाले ‘वार’ मा रामकुमारी
नेतृ रामकुमारी २३ फागुनमा एमाले ब्युँतिएपछिको लडाइँमा पनि अग्रमोर्चामै रहिन् । ‘ओली रहुञ्जेल एमाले नहुने’ जबरजस्त तर्क गर्दै आएकी उनको पार्टी विभाजनमा पनि निकै ठूलो हात रह्यो । त्यतिमात्र होइन, कतिपय अवस्थामा नेकपा एसका सभापति माधवकुमार नेपाललाई आफ्नो अडान नछाड्न र ओलीविरुद्ध बोल्न उनैले उत्साह दिन्थिन् ।
सुरुका दिनमा माधव नेपाललाई साथ दिएका शीर्ष तहका नेताहरुले केही समयपछि उनको साथ छाडे । ती एमालेमै रहने भए । योगेश भट्टराई, घनश्याम भुसाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायतका नेताहरुले नेपाललाई छाडिदिए । त्यसपछि पार्टी विभाजन गर्नेसम्मको आँट नेपालले गर्न सकेका थिएनन् । तर, तेस्रो तहको मानिएका रामकुमारी, विरोध खतिवडा, मेटमणि चौधरी, गंगालाल तुलाधारजस्ता नेताहरुकै जोडबलमा नेपालले पार्टी विभाजनसम्मको आँट गरे ।
अहिले नयाँ दर्ता भएको नेकपा (एकीकृत समाजवादी)को महत्वपूर्ण पदाधिकारीमध्येको एक ‘सचिव’मा उनले बाजी मारेकी छन् । निर्वाचन आयोगमा सनाखत गर्नुअघि चन्द्रागिरी रिसोर्ट पुग्नेबेलासम्म र त्यहाँ पुगेपछिका सबै चाँजोपाँजो मिलाउने जिम्मा रामकुमारीले नै लिएकी थिइन् ।
संसद विघटनले बटुलेको चर्चा
ओलीले संसद् विघटन गर्नुअघिसम्म तत्कालीन नेकपाभित्र अन्तरद्वन्द्वमात्र थियो । पार्टीमा देखिएका समस्याहरूको बारेमा खुलेरै आलोचना नगरे पनि ओली प्रवृत्तिबारे प्रचण्ड, नेपालका साथै केही शीर्ष नेताहरुसँग रामकुमारीलगायतका नेताहरुले थुप्रै पटक कुरा राखिसकेका थिए । जब ५ पुसमा ओलीले संसद् विघटन गरे त्यसपछि ह्वात्तै बढ्यो रामकुमारीको झोँक र राजनीतिक ग्राफ ।
प्रायःजसो, सार्वजनिक कार्यक्रमहरुमा प्रष्ट र खरो भाषण गर्ने उनले गोरखामा गरेको भाषणले जेलसम्मै पुर्यायो । रामकुमारी जेल पर्दा प्रचण्ड, नेपाल समूहका नेताकार्यकर्ताले सडक आन्दोलन नै गरे । सोही आन्दोलनपछि चर्चित बनेकी उनी भृकुटीमण्डपमा फरक भेषभुषा र शैलीसहित उपस्थित भइन् । उनको त्यो शैलीलाई अहिले पनि एमाले अध्यक्ष ओलीले कटाक्ष गरिरहेका हुन्छन् ।
विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ रामकुमारी केन्द्र तहसम्म यति चाँडै अघि बढ्लिन भन्ने सोही पार्टीका नेताहरुलाई पनि विश्वास थिएन । तर, नेपालको राजनीति हो त्यसमा जे पनि हुन सक्छ भन्ने तथ्य अनेक छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।