प्रदेश २ मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा, उपेन्द्र यादवको ‘ग्रिन सिग्नल’

संघीय संरचनामा मुलुक गएपछि पहिलो पटक मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले आज प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो । 

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच दूरी बढिरहेको बेला अख्तियारले मारेको छापालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रदेश २ मा राउत नेतृत्वको सरकारले उपलब्धिमूलक काम गर्न नसकेको आरोप पार्टी अध्यक्ष यादवले लगाउँदै आएका थिए । राउतका कारण प्रदेशमा पार्टी बदनाम भएको निष्कर्ष उनले निकालेका थिए । 

यसबीचमा यादवले राउतलाई मुख्यमन्त्रीबाट हटाउने धेरै प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । प्रदेश २ मा राउतको पक्षमा रहेको सामुदायिक भोटका कारण मुख्यमन्त्रीबाट हटाउन अध्यक्ष यादवले सकिरहेका थिएनन् । 

राउत निकट स्रोतका अनुसार उनलाई मुख्यमन्त्रीबाट सिधै हटाउन नसकेपछि अध्यक्ष यादवले अख्तियारको सहारा लिएको अनुमान गरिएको छ । 

उपेन्द्रको मौन समर्थन 



‘जसपा अहिले सत्तारुढ दलमध्येको एक घटक हो । जसको सहयोगमा केन्द्रदेखि प्रदेशसम्म संयूक्त सरकार छ । सरकार मात्रै होइन पछिल्लो समय त हरेक राजनीतिक गतिविधि पनि यही गठबन्धनको हिसाब चलिरहेको छ । यस्तोबेला अख्तियारले छापा मार्नु समान्य कुरा होइन,’ मुख्यमन्त्री राउत निकट स्रोतले भन्यो । 

अख्तियारको छापापछि मुख्यमन्त्री र उनी निकट नेताहरु पार्टी नेतृत्वप्रति शंशकित भएका छन् । स्रोत भन्छ, ‘यो छापा ‘हाइलेबल’को हो, जसको सूचना प्रधानमन्त्रीदेखि लिएर गृहमन्त्रीसँग नपुग्ने कुरै हुँदैन । यसरी आफ्नै गठबन्धनमा रहेको दलको सरकारको मुख्यमन्त्री कार्यालयमा छापमार्दा त्यसको खबर गठबन्धनमध्येका दललाई पनि  नहुने सवाल नै हुँदैन ।’  



उपेन्द्रको मौन समर्थनमा छापा मारिएको मुख्यमन्त्री राउत निकट नेताको बुझाई छ । 

केहीदिन यता जसपाका अध्यक्ष यादव नजिक मानिने प्रदेश २ का पूर्व अर्थमन्त्री विजय यादव र वर्तमान अर्थमन्त्री शैलेन्द्र साह बेग्ला बेग्लै बैठक गरेर मुख्यमन्त्रीबाट राउतलाई हटाउन गरेको प्रयास कसैबाट लुकेको छैन । 

स्रोतका अनुसार पछिल्लो चार दिनदेखि उनलाई हटाउनका लागि बैठकहरू भएका छन् । चार दिन पहिला प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवले बर्दिवासको एक होटलमा बैठक डाकेका थिए । जसको अजेण्डा थियो–मुख्यमन्त्रीबाट राउतलाई हटाउनु । यो बैठकमा मन्त्री, प्रदेश सांसद, केन्द्रीय सदस्यसहित ४५ जनाको सहभागिता थियो । 

यसैगरी त्यसपछि प्रदेश अर्थमन्त्री शैलेन्द्र साहले पनि जनकपुरको बाबा ढावा नामक होटलमा बैठकको आयोजना गरेका थिए । जसको अजेण्डा उही थियो–मुख्यमन्त्रीबाट राउतलाई हटाउने । यसको अलावा उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा पनि यो अजेण्डामाथि छलफल भएको थियो । 

यी घटनाक्रमले र पार्टी अध्यक्ष यादवको मौनताले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापामारी उनकै सहमति भएको बुझ्न सकिने भनाई स्रोतको छ ।  

के भएको हो ? 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दिउँसो मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयबाट गएको संयुक्त टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । 

साइकल खरिदमा अनियमितता भएको उजुरीपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियार स्रोतको भनाइ छ । मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान चलाएका थिए । त्यसअन्तर्गत छात्राहरूलाई साइकल वितरण भइरहेको थियो ।  

प्रदेश २ सरकारले २०७६ सालमा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको कार्यक्रमका विषयमा अख्तियारले छानबिन गर्न साइकल खरिद गर्दा गरिएका कागजात नियन्त्रणमा लिएको छ ।  प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकिन नगरी साइकल वितरण गरिएको थियो । 


 

  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १७:१०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया