रोहिंग्या शरणार्थीको विलासी जीवन : देखाउने एउटा, भित्र अर्कै

हातमा बोकेको सामान्य मोबाइल सेटमा घण्टी बज्यो । उठाएर कुराकानी गरे र खल्तीमा राखे । लगत्तै फेरि घण्टी बज्यो । दोस्रो पटक बजेको घण्टी अर्को फोनमा थियो। खल्तीबाट निकालेर दोस्रो पटक उठाएको स्मार्टफोन थियो । त्यही स्मार्ट फोनमा २/३ पटक कुराकानी भयो । कुरा भएपछि स्मार्टफोन फेरि खल्तीमा थन्क्याए । करिब आधा मिनेटपछि फेरि घण्टी बज्यो उनको मोबाइलमा।

पाइन्ट र ज्याटेक दुवैतिरको खल्ती छामे उनले । ज्याकेटको खल्तीमा भएको तेस्रो स्मार्टफोन पनि निकाले । तर, फोन भने पहिलाकै स्मार्टफोनमा आएको रहेछ । उनीसँग दुईवटा स्मार्टफोनसहित तीनवटा मोबाइल थिए ! सामान्यतया बढीमा एकजनाले दुईवटा फोन बोक्ने गरेको देखिन्छ । तर, काठमाडौंको कपनमा बस्दै आएका ३६ वर्षीय रोहिंग्या शरणार्थी रफिक आलमसँग तीनवटा फोन छन् । एउटा सादा सेट र दुइटा स्मार्टफोन ।

रफिकले बोकेको तीनवटा फोनमा सायद कसैको ध्यान गएको छैन र जाने पनि छैन । तर, बंगलादेशबाट शरणार्थीका रूपमा नेपाल पसेका रोहिंग्याको जीवनशैलीप्रति भने थुप्रैको चासो बढ्न थालेको छ । 
 
पछिल्लो समय दलालले दुई लाख ५० हजार टाका (बंगलादेशी पैसा) मा बंगलादेशबाट रोहिंग्याहरूलाई नेपाल ल्याउन लागेको चर्चा चलिरहेको छ । सोही विषयमा रिपोर्टिङ गर्न कपन राममन्दिर क्षेत्रका दुईवटा शिविरमा हामी पुगेका थियौं । असोज ६ गते स्थलगत रिपोर्टिङका लागि राममन्दिर नजिकै रहेको पहिलो शिविरमा हामी पुग्यौं । 

उनीहरूसँग कुराकानी गर्न खोजेका थियौं । तर, भाषागत समस्याका कारण कठिन भयो । शिविर नजिकै बस्ने एक नेपालीसँग उनीहरूमध्ये कसले नेपाली भाषा बोल्न सक्छ ? भेट गराइदिन पर्यो भनी अनुरोध गर्‍याैं । छिमेकी भाइले शिविरबाट ३९ वर्षीय महमद अर्यासलाई बोलाए । हामीले तपाईंहरूसँग कुराकानी गर्न आएको भनेपछि उनले कुन मिडियाबाट आएको भन्दै परिचयपत्र देखाउन आग्रह गरे ।  

पत्रकार परिचय पत्र देखाएपछि महमदले शिविरभित्रै गएर गफगाफ गरौं भने । टिनले बारेको, साँघुरो गल्ली, त्यसभित्र पनि अँध्यारो ठाउँबाट भित्रतिर लगे । त्यो गल्लीमा एक्लै गयो भने हराउने सम्भावना थियो । महमदको पछि लागेर अगाडि बढ्ने क्रममा उनले एउटा हलभित्र लगे । हल प्रवेश गर्नुअघि अर्को घरबाहिर महिला तथा बालबालिका बसिरहेका थिए । हामीलाई देख्नेबित्तिकै ती सबै महिलाले कालो कपडाले टाउको छोपिन् । बालबालिका भने हामीलाई मज्जाले नियालेर हेरिरहेका थिए । 

बैठक कक्षमा पुगेपछि हामीले कुराकानीको सुरुवात गर्‍याैं ।



सञ्चै हुनुहुन्छ ? अनि के कस्तो छ हालखबर ? 
महमद : अहिलेसम्म सबै ठीक छ । म अन्य साथीहरूलाई पनि खबर गर्छु । 

एकछिनमै बैठक कोठामा ३२ वर्षीय अफिद ताके आए । उनीसँग कुराकानी गर्ने क्रममा हामीले उनीहरूको विगतभन्दा पनि अहिलेको वर्तमान अवस्था कस्तो छ ? जीविका कसरी चलिरहेको छ ? जस्ता सामान्य विषयमा जोड दियौं । 



कुराकानीको सुरुवातमै अफिदले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) प्रति असन्तुष्टि व्यक्त गरे । लामो समयदेखि शरणार्थीको रूपमा बस्दै आएका आफूहरूको लागि केही पनि गरेन भन्ने उनको गुनासो थियो ।
 
तपाईंहरूले काम गर्न पनि पाउनुहुन्न, कुनै स्वरोजगारी पनि छैन, यस्तो अवस्थामा जीविकोपार्जन कसरी गर्नुहुन्छ ? हाम्रो प्रश्न थियो । 
‘कानुनी रूपमा हामीले काम गर्न पाउँदैनौं, नेपाल सरकारले पनि त्यस्तो केही सहयोग गर्दैन, दाताहरूले गर्ने सहयोगको भरमा बाँचिरहेका छौं,’ उनको जवाफ थियो । तर, उनीहरूको कुराकानी गर्ने तरिका र व्यवहार हेर्दा विश्वास गरिहाल्न गाह्रो थियो ।  

‘आफूहरू पनि दिनभर घरमै हुन्छौं । बाहिर काम गर्न गयो भने पनि पाइँदैन । नजिकैतिर कहिलेकाहीँ काम मिल्यो भने थोरै ज्यालामा गर्नुपर्ने अवस्था छ...’ यसरी आफ्नो पीडा व्यक्त गर्दै थिए, रफिक । उनीहरूका छोराछोरी गत वर्षसम्म निजी विद्यालयमा पढ्दै आएका थिए । तर, यो वर्षदेखि सबैलाई सरकारी स्कुलमा लगेर भर्ना गरिएको उनीहरूको दाबी थियो । 

जीविकोपार्जन गर्न नै समस्या छ भन्नुहुन्छ अनि छोराछोरीलाई निजी स्कुलमा पढाइरहेका छौं पनि भन्नु हुन्छ ? कसरी सम्भव भयो ? भन्ने प्रश्नमा अफिदले जवाफ दिए- ‘हाम्रा छोराछोरीले नेपाली भाषा पढेर के गर्छन् ? अंग्रेजी भाषा पढ्न पायो भने पो भोलि तेस्रो मुलुक गयो भने काम लाग्छ । त्यसैले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका हौं ।’

यसका लागि युएनएचसिआरले प्रतिविद्यार्थी १२ हजार रूपैयाँ दिँदै आएको थियो । तर, कोरोना महाकारीको कारण देखाउँदै यो वर्षदेखि कटौती गरेको थियो ।  युएनएचसिआरले उक्त भत्ता कटौती गरेपछि उनीहरू आफ्ना छोराछोरीलाई सरकारी विद्यालय पढाउन बाध्य भए । 

यस्तै एनजिओहरूले समेत बालबालिकाको पढाइएको लागि भन्दै बेलाबखत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छन् । यसरी रोहिंग्या शरणार्थीहरूले बालबालिका विद्यालय पढाउनको लागि एक पैसा पनि खर्च गर्न नपर्ने कुरा थाहा पाइयो । 

जग्गा भाडा पनि निकै महँगो

राम मन्दिरनजिकै ३ रोपनी ३ आना जग्गा भाडामा लिएर ५५ रोहिंग्या परिवार बस्दै आएका छन् । स्थानीय जनक अधिकारीको जग्गालाई रोपनीको वार्षिक २ लाख ८० हजार भाडा तिर्दै आएका थिए । अहिले यो वर्षदेखि भाडा बढाएर ३ लाख ८० हजार पुर्‍याइएको छ । उनीहरूले ९ लाखभन्दा बढी भाडा नै तिर्दै आएका छन् । त्यस्तै, कपनकै अर्को क्षेत्रमा पनि साढे तीन आना जग्गा भाडामा लिएका छन् । जहाँ वार्षिक रोपनीको ३ लाख ८० हजार भाडा छ । त्यहाँ पनि उनीहरूले वार्षिक ९ लाखभन्दा बढी जग्गा भाडा तिर्दै आएका छन् । यसरी हेर्दा दुई शिविरमा उनीहरूले १८ लाख भन्दा बढी भाडा तिर्दै आएका छन् । 

आम्दानी नै नभएपछि त्यत्रो भाडा कसरी तिर्नुहुन्छ ? भन्ने प्रश्नमा जफर मिया भन्छन्- ‘हामीहरूले नै आपसमा संकलन गरेर तिर्ने हो । हामीलाई अरू कसले दिन्छ ? एकदमै समस्या छ । अहिले फेरि घरबेटीले भाडा बढाउने कुरा गर्दै आएको छ । जसले गर्दा हामीलाई थप दबाब छ ।’

यसरी आपसमै संकलन गरेर यत्रो पैसा तिर्न सकिन्छ ? हाम्रो अर्को जिज्ञासा थियो । यसरी अर्को प्रश्न गरेपछि उनले थप कुरा खोल्न चाहेनन् । स्थानीयसँग यस विषयमा बुझ्दै जाँदा उनीहरूको भाडा र सबै व्यवस्थापन आइएनजिओले गरिदिँदै आएको पाइयो । 

जति कुरा गरे पनि उनीहरूले यथार्थ कुरा बताउन चाहेनन् । यतिसम्म कि उनीहरूले शिविरभित्रै बालबालिकालाई आफ्नो भाषामा पढाउँदा रहेछन् । त्यति मात्र नभएर कुरान पनि सिकाउँदै आएका रहेछन् । स्थानीय भन्छन्- यिनीहरूले शिविरभित्रै निकै विलासी जीवन बिताउँछन् । बाहिरबाट कोही गएर सोध्यो भने एकदमै कमजोर जस्तो बन्छन् ।

म्यानमारमा करोडभन्दा बढीको सम्पत्ति

अफिद ताके सन् २०१२ मा नेपाल प्रवेश गरेका हुन् । उनी सबैभन्दा पहिला नेपाल आएका थिए । दुई वर्ष बंगलादेश बसेर नेपाल आएका उनलाई त्यो बेला नेपाल देश भन्ने पनि थाहा थिएन । सोध्ने क्रममा नेपालबारे जानकारी पाएर उनी भारतबाट नेपालतिर प्रवेश गरेका थिए । 

अहिले राम मन्दिर नजिकै शिविरमा श्रीमती र तीन छोराछोरीसहित बस्दै आएका उनी म्यानमारका करोडपति थिए । ५० विघाभन्दा बढी जग्गा थियो । पसल थियो । सयभन्दा बढी खसीबाख्रा थिए । जग्गा तथा व्यापार-व्यवसायको माया मारेर उनी भागेका थिए । राति भाग्ने बेला उनले ती खसीबाख्रा तथा वस्तुभाउलाई गोठभित्रै हुलेका थिए । 

म्यानमारका करोडौंको सम्पत्तिका मालिक अफिद अहिले शिविरमा शरणार्थीको जीवन बिताइरहेका छन् । नेपाल आउने बेला श्रीमती र दुई छोराछोरी मात्र थिए । नेपाल आएपछि एउटा छोरो जन्मियो । अहिले उनका तीनै छोराछोरी स्कुल पढ्छन् । 

विगतको आफ्नो जीवनशैली र सम्पत्ति सम्झेर अफिद बेलाबेला भावुक हुन्छन् । तर, भाग्यले दिएको पीडा भोग्नै पर्छ । जुन कुराबारे उनी जानकार छन् । त्यसैले त उनी भन्छन्, ‘हाम्रो भाग्यमा यस्तै लेखेर आएको रहेछ । जबसम्म दुःख भोग्नुपर्ने लेखिएको छ, भोग्दै जाने हो । हाम्रो पनि त राम्रो दिन आउला नि ।’

यसरी कुराकानी गर्ने क्रममा उनीहरूबारे धेरै कुरा बुझ्ने प्रयास गर्‍याैं । तर, खुलेर कुरा गर्न मानेनन् । जसलाई जे मन लाग्यो त्यही बोल्न नपाउने उनीहरूको नियम रहेछ। 

नेपालमा १४ जोडीको विवाह

सन् २०१२ मा नेपाल प्रवेश गर्दा उनीहरू तीन परिवारका ११ जना थिए । तर, अहिले सयभन्दा बढी परिवारका ४१४ जना बस्छन् । उनीहरूमध्ये नेपालमै आएपछि १४ जनाले विवाह गरेका छन् । जफर मियाका अनुसार नेपाल आएपछि १४ जना केटाकेटीले विवाह गरेका छन् । ‘छोराछोरी हुर्किएर ठूलो भएपछि विवाह गर्नैपर्छ । नेपाल आएपछि हाम्रा १४ जोडी छोराछोरीले विवाह गरेका छन्,’ जफर मियाले भने । 

बस्ने नेपालमा, सपना अमेरिकाको 

केही वर्षअघि नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थी अमेरिका जान पाए । अमेरिकाले उनीहरूलाई शरण दिएपछि अब त्यहीँका नागरिक बनेका छन् । उनीहरू अमेरिका गएसँगै रोहिंग्या शरणार्थीहरूले पनि त्यही सपना देख्दै आएका छन् । उनीहरूको पहिलो माग नै तेस्रो मुलुक प्रतिस्थापन हो । 

त्यसैले त आफ्ना छोराछोरीलाई समेत सरकारी विद्यालयमा पढाएर के काम भन्दै निजी स्कुलतिर पढाइरहेका छन् । जफर मिया भन्छन्, ‘हाम्रो पहिलो माग भनेकै राम्रो देशमा हामीलाई लगेर पुनःस्थापित गराउनुपर्ने हो । हामी म्यानमार नै फर्किएर बस्न सक्ने अवस्था छैन । त्यसैले हामीलाई अमेरिका, बेलायत, अस्ट्रेलियाजस्ता धनी देशमा पुनःस्थापना गरियो भने राम्रो हुन्छ ।’

यसरी उनीहरूको सपना, उनीहरूको जीवनशैली र बाहिर देखाउने व्यवहारमा निकै भिन्न पायौं । उनीहरूको तुलना काठमाडौंकै विभिन्न ठाउँमा बस्दै आएका सुकुम्बासीसँग पनि हुन्छ । सुकुम्बासीहरू दिनभर काम गरेर बेलुका एक छाक खाना पनि जोगाएर खानुपर्ने अवस्थामा हुन्छन् । तर, उनीहरू भने दिनभर केही काम नगर्ने, मोबाइल चलाएर बस्ने मात्र गर्दा पनि जीवनशैली विलासी छ । 

यतिखेर म्यानमारबाट भागेर नेपाल पसेका शरणार्थीको जीवन, तिनीहरू कसरी यहाँसम्म आए, तिनलाई कसरी तेस्रो मुलुकमा प्रतिस्थापन वा तिनकै जन्मथलो फर्काउने भन्ने सवालको जवाफ कसैसँग पनि छैन । दिनप्रतिदिन रोहिंग्या शरणार्थीको संख्या बढ्दै छ । तर, नेपाल सरकार यस विषयमा मौन छ ।

याे पनि पढ्नुहाेस् :

३ लाख तिरेर नेपाल आउँदै रोहिंग्या, अमेरिका पठाउने सपना देखाउँदै दलाल

  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार ११:५०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया