कांग्रेसको गाउँनगर अधिवेशन : प्रदेश १ मा देउवा पक्षलाई झड्का, गच्छदारलाई भाइले नै दिएनन् साथ

नेपाली कांग्रेसको गाउँनगर अधिवेशन सम्पन्न भएका प्रदेशका जिल्लामा संस्थापन इतर बलियो देखिएको छ । मोरङबाहेकका अन्य १३ जिल्लामा कांग्रेसको गाउँनगर अधिवेशन सम्पन्न भएका छन् । 

गाउँनगर अधिवेशन सम्पन्न भएकामध्ये धेरै जिल्लामा पौडेल-कोइराला पक्ष बलियो देखिएको छ । ती जिल्लाका धेरै स्थानीय पालिकामा पौडेल-कोइराला पक्षका सभापति र उपसभापति चुनिएका छन् । धेरै क्षेत्रीय प्रतिनिधि रहेका झापा र सुनसरीमा कोइराला-पौडल पक्षका सभापतिले जितेका छन् । पहाडी जिल्लामा पनि त्यही अवस्था देखिन्छ । 

कांग्रेसको १४ औँ अधिवेशअन्तर्गत भएको गाउँनगर अधिवेशनमा सुनसरीमा देउवा पक्षलाई ठूलो धक्का लागेको छ । सुनसरीका १२ स्थानीय तहमध्ये २ वटामा सस्थापन पक्षले सभापति जितेको छ । बाँकी ९ वटा स्थानीय तहको नेतृत्व पौडेल–कोइराला पक्षमा गएको छ । 

एक स्थानीय तहमा नेतृत्व चयन हुन बाँकी छ । क्षेत्रीय प्रतिनिधि धेरै रहेको झापाका १५ वटै स्थानीय तहमा देउवा पक्षले नेतृत्व लिन सकेन । झापामा कृष्ण सिटौला पक्षले धेरै स्थानीय तहमा नेतृत्व हत्याएको छ । 

१४औँ महाधिवेशनअन्तर्गत झापाका १५ मध्ये ११ पालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको छ । चार पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ । पालिकास्तरीय अधिवेशनबाट कचनकवल, बुद्धशान्ति, हल्दिबारी र झापा गाउँपालिकामा निर्विरोध नेतृत्व चयन भएको हो । बाँकी पालिकामा भने निर्वाचनबाट पदाधिकारीको टुङ्गो लागेको हो ।

निर्वाचन र सर्वसम्मत दुवैबाट संस्थापन पक्ष देउवा पक्षका उम्मेदवार नेतृत्वमा आउन सकेनन् । धनकुटामा पनि चार वटा पालिकामा संस्थापन इतरका सभापति निर्वाचित भएका छन् । 



२ वटामा देउवा लाइनका सभापति नेतृत्वमा आएका छन् । सात वटा पालिका रहेको धनकुटामा एउटामा निर्वाचन हुन बाँकी छ । संखुवासभामा भने देउवा पक्ष बलियो देखिएको छ । त्यहाँका १० वटा पालिकामध्ये २ वटामा निर्वाचन भएको थियो । खाँदबारी नगरपालिका र मकालु गाँउपालिका बाहेक ८ वटा पालिकामा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । 

उदयपुरमा पनि देउवा पक्ष बलियो देखिन्छ । उदयपुरका ८ वटा पालिकामध्ये ५ वटामा देउवा पक्षका सभापति निर्वाचित भएका छन् । तीन वटामा भने पौडेल कोइराला–पक्षले नेतृत्व पाएको छ । वडा तहदेखि नै गुटगत प्रतिस्पर्धा रहेको कांग्रेसमा क्षेत्रीय प्रतिनिधि छनौटमै लाइन गत उम्मेद्वार बनेका थिए । 



भाईले साथ छोड्दा गच्छदारलाई झड्का 

देउवा पक्षका प्रभावशाली नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, उपसभापति विजय गच्छदार र मीन विश्वकर्माको गृह जिल्ला सुनसरीमा देउवा पक्षलाई झड्का लागेको छ ।महाधिवेशनको रस्साकस्सीमा विजय गच्छदारलाई साथ छोडेर उनका भाई वेद गच्छदार पौडेल–कोइराला लाइनमा उभिएका छन् । उनी पौडेल–कोइराला समूहमा गएसँगै सुनसरी क्षेत्र नम्बर ३ मा रहेका पालिकासमेत विजय गच्छदारको हातबाट बाहिर गएका छन् ।   

वेदका कारण दुहवी नगरपालिका, वर्जु र गढी गाँउपालिकामा समेत  गच्छदारले आफूले चाहेका सभापति जिताउन सकेनन् । वेद गच्छदारले लाइन परिवर्तन गरेपछि दुहवी नगरपालिकामा भएको अधिवेशनमा विजयले उठाएका टेकचन्द्र विश्वास पराजित भए । 

उनलाई दुहवीका मेयरसमेत रहेका वेद गच्छदारले हराए । वेद विजयका भाइ हुन् भने टेकचन्द्र विश्वास गच्छदारका साइनोमा सम्धी नाता पर्छन् । दुहवीमा वेदले १६४ र टेकचन्द्रले ६९ मत प्राप्त गरे । घरैमा विजय गच्छदारले पराजय भोग्दा उनको क्षेत्र बर्जु गाउँपालिका र गढीमा पनि उनी इतरका सभापति आएका छन् । 

बर्जुका कृष्ण संग्रौला र गढी गाउँपालिकाका कमल चौधरी पनि वेदका कारण पौडेल–कोइराला समूहमा गएका छन् । सुनसरी क्षेत्र नम्बर ३ मा विजय गच्छदारभन्दा वेद गच्छदार अधिवेशनमा प्रभावशाली देखिएका छन्  । करिब डेढ बर्ष भूमिगत अवस्थामा रहेर अधिवेशनको दुई दिनअघि जिल्ला आएका  गच्छदारलाई वेदले मात्रै नभइ उनीनिकटका नेता कोविदजंग कार्कीले समेत साथ छाडेका छन् । 

कार्कीले गुट परिवर्तन गरेर पौडेल–कोइराला समूहबाट इटहरी उपमहानगरको उपसभापति जिते । विजय गच्दारलाई पटकपटक उम्मेद्वार मिलाउन र पार्टीभित्रको लाइन मिलाउन आग्रह गर्दा पनि व्यवस्थापन गर्न नचाहेपछि वेदले लाइन छाडेको कांग्रेस कार्यकर्ता बताउँछन् । 

वेद नगर सभापति दोहोर्‍याउन चाहन्थे । तर वेदको स्थानमा टेकचन्द्रलाई सभापति बनाउन विजयले चाहेपछि दाईको साथ छाड्दै वेद गच्छदारले सभापतिको उम्मेद्वारी घोषणा गरेका थिए । उनलाई दुहवीका १० वटै वडा सभापतिले  नगरको सभापति बन्न दबाब दिएका थिए । यस्तै कांग्रेसमा देउवानिकट भनेर चिनिएका मीन विश्वकर्माको नगरमा समेत देउवा पक्षको हार भएको छ । 

धरान उपमहानगरमा पौडेल–कोइराला पक्षका श्याम पोखरेलको प्यानलै विजयी भएको छ । त्यहाँ देउवा पक्षका किशोर राई प्रतिस्पर्धामा थिए । देउवाका विश्वासिला पात्रको रूपमा रहेका नेविसंघका सभापति राजीव ढुंगानाको नगर इटहरी उपमहानगरमा पनि संस्थापन पक्षले सफलता हासिल गर्न सकेन । एकजना उपसभापति, एक जना सचिव र सहसचिवमा भने देउवा पक्षका उम्मेद्वार विजयी भएका छन् । 

इटहरीमा पौडेल पक्षका हेमकर्ण पौडेल सभापतिमा, कोविजंग कार्की उपसभापतिमा र विक्रम थापा सचिवमा विजय भएका छन् । रामधुनी र इनरुवा नगरपालिकामा पनि पौडेल–कोइराला लइनकै नेतृत्व आएको छ । राधुनीमा सुदीप अधिकारीले सगेन चौधरीलाई हराए भने राजन मेहताले योगेन्द्र प्रसाद मेहतालाई पराजित गरेका छन् । हरिनगरा गाउँपालिकामा नुनु अन्सारी र देवानगञ्ज गाँउपालिकामा जगधर यादव विजयी भएका छन् । 

देउवा समूहको इज्जत ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्रले भने जोगाएको ५ । त्यहाँका दुवै पालिकामा देउवानिकट सभापति विजयी भएका छन् । बराहक्षेत्रका रमेश कार्की र कोशी गाँउपालिकामा भने सुलेमान मन्सुरी विजयी भएका छन् । भोक्राहा गाउँपालिकामा उजुरी परेपछि निर्वाचन स्थगित छ । स्थगित भएको निर्वाचन शनिबार गर्ने तयारी भएको कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले बताए । 

झापामा सिटौलाको दबदबा

कृष्ण सिटौलाको गृहजिल्ला झापामा भने सिटौलाको दबदबा देखिएको छ । १५ पालिकामध्ये १३ वटामा सिटौला लाइनका सभापति छानिएका छन् । दुई वटामा विश्वप्रकाश निकटका सभापति छानिएको भनिए पनि उनीहरू पनि सिटौलासँग  नजिक मानिन्छन् । 

झापाका १५ मध्ये ११ पालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको थियो  । चार पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ । सर्वसम्मत छानिएका कचनकवलका तुलाराम अधिकारी, हल्दिबारीका गंगा प्रसाईं, झापा गाँउपालिकाका सागीरथ गणेश, बुद्धशान्ति गाउँपालिकका चक्र शेर्मा सिटौला लाइनका नेता मानिन्छन् । 

निर्वाचन प्रक्रियाबाट विर्तामोड नगरपालिकामा भोजराज सिटौला नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । उनी कृष्ण सिटौलाका भतिज हुन् । बाह्रदशी गाउँपालिकामा इन्द्र बस्नेत निर्वाचित भएका छन् । दमक नगरपालिकामा सभापति पदमा प्रकाश प्रसाईं निर्वाचित भए । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५/६५ मत ल्याएर बराबरी भएको छ । बराबरी मत पाएपछि गोलाप्रथावाट न्यौपाने विजयी भए

कनकाई नगरपालिकामा दुर्गा प्रसाईं निर्वाचित बनेका छन् । गौरीगञ्ज गाउँपालिकामा सभापति पदका लागि आग्नुप्रसाद राजवंशी निर्वाचित भए । गौरादह नगरपालिकामा भने सभापति पदमा यादव सेढाई, मेचीनगरको सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । भद्रपुर नगर समितिको सभापतिमा रामबहादुर कँडेल र शिवसताक्षीमा अशोक बस्नेत निर्वाचित भएको नेपाली कांग्रेस झापाले जनाएको छ ।

सभापतिमा छानिएका शिवसत्ताक्षी र मेचीनगरका सभापति भने विश्वप्रकाशनिकट मानिए पनि कृष्ण सिटौलसँग पनि उत्तिकै नजिक देखिन्छन् । उनीहरूले अहिले नै लाइन क्लियर नगरेकाले सभापतिमा सिटौला उठे उनलाई सहयोग गर्ने झापाका कांग्रेसका नेताहरूले बताएका छन् ।   

पहाडमा पनि सन्तोष छैन देउवालाई  

कांग्रेसको गाउँनगर अधिवेशनको मत परिणामलाई हेर्दा सस्थापन पक्षलाई पहाडी जिल्लामा पनि असहज भएको छ । संखुवासभामा देउवा पक्ष बलियो देखिएको भनिए पनि बढी क्षत्रीय प्रतिनिधि भएको इलाम धनकुटालगायतका जिल्लामा पौडेल–कोइरला पक्षकै बढी उम्मेद्वारले सभापति जितेका छन् । 

धनकुटामा सर्वसम्मतबाट सभापति छानिएका साँगुरीगढी गाउँपालिका धन राई र छथर जोरपाटी गाउँपालिकाका छत्र सुब्बा पौडेल समूहका हुन । यस्तै निर्वाचनबाट विजयी भएका महालक्ष्मी नगरपालिका ध्रुवराज राया र चौबिसे गाउँपालिकाका गुणराज राई पनि पौडेल समूहका हुन । सर्वसम्मतबाट विजयी हुने पाख्रिवास नगरपालिकाका प्रेम भण्डारी र सहिदभूमि गाउँपालिकाका दिपेश राई भने देउवा समूहका हुन । 

सर्वसहमतका लागि भन्दै पटकपटक कार्यतालिका परिर्वतन गरिएको धनकुटा नगरपालिकामा अनिश्चितकालिन निर्वाचन प्रक्रिया स्थगित भएको छ । निर्वाचन अधिकृत सुन्दरकुमार श्रेष्ठले राजीनामा दिएपछि निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको हो । 

कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले मतदान अधिकृतको राजीनामा स्वीकृत नभएकाले उसैले मतदान प्रक्रिया अघि बढाउने बताए । धनकुटा नगरपालिकामा अभिषेक कर्माचार्य र नरेश श्रेष्ठ आकांक्षी रहेका छन् । उनीहरू दुवैजना देउवा समूहका हुन् । इलाममा पौडेल पक्षको वर्चस्व देखिएको छ । १० पालिकामध्ये सात वटामा पालिकामा पौडेल–कोइराला पक्षका सभापतिले जितेका छन् । 

इलामका तीर्थ गुरुङ, सूर्योदयका जीवन नेपाल र देउमाई नगर सभापतिमा निर्वाचित दिलिप कार्की पौडेल पक्षका हुन् । माइ नगरपालिकामा भने देउवा पक्षका होमबहादुर लिम्बूले जितेका छन् ।​

माङसेबुङमा चन्द्र साम्बा, सन्दकपुरमा तुला गुरुङ, रोङ गाँउपालिकाका हरि बुढाथोकी, र चुलाचुलीका राजेन्द्र केरुङ पौडेल पक्षका हुन् । फाकफोकथुमका डिकबहादुर थापा, माइजोगमाईका नरेन्द्र देवान देउवा पक्षका सभापति मानिन्छन् । 

मोरङमा कसले मार्ला बाजी ?

कोइराला परिवारको गृह जिल्ला मोरङमा भने कांग्रेस महाधिवेशन रोचक मोडमा पुगेको छ । क्रियाशील विवाद समयमै नटुंगिएका कारण ढिला भएको वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधि चयन गरेको छ । 

प्रतिनिधि छानौटलाई हेर्दा पौडेल–कोइराला पक्ष हावी भएको बताइन्छ । यसमाथि देउवाका विश्वासिला पात्र डिगबहादुर लिम्बूले देउवाको साथ छोड्दै पौडेल–कोइराला पक्षबाट सभापति लड्ने तयारी गरेका छन् । 

अघिल्लो अधिवेशनमा कोइरालाको गृह जिल्लामा देउवा लाइनबाट उम्मेद्वार बनेर डिगबहादर लिम्बू सभापति भएका थिए ।  असोज १६ गते मोरङमा गाउँनगर अधिवेशनको तयारी भएको कांग्रेसले जनाएको छ । केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार प्रदेश १ का सबै पालिकामा विवादरहित रूपमा गाउँनगर अधिवेशन सम्पन्न भएको छ । 

‘सबै नगर गउँपालिकाको अधिवेशन सम्पन्न भएको जानकारी आएको छ,’ उनले भने, ‘मोरङमा केही क्रियाशील विवादका कारण वडा अधिवेशन ढिला हुँदा गाउँ नगर अधिवेशन ढिला हुन गएको हो ।’ मोरङमा १७ वटा पालिका छन् । ती सबै पालिकामा अहिलेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छैन । 
 

  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १६:३२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया