सर्वोच्च अदालतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक नेता मृत्यु प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न आदेश दिएको छ ।
पौडेल ५ असार ०७६ मा लालबन्दी–१ लखन्देही खोलादेखि पूर्वको जंगलमा मारिएका थिए । विप्लव नेकपाका तत्कालीन सर्लाही इन्चार्ज कुमार पौडेल ‘इन्काउन्टर’मा मारिएको बताइए पनि उनको हत्या भएको दाबी गर्दै मृतककी आमा दुर्गादेवी पौडेलले अनुसन्धान र कारबाहीका लागि दिएको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको थियो ।
जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगको उच्चस्तरीय छानबिनले पनि पौडेलको मृत्यु नभएर इन्काउन्टरका नाममा टाउकोमा गोली हानेर हत्या गरिएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । आयोगले हत्या आरोपितलाई निलम्बन गरी फौजदारी कसुरमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।