जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड अपनाएर सभा सम्मेलन गर्न कुनै बन्देज नलगाइएको प्रष्ट पारेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिअनुसार सभा, सम्मेलन र धार्मिक सांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाडपर्व लक्षित अन्य क्रियाकलाहरू स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्न/ गराउनमा कुनै बन्देज नलगाइएको जनाएको छ ।
यसअघि जिल्ला प्रशासनले असोज १४ गते प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा घर बाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि गर्न रोक लगाएको थियो ।
उक्त आदेशपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सभा सम्मेलन गर्न रोक नलगाइएको प्रष्ट पारेको थियो । प्रवक्ता फणिन्द्रमणि पौडेलले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको आदेशको खण्डन गरेका थिए ।
नेपालको संविधान, प्रचलित कानुन र कोभिड-१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको गृह मन्त्रालयले प्रष्ट पारेको थियो ।
गृह मन्त्रालयको विज्ञप्तिपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को विज्ञप्ति जारी गर्दै आफ्नै आदेशको खण्डन गरेको हो ।
आजदेखि नेकपा एमालेको पहिलो विधान महाधिवेशन हुँदैछ । जिल्ला प्रशासनको आदेशपछि विधान महाधिवेशनबारे सर्वत्र चासो व्यक्त भएको थियो ।
गृह मन्त्रालयले नै विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारीको आदेशको खण्डन गरेको हो । सम्भवतः यसरी गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशको खण्डन गरेको पहिलो पटक हुनसक्छ ।
मन्त्रिपरिषद् बैठकले नै कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा निषेधाज्ञा जारी गर्ने वा नगर्ने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
सोही आधारमा प्रजिअले असोज १४ गते राति १२ बजेदेखि लागू हुनेगरी आदेश जारी गरेका थिए । उक्त आदेश लागू हुन नपाउँदै गृह मन्त्रालयले खण्डन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।