द्वन्द्वमा अपांगता भएका सहायक प्रहरी निरीक्षक किशोर अपांगतालाई रोजगारी दिन तल्लीन

कालिकोटको खाडाँचक्र नगरपालिका-६ दाहाँमा २०३५ सालमा जन्मिएका किशोर शाही नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक हुन् । नेपाल प्रहरीमा २०५८ सालमा सहायक प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवा प्रवेश गरेका शाहीको २०६१ माघ १४ गते गस्तीमा रहेका बेला तत्कालीन माओवादी सेनासँग कैलालीको मुसुरियामा दोहोरो भिडन्त भयो । 

भिडन्तमा परी उनको ढाँडमा गोली लाग्याे । ‘स्पाइनल कर्ड इन्जुरी’काे समस्याले उनको शरीरको तल्लो भाग चल्दैन । १६ वर्षयता ह्विलचेयरको सहारामा उनी यताउती गर्छन्। 

कर्णालीका एक लाख ६० हजार अपांग रहेका छन् । जसमध्ये विगतकाे द्वन्द्वमा परी कयाैं अपांग भए । द्वन्द्वरत पक्ष नै सरकारमा रहँदा पनि केही गर्न नसकेकाे गुनासाे शाहीकाे छ ।

उनी भन्छन्, ‘हिजो माओवादी विद्रोही थियो । अहिले ऊ सत्तामा छ । अपांगताका पक्षमा के काम गर्नुभएको छ । मलाई केही थाहा नै छैन । म त सरकारको तलव खाएर जीवन धानिरहेको छु । माओवादी जनयुद्धमा लागेर घाइते तथा अपांगता भएका व्यक्तिहरूको झन् बेहाल अवस्था छ । तिनीहरूलाई सम्झेर पनि उहाँले केही न केही गर्नुपर्थ्याे ।’

त्यो बेला माओवादी जनयुद्धमा गाउँगाउँका युवाहरूलाई लगेको, उनीहरूलाई विभिन्न सपना देखाइएको, जनयुद्धका नेतृत्वकर्ताले अहिले आफूले मात्र फाइदा लिएको, जनयुद्धमा लागेका योद्धा, घाइते, अपांगता भएका व्यक्तिको अवस्था नाजुक रहेको किशोरले बताए । 

‘माओवादी जनयुद्धमा लागेको नेताहरूले राम्रो फाइदा लिए । घाइते अनि अपांगता भएका व्यक्तिलाई केही गरेनन्’, उनले भने, ‘सरकारमा रहेका बेलामा त घाइते तथा अपांगता भएका व्यक्तिहरूलाई रोजगारमूलक क्षेत्रमा सीप सिकाउन लागि तालिम दिन त सकिन्थ्यो होला ।’



कम्युनिस्टहरूको सरकार स्थानीय तहदेखि केन्द्रसम्म हुँदा पनि अपांगता भएका व्यक्तिलाई केही काम गर्न पनि नसकेको किशोरको गुनासो छ । 

‘मैले कर्णालीका मुख्यमन्त्री शाहीलाई भेटेर पनि अपांगता भएका व्यक्तिहरूलाई सीप सिकाउन पहल गर्नुपर्‍यो भनेँ । तर, सरकारले हालसम्म पनि केही गर्न सकेको छैन’, शाहीले भने।



अपांगता भएका नागरिकलाई सीप 

किशोर आफू ह्विलचियरमा हिँडे पनि आफूजस्तै अपांगता भएकालाई रोजगारमूलक क्षेत्रमा सीप सिकाउने अभियानमा रहेको छन् ।

वीरेन्द्रनगर-४ तातोपानीमा बस्दै आएका शाहीले केही समय १५ जना अपांगता भएकालाई साढे १३ महिनासम्म सिलाइकटाइ सम्बन्धी तालिम संचालन गरेर अहिले सबै जनाले आफै काम गरेर खान सक्ने भएको बताए ।

उनले भने, ‘अहिले सबै जना रोजगारीको क्षेत्रमा लागेका छन् । केहीलाई अटो चलाउने तालिम दिएका थियौं । उनले पनि काम गरिरहेका छन् ।’

अपांगता भएकालाई खेल क्षेत्रमा पनि लगाउन सकिने भन्दै उनले ह्विलचेयर बास्केट बल, क्रिकेट, स्विमिङ धरान, पोखरा, चितवन लगायतका जिल्लामा प्रतिस्पर्धा गराएको समेत बताए ।

कृषिक्षेत्रबाट पनि अपांगता भएकालाई रोजगारी उपलब्ध गराउन सकिने उनको भनाइ छ । ‘४० जना अपांगताको समूह दर्ता गरेर वीरेन्द्रनगरको कोलडाँडामा कृषि समूह दर्ता गरेका छौं’, उनले भने, ‘त्यहाँबाट पनि केहीलाई रोजगारी उपलब्ध गराउने योजना रहेको छ ।’

गृहजिल्ला कालिकोटमा अपांगता भएका नागरिकलाई केही गर्ने सोच रहेको बताउँदै किशोर भन्छन्, ‘म आफ्नो गृहजिल्ला कालिकोट गएर त्यहाँ अपांगता भएका व्यक्तिहरूलाई केही गर्ने सोचेको छु । कालिकोट विकट छ । सुर्खेतमा मजस्ता अपांगता भएकाले ह्विलचियर लगायतका अन्य साधनमा हिँड्न सक्छन् । कालिकोटमा घरमा नै बस्नुपर्ने बाध्यता छ । उनीहरूको आत्मविश्वासलाई अझ मजबुत बनाएर सीपमूलक तालिम सिकाउने योजना रहेको छ ।’ 

सरकारले केही गर्न नसके पनि आफूले सक्दो कोसिस गरिरहेको शाहीको भनाइ छ । भविष्यमा आफ्नो अभियानलाई अझ सशक्त तरिकाले अगाडि बढाउने योजनामा शाही रहेका छन् ।
 

  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १८:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया