[संस्मरण] मैले राजा महेन्द्रको हातबाट तक्मा लिन इन्कार गरें
फरकधार / १६ असोज, २०७८

तानसेनस्थित पद्माेदय बहुउद्देश्यीय माध्यमिक विद्यालयमा १० कक्षामा पढ्दै गर्दा सरकारले ‘पूर्व-पश्चिम राजमार्ग, नेपालीको भाग्यरेखा’ भन्ने निबन्ध प्रतियोगिता गर्‍याे । मैले पनि निबन्ध लेखेँ । पहिलो हुनेलाई स्वर्ण पदक दिने भनिएको थियो । निबन्ध लेखेर पठाएपछि दसैं तिहारको घर विदामा स्याङ्जा गएँ । त्यतिखेरै म स्वतन्त्र विद्यार्थीको अध्यक्ष पनि थिएँ । त्यो बेलामा सुन्नका लागि रेडियो नेपाल मात्रै थियो । ठ्याक्क खोलेको निबन्धको रिजल्टको समाचार पो आउँदै रहेछ । समाचार पूरै सुनेँ । म प्रथम भएछु । असाध्यै खुसी लाग्यो ।



राजा महेन्द्रले पनि मेरो निबन्ध पूरै पढेछन् । उनैले पूर्व-पश्चिम राजमार्गको शिलान्यास गैंडाकोटमा गरे । अहिलेका शताब्दी पुरूष सत्यमोहन जोशीको त्यसबेला नेतृत्वमा निबन्ध लेखन प्रतियोगिता भएको रहेछ ।

उहाँले निबन्ध पाठ गरेर सुनाउनु भएछ । खुसी लाग्यो । साथीहरूले बधाई दिए । निबन्धको तक्मा (स्वर्ण पदक) लिन मलाई काठमाडौंमा बोलाइयो । तर, म काठमाडौं गइनँ । नजानुको कारण, २०१७ साल पुस १ गते राजा महेन्द्रले जनताले चुनेका प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेर दलहरूमाथि प्रतिबन्ध लगाउँदै ‘कू’ गरेका थिए । तानाशाहको हातबाट म तक्मा लिन्नँ भन्ने मनमा आयो र लिइनँ पनि ।

त्यहींबेला बिपी, गणेशमान, किसुनजीलगायत नेतालाई पक्रेर थुनिदिए । मलाई साथीहरूले भनेका थिए- ‘गोपालमानजी, तपाईं जानुपर्छ, राजाको हातबाट तक्मा लिनपर्छ ।’ तर, मैले मानिनँ ।
 
२०१७ साल पुस १ को घटनाले १०४ वर्षे राणाशासनविरूद्ध लडेर अग्रजहरूले ल्याएको प्रजातन्त्रको गला निमोठ्ने व्यक्तिको हातबाट लिन्नँ भनेर काठमाडौं गइनँ । तर, तक्मा दुई महिनापछि केदारमान व्यथितले ‘म पाल्पा आएँ, बुटवलसम्म आइदिनुहोस्’ भनेपछि उनको हातबाट लिएको थिएँ । राजा महेन्द्रको उक्त कदमले ममा यति विद्रोह जागेर आयो कि पञ्चायत र राजा महेन्द्रको कदमविरूद्ध उभिन थालेँ ।



२०२० सालमा मैले एसएलसी पास गरेँ । त्रिचन्द्र कलेजमा २०२१ मा पढाइ सुरू भयो । त्यहाँ विद्यार्थी आन्दोलनको अग्रमोर्चामा रहेँ म । बेलामौकामा प्रहरीले हिरासतमा लान्थ्यो र छाड्थ्यो । तानसेनमा पढ्दादेखि नै विद्यार्थी आन्दोलनमा लागेको थिएँ, त्रिचन्द्र कलेज पुगेपछि पनि कायमै रह्यो । त्यहींबेला मेरो जिल्ला (स्याङ्जा)वासी कति विद्यार्थी छन् त भ्यालीभित्र ? थाहा पाउन जमघट आयोजना गरेँ । अन्ततः स्याङ्जाली विद्यार्थीहरूको संगठन चाहिन्छ भनेर ‘स्याङ्जा विद्यार्थी संघ’ गठन गरेँ । संघको विधान तयार गरेँ । नेतृत्वदायी भूमिकामा रहेँ ।
 
२०२५ सालमा गण्डकी छात्र समिति गठन भयो । त्यसबेला नेपाल विद्यार्थी संघ गठन भएको थिएन । वैधानिकता पाएको थिएन । स्ववियु पनि जबर्जस्ती खोलिएको हो । हामी प्रशासनको कोपभाजनमा पर्थ्याे । कलेजका प्रमुखको पनि कोपभाजनमा पर्थ्याे । स्ववियु मागिरहेका थियौं । 

पूर्वी क्षेत्रमा सगरमाथा विद्यार्थी संघ, सुदूरपश्चिम क्षेत्रमा सुदूरपश्चिम विद्यार्थी संघ र हाम्रो गण्डकी अञ्चलको गण्डकी छात्र समिति गठन भयो त्यसबेला । 
छात्र समितिको म निर्वाचित सभापति भएँ । ‘विवेकविन्दु’ र स्याङ्जा विद्यार्थी संघको ‘आँधिखोला’ पत्रिका चलायौं । म त्यसमा लेख्थेँ पनि ।

०००

२०२५ सालमा बिपी जेलबाट छुट्नुभयो, आठ वर्षपछि । सुवर्ण शमशेर कार्यवाहक समापभातिको ‘स्टेटमेन्ट’लाई स्वागत गर्दै छुट्नुभएको थियो उहाँ । मैले चाबहिल गएर बिपीलाई भेटेँ । सामूहिक फोटो पनि खिचिएको याद छ । उहाँले हामीलाई धेरै कुरा बताउनुभयो । त्यसपछि बिपी विराटनगर जानुभयो । त्यहाँ गएपछि उहाँले ‘एलिट क्लब’मा एउटा भाषण गर्नुभयो । ‘म र राजा मिल्यौं भने र मेरा कुरा राजाले सुने भने यो देशमा पुनः प्रजातन्त्र आउँछ र यहाँको सबै समस्याको अन्त्य हुन्छ’ भन्नुभयो ।
 
यति बोलेपछि उहाँलाई कतिपयले भने‘ बिपीबाबु ! तपाईंलाई राजाले फेरि थुन्ने भए । यो कुरा सुनेपछि उहाँ विराटनगरबाटै भारततिर लाग्नुभयो । अनि, हामी बिपीले भनेको कुरालाई बाहिर प्रचार गर्नतिर लाग्यौं । त्यसबखत प्रधानमन्त्री थिए सूर्यबहादुर थापा । उनले के ‘च्यालेन्ज’ के गरे भने- ‘को हो बिपीबाबु ? राजा र मेरो कुरा मिले सबै कुरा मिल्छ भन्ने ?’ त्यसबेला बिपी र त्रिभुवनलाई हामी प्रतीक मान्थ्यौं । 

फागुनको ७ गते पनि आयो । मेरो सभापतित्वमा प्रजातन्त्र दिवस मनायौं । मैले प्रधानमन्त्री सूर्यबहादुरलाई कडा शब्दमा जवाफ दिएँ, ‘बिपी भनेको दुईतिहाइ जनताको प्रतिनिधित्व गर्ने नेता हो । उहाँको नेतृत्वमा २०१५ सालमा निर्वाचनबाट एकल पार्टीले दुईतिहाइ बहुमत प्राप्त गरेको हो । उहाँलाई १८ महिना शासन गर्न नपाउँदै अपदस्त गरियो । बिपी जनताको प्रतिनिधि हो ।’

यो भाषणपछि मेरो खोजी भएछ । अनि, म आफ्नो डेराबाट न्युरोडतिर निस्किने क्रममा असनदेखि नै मेरो पछाडि सिआइडी लागेछ । एक जना साथीले मलाई बोलाएका थिए । तर, गिरफ्तारीमा परेँ । हनुमानढोका लगेर राखियो । त्यस दिन मेरो परीक्षा थियो । 

पढ्ने वातावरण हनुमानढोकामा भएन । टुकी थियो । त्यहाँ मलाई थर्काउने/तर्साउने प्रयास भयो । मैले टेरिनँ । पढ्न सक्ने कुरा थिएन, तर परीक्षा भने दिएँ, पुलिस क्लबमा गएर । त्यसपछि मलाई नख्खु सारियो । त्यहीँ २०२५ सालमा किसुनजीसँग भेट भयो । बिपी छुटिसक्नु भएको थियो । उहाँ छुट्न मान्नु भएन । ‘म त सभामुख हो । म पार्टीदेखि अलग हो । सुवर्ण सभापतिको वक्तव्य स्वीकार्नुपर्ने आवश्यकता छैन,’ भन्नुभयो । त्यही भएर छुट्नु भएन । फेरि, एक्लै सुन्दरीजलस्थित जेलमा राख्ने कुरा पनि भएन । अनि, नख्खु पनि सारै टाढा लाग्थ्यो त्यसबेला । पूरै झाडी थियो । अहिले पो सहर भयो त ! मैले बिपीलाई २०१६ सालमा भेट्या हुँ । उहाँले भविष्यको नेता भनेर सुम्सुम्याउनुभयो मलाई । गणेशमानजीसँग निर्वाचनको बेला भेट भएको हो । भद्र अवज्ञा आन्दोलन २०१४ सालमा हुँदा म सानै थिएँ । त्यसमा भाग लिएको सम्झना छ । 

किसुनजीसँग नख्खुमै चिनजान भयो । कुरा गरें । अनि, केही महिना सँगै बस्यौं । त्यहाँबाट छुटेपछि भने मैले राजनीति सुरू गरेको हूँ । लगत्तै स्याङ्जा गएँ । त्यहाँ ‘तरूण क्लब’ गठन गरेँ । तरूण क्लब ‘सिम्बोलिक’ हुन्छ भनेर नाम राखेका हौं । तर, तरूण क्लब गठन गर्दागर्दै महेन्द्रले राज्यसत्ता ‘टेकओभर’ गरे ।

तरूण पत्रिका हिन्दुस्तान र बनारसबाट आउँथ्यो । म त्यो वितरण गर्थें । २०२८ सालमा मेरा दाइले म राजनीतिमा निकै सहभागी भयो भनेर भैरहवाको आफ्नो बिजनेस अफिस हेर्न पठाउनुभयो । मलाई झन् सजिलो भयो । भैरहवा त्यो बेला नै विकसित भइसकेको थियो । 

०००

२०२८ फागुन ६ गते राति । बिपीबाट मुलुकभर ‘पम्प्लेटिङ’ गर्न निर्देशन जारी भयो । मैले गण्डकी र धौलागिरी अञ्चलसँगै लुम्बिनीको पहाडी जिल्लाहरूमा पम्प्लेट पठाएँ । रूपन्देही र भैरहवामा पनि पम्प्लेटिङ गर्नुपर्ने भयो । राजा महेन्द्र र पञ्चायतको विरूद्धमा थियो पम्प्लेट । मैले साथीभाइहरूलाई शालिग्राम न्यौपानेको नेतृत्वमा पर्चा छर्न पठाएँ । 

साढे १/२ बजेतिर उठेर पम्प्लेटिङ गर्नुहोला भनेको थिएँ । उहाँहरू बढ्ता निदाउनु भएछ । पम्प्लेटिङ गर्दा झिसमिसे भएछ । प्रहरीले पर्चा छर्दाछर्दै केही साथीहरूलाई भेटाएछ । ‘कसले छोड्न लगायो ?’ भनेर प्रहरीले बयान लिँदा मेरो नाम लिएछन् । 

र, म त्यतैबाट हिन्दुस्तानतिर लागेँ । बिहानीको समय उज्यालो नहुँदै बुटवल पुगेँ । मेरो घर र कोठामा प्रहरी खोज्न पुगेछन् । गोरखपुर हुँदै बनारस पुगेँ म । बिपीबाबु र गणेशमानजीलाई भेटेँ, त्यहाँ पुगेर । उहाँहरूले भन्नुभयो, ‘होइन, गोपालमान ! थुन्छ भनेर तपाईं भागेर आउनुभएको हो ?’ मैले भनेँ, ‘होइन । म जेलभित्र बसेर ठीक हुन्छ कि यहाँ बसेर हुन्छ भनेर सल्लाह लिन आ’को । म त भन्नुहुन्छ भने भोलि नै गएर गिरफ्तारी दिने हो । दिनुपर्ने भन्नुहुन्छ भने म तयार छु ।’ उहाँहरूले ‘त्यसो भए ल बस्नुहोस्’ भन्नुभयो । 

त्यहाँ बस्दा निलाम्बर पन्थीजी र मेरो जिम्मामा गोरखपुर अफिस सञ्चालनको जिम्मा दिइयो । त्यहाँ मैले साथीहरूलाई पालेर राखेँ । होटलको बिल मै तिर्थें । सिनेमा हेर्दाको पैसा तिर्थें । त्यहाँबाट अशोक बाटिकामा तरूण सम्मेलन गर्ने भनियो । त्यो सम्मेलनमा आन्दोलन गर्ने कि नगर्ने ? भन्ने कुरा चल्यो । अन्तिममा आदोलनको निर्णय सम्मेलनले गर्न सकेन । 

गोरखपुर युनिभर्सिटीमा ‘चिफ गेस्ट’ भएर बिपी जानुभयो । त्यतिबेला योगेन्द्रमान शेरचनजीलाई गाडीले कुल्चााएर मार्ने काम भएको थियो । उहाँ कांग्रेसको नेता । घर मुस्ताङ उहाँको । बिपीको मन्त्रिपरिषद्मा उहाँ हुनुहुन्थ्यो । मचाहिँ पछि गोरखपुर-मुजफ्फरपुर-रक्सौल-त्रिभुवन राजपथ हुँदै काठमाडौं पुगेँ । मेरोविरूद्ध देशमा संघसंस्था र राजद्रोहको गरी दुईवटा मुद्दा चलाइसकेको रहेछ । पम्प्लेटिङ गर्दा पक्राउ परेका साथीहरू भैरहवा जेलमै थिए । 

यता आएपछि सुवर्णजीलाई भेटेँ, ललिता निवासमा । भेटेर कुरा राखेँ । करिब २/३ महिना भूमिगत बसेँ । फेरि, पटना सम्मेलन भयो । त्यहाँ गएँ । त्यो सम्मेलनले पनि आन्दोलनबारे केही गरेन । पटनामा रहँदा यता मेरो नाममा ‘वारेन्ट नोटिस’ जारी भइसकेको थियो । मेरो अंश पनि रोक्का भइसकेको थियो । सुवर्णजीले सल्लाह दिनुभयो, ‘देशभित्रै बस्नुपर्छ । कति जेल राख्लान् र ? जेलबाट छुटेपछि काम गर्न पाइन्छ पार्टीको ।’ 

त्यसबेला कुसुमराज र गणेश भन्ने नामुद वकिल हुनुहुन्थ्यो । राजनीतिक मुद्दा उहाँहरूले हेर्नुहुन्थ्यो । सल्लाह गरेरै ‘फ्लाइट’ बाट पोखरा पुगेँ र एकरात घर स्याङ्जामा बसेँ । भोलिपल्ट अञ्चलाधीशको कार्यालय गएँ । अन्ततः मलाई भैरहवा जेलमा राखियो । जेलमा रहेका साथीभाइ भेट हुँदा खुसी भएँ । शालिग्राम न्यौपानेलगायत साथीभाइ थिए । त्यहाँ केही महिना बसेपछि बिएको परीक्षा बाँकी थियो । परीक्षा दिन ‘सेन्टर जेल’मा पुगेँ । त्यसबेला पनि किसुनजी पक्राउ पर्नुभएछ । उहाँ कहिल्यै पनि देशबाहिर जानु भएन । फेरि, उहाँ अंग्रेजीमा पोख्त हुनुहन्थ्यो । उहाँले जेलमै ‘गाइड’ गर्नुभयो । पढेँ र जेलबाटै परीक्षा दिएँ । बिए पास गरें ।

०००

नारायणहिटी दरबार र सिंहदरबारबाट गरी द्वैध शासन भयो भनेपछि सूर्यबहादुर थापाजी पक्राउ परे । कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए । थापाजीलाई थुनेर राख्ने काम भयो । रामराजाप्रसाद सिंह पनि हुनुहुन्थ्यो । जेलमै सूर्यबहादुरजीले अनसन थाले । इन्दिरा गान्धी नेपाल आउनु भएको थियो । अहिले सम्झिँदा गान्धी आउँदा छोड्छ भन्ने लागेर अनशन थालेको होला ।

त्यहीबेला मेरो मुद्दाको फैसला भयो र सजाय भयो । फैसलाविरूद्ध पुनरावेदन गर्न पुनरावेदन अदालत पोखरा गएँ । मैले दुई वकिल कुसमजी र गणेशजीलाई लगेर बहस गराएँ । रामराजाप्रसाद सिंहलाई एउटा मुद्दा सरकारले लगायो । जेलमै एक जना प्रहरीको मृत्यु प्रकरणमा । प्रदीप गिरिजीलाई पनि मैले जेलमै भेटेको हो । उहाँले आन्दोलनको क्रममा गोपालमानजी जेलमा आउने पहिलो नेता भनेर भन्नुभयो । यो कुरा २०२५ सालको हो । 

२०२७ सालमा त नेविसंघले वैधता पायो । म संस्थापकमध्येको एक हूँ । त्यसपछि जिल्लाको राजनीतिमा होमिएँ । विशेषगरी स्याङ्जा, पाल्पालगायतका स्थानमा संगठन विस्तारको काम गरियो । उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ र नेपाल रेडक्रस सोसाइटीमा रहेर पनि काम गर्दै थिएँ । विद्यार्थीहरूलाई जुनियर रेडक्रस सर्कलमा संगठित गर्ने नाममा नेपाल विद्यार्थी संघ गठन गरेको थिएँ । 

यस्तैमा, बिपीबाबु २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश आउनुभयो । त्यसका लागि हामीसँग राय, सल्लाह, सुझाव लिनुभएको थियो । आन्दोलनमा लाग्दै थियौं । त्यही क्रममा राजा वीरेन्द्रको भ्रमण भयो । त्यसबेला अञ्चलाधीश मेरै प्रिन्सिपल शंकरराज पाठक हुनुहुन्थ्यो । फेरि, चलनचाहिँ वाणिज्य संघको अध्यक्षले राजाको दर्शन भेट गर्ने रहेछ ।

अञ्चलाधीशले ‘गोपालमानजी ! तपाईंले राजा वीरेन्द्रलाई भेट्नुहोला,’ भन्नुभयो । भेटघाट गरेँ । उहाँको मुड एकदमै हँसिलो रहेको पाएँ । किनभने, आन्दोलनको नेतृत्व गर्नुभएका बिपी त्यसै दिन स्वदेश फर्किंदै हुनुहुन्थ्यो । त्यो राजालाई पनि थाहा थियो । अन्तिममा बिपीबाबु, गणेशमानजी, सुवर्ण शमशेरलगायतलाई पक्राउ गरे जस्तो गर्‍याे, तर छोडिदियो । 

छोडेपछि देश भ्रमणको सिलसिलामा बिपीबाबु पोखरामा आउने क्रममा हामी स्वागत गर्न पुग्यौं । विडम्बना, बिपी आएको प्लेन पञ्चायत पक्षका मानिसहरूले पोखरामा ल्यान्ड गर्न दिएनन् । उल्टै हामीलाई नै प्रहरीले गिरफ्तार गर्यो । हामीलाई तीन वर्षको जेल सजाय तोकियो । तर, साढे दुई वर्षमै पोखरा जेल बसेर निस्कियौं ।

२०३४ सालतिरको कुरा हो । गणेशमानजी, बिपीबाबु र किसुनजीको अत्यन्तै प्यारो, विश्वासिलो र भरपर्दो कार्यकर्ता भइसकेको थिएँ । पछाडि लागेँ उहाँहरूको । हरेक आन्दोलनमा म सहभागी हुन्थेँ । राजनीतिक जीवनकालमा बुटवल, लुम्बिनी, स्याङ्जा, पोखरा, लमजुङको जेल सबैमा बसेको छु ।

०००
२०३६ सालमा आन्दोलन भयो । पाकिस्तानमा त्यहाँको सेनाले जुल्फिकर भुट्टोलाई फाँसीको सजाय दिएको थियो । त्यससँगै सुरू भएको आन्दोलनले एउटा निष्कर्षमा पुर्यायो । त्यो हो- जनमत संग्रह ।

जनमत संग्रह बहुदलीय वा सुधारिएको पञ्चायत भन्नेबीच गरिएको थियो । हामीले बहुदलीय पक्षबाट जनमत संग्रहमा भाग लियौं । म बहुदल पक्षको नेता भएँ स्याङ्जामा । २०३६ जेठ १० गते जनमत संग्रह भयो । थोरै मतले सुधारिएको पञ्चायतसँग हारियो । उनीहरूको पहेँलो र हाम्रो नीलो चिन्ह थियो । एकथरि वामपन्थीले सुधारिएको पञ्चायतको पक्षमा मत हाल्यो । कुनैले बहिष्कार गरे । त्यतिखेर जीपीबाबुको जिल्लाजिल्लामा घुम्ने काम भयो ।

उहाँको राजासँग कुरा पनि भयो । कुराकानीपछि जीपीबाबु विकल्पको खोजीमा ‘टुर’ गरिरहनु भएको थियो । उहाँ रूपन्देही पुग्नुभयो । पुष्पानन्द गिरी त्यहाँको सभापति हुनुहुन्थ्यो । सूर्यपुरामा जीपीबाबु आउनुभयो । त्यहाँ ठूलो काण्ड मच्चियो । मारपिट भयो । पहिले त आउनै रोक्न खोजिएको थियो । उहाँ (पुष्पानन्द) को घरमा हामी बस्यौं । त्यसबेला शैलजा आचार्यजी, शेरबहादुर देउवाजी, रामचन्द्र पौडेलजी म लगायत थियौं । एक/डेढ घण्टा भाषणपछि बिहानको खाना खाने भनेर सुरसार गर्दा मण्डलेहरूले हामीलाई चारैतिरबाट आक्रमण गरे । आक्रमणमा हाम्रा धेरै साथीहरू घाइते भए । मैले त्यतिबेला भनेको थिएँ, ‘मित्रहरू, अब संघर्ष होइन, आन्दोलन नै गर्नुपर्छ । अब यो तरिकाले हुँदैन ।’

हामीले पनि चार्ज गरेको भए त्यहाँ धेरै क्षति हुन्थ्यो । त्यहाँका सभापति पुष्पानन्दले हाम्रा साथीभाइको कटबाँसको लठ्ठी खोसेर राखिसक्नु भएको थियो । त्यो लठ्ठी टिपेर लड भनेको भए रक्तपात हुन्थ्यो । अनि, म, गिरिजाबाबु, शेरबहादुर, रामचन्द्रजी म लगायत बसेको घरमा ढुंगामुडा भयो । साम्य भएपछि त्यहाँबाट निस्कियौं । म भैरहवा आएँ । प्रशासनमा रिपोर्ट गरियो । प्रशासनले के सुन्थ्यो हामी कांग्रेसको रिपोर्ट ? अन्तिममा मैले रेडक्रससँग एम्बुलेन्स मागेँ, किन रेडक्रसले एम्बुलेन्स दिन्थ्यो ? 

अनि मेरो ट्रक आइपुग्यो । मेरो ट्रक भैरहवादेखि पोखरासम्म चल्थ्यो । राजमार्ग खुलेको थियो । साढे ४ बजेतिर ड्राइभरलाई घटनाबारे नभनिकन पेट्रोल पम्पमा डिजेल पूरा गाडीमा भरेर आएँ ।  सूर्यपुरा बाटोमा बयलगाडामा गिरिजाबाबुहरू निस्किँदै गरेको देखें । उहाँहरूलाई ट्रकमा पठाएँ । आलोकजी सख्त घाइते हुनुभयो । मैले त काठमाडौं लानुपर्छ भनेँ, तर आलोकजीलाई बुटवल हस्पिटलमा भर्ना गर्नुपर्छ भनियो । सोहीअनुसार गरियो । पछि आलोकजीलाई प्लेनबाट काठमाडौं लाने कोसिस त भयो, तर उहाँको त्यहीँ देवसान भयो ।

अनि, २०४२ सालमा सत्याग्रह हुँदा जेलबाट आन्दोलन गरिएको थियो । डेढ वर्षजति जेल बसेर लम्जुङबाट निस्केँ । त्यसबेला पञ्चायतको संसद्मा बम विस्फोट भयो । सत्याग्रह फिर्ता लियौं । आन्दोलन अलिक खुकुलो भयो । जनमत संग्रहपछि पनि केही हदसम्म खुकुलो भएको थियो । 

हामीले २०४६ सालमा चाक्सीबारीमा गणेशमानजीको घरको कम्पाउन्डबाट जनआन्दोलन गर्ने निर्णय गर्यौं । वामहरूलाई गणेशमानजीले ‘एक वाम, एक ठाम’ को नारा दिएर सहभागी गराउनुभयो । भारतबाट चन्द्रशेखरजीहरू पनि आउनु भएको थियो ।  त्यतिबेला ‘प्रेसिडेन्ट’ थिएँ । प्रेसिडेन्टको हैसियतले त्यतिबेला मैले भनेँ, ‘अब यस्तो तरिकाले हुँदैन, हाम्रो प्रचारको माध्यम नै भएन । गोप्य रेडियो स्टेसन खोलेर हाम्रो आन्दोलनको प्रचार गर्नुपर्छ ।’ केही साथीहरूले सम्भव छ र ? भन्नुभयो । मैले ‘किन छैन ?’ भनेँ । 

यसरी २०४६ को आन्दोलन अगाडि बढ्यो । हामीले सफलता प्राप्त गर्यौं । प्रजातन्त्र आयो । बहुदल फर्कियो । किसुनजीको नेतृत्वमा २०४७ सालमा अन्तरिम सरकार बन्यो । २०४८ सालमा चुनावमा सहभागी भयौं । मेरो नेतृत्वमा स्याङ्जामा चारै सिट पार्टीले जित्यो । पहाडी जिल्ला भए पनि निर्वाचन क्षेत्र धेरै थियो । देशभर हामीले स्पष्ट बहुमत ल्यायौं ।

विडम्बना, किसुनजी चुनावमा हार्नुभयो । उहाँले नै चुनाव हारेपछि अलिकति खिन्नता भयो । गणेशमानजीले चुनाव लड्नु भएको थिएन । उहाँले त त्याग देखाउनु भएको थियो । राजा वीरेन्द्रले ‘तपाईंले प्रधानमन्त्री सम्हाल्नुहोस्’ भन्दा उहाँले किसुनजीतिर देखाउनु भयो ।

महामन्त्री हुनुहुन्थ्यो गिरिजाबाबु । उहाँलाई समर्थन र प्रस्ताव दुई जनाले गरेर निर्विरोध संसदीय दलको नेता बनायौं । उहाँलाई प्रधानमन्त्री बनायौं । उहाँकै मन्त्रिपरिषद्मा म वाणिज्यमन्त्री भएँ । त्यतिबेला शेरबहादुरजी गृहमन्त्री हुनुहुन्थ्यो ।

मैले वाणिज्यमन्त्री हुँदा हिन्दुस्तानसँग वाणिज्य सन्धि गरेँ । गिरिजाबाबुको नेतृत्वमा भारत यात्रा भएको थियो । त्यसबेला पि चिदम्बरम थिए भारतका वाणिज्य राज्यमन्त्री । पाँच वर्षको सन्धि, सात वर्षको ‘ट्रान्जिट’ थियो । कर्मचारीतन्त्र राजाकै छत्रछायाँमा थियो । ‘कहाँ दिन्छ र गोपालमानजी, सात वर्षको ट्रान्जिट ?’ यसै भन्थे धेरै साथीहरू । मैले ‘दिएन भने हामी भूपरिवेष्टित मुलुक हो, म सही गर्दिनँ । यत्रो नेपाली जनताले प्रजातन्त्र ३० वर्षपछि आन्दोलन गरेर प्राप्त गरेपछि बनेको सरकारले भन्दा नदिने भनेर हुन्छ ?’ भनेँ । अन्ततः सन्धि भयो ।

जतिबेला सरकार ६/७ महिनामा चलिरहेको थियो । क–कसको कुरामा लागेर वरिष्ठ ६ जना मन्त्रीलाई प्रधानमन्त्रीलाई गिरिजाबाबुले निकाल्नुभयो । मन्त्रिमण्डल पुनगर्ठन गर्नुभयो । म समेत ६ जना हटाइयौं ।

गिरिजाबाबु, गणेशमानजी र किसुनजी बसेर सल्लाहमा बनाएको १५ जनाको मन्त्रिपरिषदमा दुई जना राज्यमन्त्री थिए । दुई नेतासँग एक शब्द पनि सल्लाह नगरी हटाएपछि तिक्तता बढ्दै गयो । हामीलाई पनि कुनै सूचना दिइएन । वाणिज्य सन्धि गरेर आउँदा पुरस्कार पाउँला भन्ने लागेको थियो । तर, सन्धिको मसी सुक्न नपाउँदै राजाको जन्मोत्सवको दिन पुलिस क्लबमा भोजमा रहेकै बेला हटाइएको थाहा पाएँ । पार्टीमा आन्तरिक मतभेद बढ्यो ।

०००
किसुनजी उपनिर्वाचनमा लड्ने हुनुभयो । मदन भण्डारी दिवंगत भएपछि एक सिट खाली थियो । त्यही सिटमा उहाँ लड्ने हुनु भएको हो । उहाँको प्रचार मोर्चा सम्हालेँ साँखुमा बसेर । क्षेत्र ठूलो थियो । मलाई गिरिजाबाबुले ‘त्यहाँ नबस्नुहोस् । फर्केर आउनुपर्यो । मन्त्री पद फेरि दिन्छु’ भन्नुभयो । गणेशमानजी र किसुनजीको मान्छे मलाई ठान्नु भएको थियो । 

उपनिर्वाचनमा १८ मिनेट रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रतिनिधिलाई बोलाएर उहाँ (किसुनजी)को खिलाफमा सूर्यमा भोट हाल्न आह्वान गर्नुभयो । उहाँ भोट हाल्न पनि जानु भएन । उहाँले विद्यादेवी भण्डारीलाई जिताउने काम गर्नुभयो । किसुनजीलाई हराइछाड्नुभयो ।

यसरी कांग्रेसमा अन्तर्घात गर्न सिकाउने नेताका रूपमा गिरिजाबाबुकै नाम अंकित हुन पुग्यो । यही कुरा अहिलेसम्म पनि पार्टीमा ठूलो समस्या भएको छ । त्यसअघि अन्तर्घात कांग्रेसमा भएको थिएन । अनि, कांग्रेसमा विभाजन आयो । गिरिजाबाबुको सरकारले ल्याएको नीति र कार्यक्रम संसद्मा असफल भयो । हामी छत्तीसे र चौरहत्तरे भयौं । म किसुनजी र गणेशमानजीको पक्षमा लागेँ । वर्तमान सभापति देउवाजी त्यसबेला गिरिजाबाबुको पक्षमा हुनुहुन्थ्यो ।

र, झगडापछि २०५१ मा मध्यावधि निर्वाचन भयो । बीचमा सम्झौता भएको थियो । सम्झौताअनुसार फेरि सिट बाँडफाँट गरियो । उहाँले ‘न रहे बाँस, न रहे बाँसुरी’ को जस्तो काम गर्नुभयो । मलाई स्याङ्जामा हराउने खेल खेल्नुभयो । मेराविरूद्ध त बागी नै उठाउनुभयो । सोही कारण मसहित स्याङ्जाको सबै क्षेत्रमा कांंग्रेस उम्मेदवार हार्नुपर्यो । जबकि, दुईतिहाइ बहुमत ल्याउँछु भन्नुहुन्थ्यो गिरिजाबाबु ।  

पाँच वर्षपछि २०५६ मा मैले अत्याधिक बहुमतले जितेँ, त्यही क्षेत्रबाट । संसदमा प्रमुख सचेतक भएर काम गरेँ । जनताको त्यत्रो अभिमत पाएका किसुनजीलाई ६/७ महिनापछि काम गर्न दिइएन । गिरिजाबाबुले राजीनामा गर्न बाध्य बनाउनुभयो । ‘फ्रान्स गएर आउँछु, त्यसपछि राजीनामा दिन्छु’ भन्दा पनि गिरिजाबाबु मान्नुभएन ।

प्रमुख सचेतकको हैसियतले मैले सुझाव दिएको थिएँ, ‘गिरिजाबाबुका मान्छे हटाएर अरू मान्छे ल्याउने र सरकार चलाउने गर्दा हुन्छ ।’ किसुनजी मान्नुभएन । भन्नुभयो, ‘गोपालमानजी, म डर्टी गेम खेल्दिनँ ।’ अनि किसुनजीले राजीनामा दिनुभयो । फेरि, गिरिजाबाबु प्रधानमन्त्री हुनुभयो । उहाँको सरकार पनि धेरै टिकेन । होलेरी (माओवादी) काण्डपछि राजीनामा दिनुभयो । त्यसपछि शेरबहादुर देउवाजी २०५८ सालमा दलको नेता चुनिनुभयो । प्रधानमन्त्री हुनुभयो । म वनमन्त्री भएँ । उहाँलाई हामीले हाम्रो पक्षको नेता बनायौं । उहाँको नेतृत्वमा सरकारमा रहँदा माओवादीले स्याङ्जा र दाङमा ठूलो हमला गर्‍याे ।

दाङबाट माओवादीले सेनाको हतियार लुटेर लगे । प्रधानमन्त्री देउवाले संकटकाल लगाउनुभयो । माओवादीलाई ‘साइज’मा ल्याउन आर्मीसहित हामी एक भयौं । ‘साइज’मा ल्याइसकेका पनि थियौं । संकटकाल लगाएर कारबाही अवधि लम्ब्याउनु थियो । जतिबेला पार्टी सभापति गिरिजाबाबु हुनुहुन्थ्यो । ‘गो अहेड’ भन्नुभयो । पछि जारी रहेको संकटकाल फिर्ता लिन दबाब दिनुभयो । यो शेरबहादुर त अर्को जंगे हुने रहेछ माओवादी समस्या समाधान गरेपछि भन्ठान्नु भए जस्तो लाग्छ । 

००० 

देउवाजीले संकटकाल फिर्ता लिनु भएन । त्यसपछि त देउवालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी गिरिजाबाबुले हटाइदिनुभयो । अनि त पार्टी फुट्यो । नेपाली कांग्रेस (प्रजातान्त्रिक) बन्यो । त्यतिबेला रामचन्द्रजी पार्टी सभापति हुन आउने कुरा थियो । अन्तिममा आउनु भएन । कारण के हो थाहा छैन । नआउनु भएपछि देउवा प्रजातान्त्रिकको सभापति हुनुभयो । फेरि, प्रधानमन्त्री बन्नुभयो । ६ महिनाभित्र चुनाव गर्नुपर्ने थियो । देउवाले सर्वदलीय बैठक बोलाउनुभयो । चुनावको कुरा गर्दा रक्तपात हुन्छ र चुनाव सारौं भन्ने बैठकमा कुरा भयो । त्यसबखत ज्ञानेन्द्र राजा भइसकेका थिए । उनले पनि माओवादीविरूद्ध ‘गो अहेड’ भनेका थिए ।

तर, एक/दुई महिनापछि अक्षम प्रधानमन्त्री भनेर देउवालाई राजाले हटाइदिए । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए । उनले पनि माओवादी समस्या समाधान गर्न सकेनन् । राजा ज्ञानेन्द्र असन्तुष्ट भए । फेरि, देउवाले माधवकुमार नेपालजीसहितको सरकार बनाउनुभयो । 

यद्यपि, २०६१ माघ १९ गते राजा महेन्द्रले जसरी शासन सत्ता हातमा लिएर ज्ञानेन्द्रले देउवाजीलाई अपदस्त गरे । दलहरूमाथि प्रतिबन्ध लगाए । देउवालाई शाही आयोग लगाएर थुन्ने अवस्था आयो । उहाँले पदाधिकारीबाट पार्टी नेतृत्वका लागि पनि साथ पाउनु भएन । मलाई ‘गोपालमानजी तपाईंले पार्टी सम्हाल्नुपर्यो’ भन्नुभयो । मैले स्वीकारेँ । राजा ज्ञानेन्द्रबाट सबै थर्कमान थिए । तानाशाही बनेका थिए । म कार्यवाहक सभापति बनेँ, प्रजातान्त्रिकको । अन्ततः देउवाजी केही दिनमा थुनिनुभयो ।

०००

हामी छुट्टै आन्दोलन गरिरहेका थियौं । पछि सात पार्टी मिलेर संयुक्त आन्दोलन गर्ने भयौं । फेरि, सात पार्टीको आन्दोलनले मात्रै केही नहुने ठम्याइको आधारमा माओवादीको पनि सहयोग लिनुपर्यो भनियो । र, प्रचण्डसँग भेटका लागि चाँजोपाँजो मिलायौं । प्रदीप गिरि र विमलेन्द्र निधिजीलाई लिएर म भारत गएँ । प्रचण्डसहित डा. बाबुराम भट्टराई र कृष्णबहादुर महरासँग तीन घण्टा कुराकानी भयो । सो क्रममा राजा ज्ञानेन्द्रविरूद्ध संयुक्त जनआन्दोलनमा जाने, हिंसाको बाटो त्याग्ने र जनताको जफत गरिएको सम्पत्ति फिर्ता गर्ने कुरा भयो । यता आन्दोलन भइरहेको थियो ।

गिरिजा र माधवसँग कुममा कुम जोडेर आन्दोलन हाँकियो । सात पार्टी र माओवादीबीच चैतको २१ गतेदेखि गर्ने कार्यक्रम तय गर्यौं । राजाले बैशाख ८ गते प्रजातन्त्र फर्काउने घोषणा गरे । हामीले आन्दोलन फिर्ता नलिने भन्यौं । अब, राजाले बेइमानी गर्दैन भनियो । हामीले बैशाखको ९, १० र ११ मा झन् ठूलो आन्दोलन गर्‍याैं । परिणामतः पूर्णप्रजातन्त्र आयो । संसद् पुनर्बहाली भयो । गणतन्त्र पनि सिलसिलेबार आयो । जबकि, माओवादीसँग भएको १२ बुँदे समझदारीमा गणतन्त्रको मुद्दा थिएन । पछि प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र प्राप्त भयो । 

पुनःस्थापित संसदबाट गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो । म नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति थिएँ । प्रजातान्त्रिकको नेतृत्व गर्दै म भौतिकमन्त्री भएँ । केपी ओलीजी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनुभयो । म हुन्थेँ उपप्रधानमन्त्री, उहाँले भाँजो हाल्नुभयो । केही महिनापछि २०६३ मा अन्तरिम संविधान बन्यो । फेरि, गिरिजाबाबुको नेतृत्वको सरकारमा म भौतिकमन्त्री भएँ । हिन्दुस्तान (भारत) को यात्रा गरियो। 

०००

२०६४ मा संविधानसभाको चुनाव हुने भयो । फेरि, हाम्रो पार्टी (कांग्रेस) एकता हुने भयो । ४० प्रतिशत हिस्सा हामीलाई दिने कुरा भयो । एकता हुँदा गिरिजाबाबुको म प्रथम उपसभापति भएँ । उहाँको नेतृत्वमा चुनाव लड्दा कांग्रेस दोस्रो पार्टी भयो । उहाँलाई प्रचण्डजीले राष्ट्रपतिको लोभ देखाउनुभयो । त्यही भएर हत्या-हिंसाबाट आएको माओवादी भारी बहुमतसहित पहिलो पार्टी भयो । प्रचण्डजीले सरकार बनाउनुभयो । नौ महिना मात्रै टिक्यो । 

यता ११ औं महाधिवेशनमा मैले शेरबहादुरजीलाई निर्विरोध सभापति बनाउन भूमिका निर्वाह गरें । जतिबेला मलाई पनि सभापति पदमा उठाउन खोजिएको थियो । तर, मैले उठ्न मानिनँ । शेरबहादुरजीलाई नै सर्वसम्मत सभापति बनाउनु थियो किनभने राजा ज्ञानेन्द्रलाई च्यालेञ्ज दिनु थियो । जुन महाधिवेशन मेरो सभापतित्वमा भएको हो ।

१२ औं महाधिवेशन चाहिँ एकताको महाधिवेशन भयो । देउवाजी र सुशील कोइरालाबीच सभापति पदमा निर्वाचन भयो । शेरबहादुरजीलाई साथ दिएँ । पहिलो केन्द्रीय सदस्य भएँ । शेरबहादुरजी थोरै मतले हार्नुभयो । संविधान निर्माण भयो । संविधान निर्माण भएपछि सुशीलजीले राजीनामा दिनुभयो । १३ औं महाधिवेशनमा देउवाजी र रामचन्द्रजीबीच प्रतिस्पर्धा भयो । देउवाजीलाई जितायौं । अहिले पार्टीको केन्द्रीय सदस्य र संगठन विभाग प्रमुख पनि म नै छु ।

अब, शेरबहादुरजीले काँध फेर्नुपर्छ सल्लाहमै । उहाँले सरकार चलाउने हो । उहाँलाई दुःख पर्दा साथ दिने म गोपालमान नै हो । उहाँलाई सभापति पदमा १३ औं महाधिवेशनमा सघाएर जिताएँ । पाचौं पटक प्रधानमन्त्री बनाइयो पनि । अब, उहाँको अर्जुनदृष्टि सरकार चलाउनेमा हुनुपर्छ । अब, उहाँले उत्तराधिकारीको रूपमा मलाई अगाडि सार्नुपर्छ । ‘मैले छोड्दा तपाईं नै हो’ भन्नु पनि भएको छ । उहाँले अब छोड्ने बेला आयो । अब उहाँले भ्याउनु हुन्न । बोझमाथि बोझ थाम्न सक्नुहुन्न । अहिले फुर्सद छैन उहाँलाई । त्यही भएर उहाँको समर्थनमा म निर्वाचन लड्ने हो । अब, उहाँले त्यो गर्नुभएन भने उहाँलाई ठूलो घाटा पर्छ । त्यही भएर उहाँले मलाई नै अगाडि सार्नुहुन्छ भन्ने विश्वासमा छु । शक्ति बाँडफाँट गर्नुपर्छ । उहाँले सरकार चलाउने हो । फेरि बहुमत ल्याएर ठूलो पार्टी बन्यो भने उहाँ प्रधानमन्त्री हुने हो । म प्रधानमन्त्री हुन्न । 

‘खोला तर्‍यो, लौरो बिर्स्याै’ गर्नुहुँदैन । उहाँले मैले लगाएको गुन बिर्सिनु हुँदैन । अब त्यो तिर्नुपर्छ । अब, म पनि लड्ने र उहाँ पनि लड्ने भयो भने दुर्घटना हुन्छ । म त ‘ब्याक’ हुने ‘चान्स’ छैन । मेरो अन्तिम पनि हो । एकपटक कांग्रेसको सभापति हुने हो । पार्टी चलाउने हो । पार्टीलाई चुस्त-दुरुस्त बनाएर मुलुकको समृद्धिमा लाग्ने हो । पार्टीलाई अनुशासित बनाउने हो । त्यसको लागि म अगाडि बढेको छु ।

(नेपाली कांग्रेसका नेता श्रेष्ठसँग फरकधारकर्मी जङ्ग तामाङले गरेको कुराकानीमा आधारित ।)
 

  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १३:१०:४१,   अन्तिम अपडेट : असोज १७, २०७८ आइतबार १२:२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया