जीवन ट्रेनको सफरजस्तै हो : रमेश क्षितिज
फरकधार / १६ असोज, २०७८

नेपाली साहित्यकाे कविता विधामा रमेश क्षितिज परिचित नाम हाे । क्षितिजका ‘अर्को साँझ पर्खेर साँझमा’  र ‘घर फर्किरहेको मानिस’ गरी दुई कवितासंग्रह प्रकाशित छन् । यसबाहेक उनले गीत, कथा र संस्मरणका क्षेत्रमा पनि कलम चलाएका छन् । उनै क्षितिजसँग फरकधारकर्मी राधिका अधिकारीले गरेकाे कुराकानी :



हिजोआज के गर्दै हुनुहुन्छ ?

केही समय काठमाण्डौं बाहिर बसेँ । विभिन्न जिल्लाहरूमा काम गर्ने अवसर प्राप्त भयो । कोभिडको लहर चलेको बेला त्यसको व्यवस्थापनको चुनौति व्यहोरियो । यसैले अलिक व्यस्त भएर समय बित्यो त्यसबेला । केही महिनादेखि यतै राजधानीतिर छु । घर अफिस सामान्य दिनचर्या हुँदैछ । अब केही सृजनात्मक कामहरूको सिलसिलामा छु ।

के पढिरहनु भएको छ ? के लेखिरहनु भएको छ ?



किताब किनेर राखेँ तर पढ्न भ्याएको थिइनँ । अचेल फुर्सदमा पढिरहेको छु । आत्मकथा उपन्यास र आध्यात्मिक पुस्तकहरूमा बढी रूचि छ आजभोलि । त्यसैले त्यस्तो अलि वढी पढिरहेको छु । तर कुनै योजनाले यही विषय, यही विधा भन्ने छैन । अहिले पढ्दै गरेको पुस्तक सोध्नु भएको हो भने वानिरा गिरिको ‘कारागार’ र लेखनको कुरा गर्ने हो भने एकदमै सुस्त गतिमा कथाहरू लेखिरहेको छु ।

अँ नेपालमा लेखिएका धेरै आत्मकथाहरूमा स्वैरकल्पना वा फ्यान्टसीको व्यापक प्रयोग भएको देखेर रमाइलो लाग्यो । पदमा बस्दा गर्न नसकेका वा गरेको भए हुन्थ्यो भन्ने लागेका कुरा आत्मकथामा आउने रहेछन्- मैले यसो गरेको थिएँ भनेर ।

एउटा जिम्मेवार सरकारी अधिकारी भएर उन्मुक्त ढंगमा कविता लेख्न सकिन्छ ?

हामी कहाँ सामाजिक जिम्मेवारी र व्यक्तिगत जीवनलाई एउटा डालोमा मिसाउने प्रचलन बढी छ । कार्यालय समयबाहेक साँझ बिहान अधिकांश समय लेख्नु, पढ्नु, संगीत सुन्नु, सिनेमा हेर्नु त्यो मेरो व्यक्तिगत स्वतन्त्रताको विषय भयो । यसैले जिम्मेवारी आफ्नो ठाँउमा, कविता आफ्नो ठाँउमा । कहिलेकाही बरू जब प्रणाली, अव्यवस्था, कुशासनको विषयमा लेखिन्छ आफैलाई व्यङ्ग्य गरेजस्तो हुने रहेछ अरूले हेर्दा । अधिकांश त कविता लेख्न उन्मुक्त नै महसुस हुन्छ किनभने सबै विषय राजनीतिक पनि हुँदैनन् । कहिलेकाहीं मात्र कुनै विषयमा आफ्नो आत्मनियन्त्रण वा सीमा हुन्छ होला । त्यस्तो हुन्छ कहिलेकाहीं । जस्तो केही समय पहिले सिंहदरबार भन्ने कविता लेखेँ जो राजनीतिक नेतृत्वको विषयमा थियो, पछि आफैलाई लाग्यो यो कुरालाई मैलेभन्दा चाँहि अलिक फरक ढंगले भन्नु पर्छ होला । पछि मैले त्यसको शीर्षक कुर्सी बनाएँ । कहिलेकाहीं मात्र त्यस्तो हुन्छ । 

यतिविधि राजनितिक विसंगति छन्, तिनलाई खुल्ला रूपमा कवितामा पोख्न नसक्दा वा नपाउँदा तपाईलाई कस्तो महसुस हुन्छ ?

विसंगति राजनीतिमा मात्र कहाँ छन् र ? तपाईं ट्याक्सी खोज्नुस् भनेको ठाँउमा पैसा तिरेर मिटरमा जान सक्नुहुन्न । स्कुलमा जानुस् तिर्नुपर्ने फिभन्दा बढी तिर्नुपर्छ । एउटा जिल्लामा काम गर्दा मैले थाहा पाएँ- तरकारीमा हाल्ने पोस्टिसाइट हानिकारक हुँदो रहेछ । त्यो छर्केको केही दिन टिप्नु हुँदैन रहेछ । तर तरकारी त्यसमा नै डुबाउँदै भोलिपल्ट बेचिने रहेछ ।  साहित्यमा नै हेर्नुहोस कति विसंगति छ ।  यो त हाम्रो समग्र सामाजिक मनोविज्ञान, हामीले स्थापित गरेको प्रणाली र हाम्रो चेतना स्तरको कुरा हो । यसैले होला साहित्यमा पनि यता केही दशक आत्मक्रन्दन, घृणा, द्वेष, र गरिवी बिक्यो, गाली बिक्यो । मानिसको आत्मसम्मान बढाउने, कर्मशीलतातिर अभिप्रेरित गर्ने, जीवनको मूल्यको खोजी गर्ने साहित्य भन्दा । तर म मान्दछु कि राजनीति केन्द्रमा छ । राजनीतिक विसंगतिलाई म कवितामा लेख्छु नै तर कलात्मक शैलीले । यसैले ठूलो समस्या त हुँदैन । सामाजिक संजालको स्टाटस बेग्लै कुरा । 

सिधा राजनीति लेख्न जागिरले रोकेको कारण तपाईंले बढी मात्रामा फिलोसोफिकल वा अन्य सन्दर्भमा कविता लेख्नु भएको हो ?

हा..हा.. प्रश्नमा दम छ । तर ठ्याक्कै त्यस्तो होइन होला । वि.सं. २०५५/५६ तिरको कुरा हो, जब मैले मेरो पहिलो कविताको पाण्डुलिपि एकजना सिनियर दाइलाई पढ्न दिएँ । पढिसकेर उहाँले भन्नुभयो ‘कवितामा दर्शन अध्यात्म, एक प्रकारको पीडा गहन उदासी र एक्लोपन भेटिन्छ ।  तिम्रो बाल्यकाल वा किशोर अवस्थामा के परेको थियो ?’  यो प्रश्नले मलाई मेरा कविताहरू आफैले दोहोर्‍याएर पढ्ने र विश्लेषण गर्ने बनायो । मैले पछि फर्केर हेरेँ जिन्दगीलाई । सानैदेखि म होस्टेलमा बसेँ, घरबाहिर । बाल्यकालदेखि मलाई दुई कुराको गहिरो प्रभाव थियो- एउटा संगीत अनि अर्को पुस्तक । जोगी संन्यासीहरूप्रति मेरो गजबको आकर्षण थियो । त्यसरी नै हिँड्नु पाए हुन्थ्यो जस्तो लाग्थ्यो । यसैले कविता अन्तरयात्रा हो । कवितामा कविको चेतना, उसको जीवनको अनुभूति उससँग समाजको अन्तरक्रियाको प्रभाव आउँछ होला । म सरकारी सेवामा आउनुअघि युवाअवस्थामा लेखिएका कविता संग्रहमा नै यस्ता कविताहरू छन् । यसैले मेरो जागिरका कारणले दार्शनिक वा आध्यात्मिक वा जीवनबाेधी कविता लेखेको होइन त्यो त मेरो पन हो जेनर हो । मलाई त्यस्तो कविता मन पर्छ त्यसैले लेखेको हो ।

निजामती कर्मचारी जनताको सेवा गर्ने जिम्मेवारीमा हुन्छन्, तर जनताको जहिल्यै पनि कर्मचारीप्रति व्यापक गुनासो छ । एउटा कवि हृदयलाई यी कुराले कसरी छुन्छ ?

निजामती प्रशासनमा सुधारको ठूलो खाँचो छ । जनतालाई सन्तुष्टि दिने किसिमले सेवा प्रवाह हुन जरूरी छ । आफू पनि यही संगठन वा परिवारको सदस्य हुनुको नाताले यसको आलोचना हुँदा यसका विकृति देख्दा मन चसक्क हुन्छ नै । तर व्यक्तिगत रूपमा आफूले सकेको राम्रो गर्ने हो । त्यसले आत्मसंतुष्टि पनि दिन्छ । नागरिकको रूपमा जव म कुनै कार्यालयमा सेवा लिन जान्छु मैले भोग्ने पनि त्यही हो । तर म जहाँ काम गर्छु त्यस्तो गुनासो नरहोस्, नागरिकमैत्री भएर काम गर्ने वातावरण होस् भनेर सचेत रहन्छु । मलाई खुसी लाग्छ  कामको सिलसिलामा मैले हजारौं मानिस भेटेँ, विभिन्न ठाउँ पुगेँ जसले नयाँ अनुभव दियो । यसले मलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न प्रेरणा दिन्छ ।

तपाईं सरकारी अधिकारीका रूपमा विभिन्न जिल्ला पुग्नुभयो, त्यहाँका सारा अनुभव कवितामा अटाउन गाह्रो होला नै, अन्य विधातिर सोच्नु भएको छ ?

मैले अघि नै भनेँ- म कथाहरू पनि लेखि रहेको छु । बेलाबेलामा संस्मरणहरू पनि लेखिरहेको छु । तर  अचेल कवि लेखकहरू पनि लामो कथा उपन्यास महाकाव्यभन्दा गीत मुक्तक अझ सोसल मिडियाको स्टाटसतिर सर्दै गएको देखिन्छ ।  म पनि अपवाद होइन ।  

किन नेपाली कविता अन्य देशका काव्यपारखीका निम्ति रूचिको विषय बन्न नसकेको होला ? 

व्यक्तिगत रूपमा विश्लेषण गर्दा यसमा दुईवटा प्रमुख कारण देख्दछु म । पहिलो हामीले लेखेको कुराहरू विषयवस्तु, शैली, नविनता के छ ?  मौलिकता के छ ? त्यो महत्वपूर्ण विषय हो । केही दशकयताका लोकप्रिय पुस्तक/गीत वा लेख हेर्नु भयो भने थाहा लाग्छ, दुःख, निराशा कुण्ठा, घृणाको व्यापकता छ । तर जीवनको सौन्दर्यबाेध गर्ने उत्प्रेरणा दिने, उत्सवमय रचनाको अझ खाँचो छ । टैगोरको गिताञ्जलीले नोबल पुरस्कार पायो । त्यसमा जीवनको गरिमाको महिमागान छ । मानिसलाई दिशाबाेध गर्नु मानवीय मूल्यलाई उचाइमा पुर्याउने साहित्य र नेपाली मौलिकता, संस्कृति र जीवनपद्धति सर्लक्क देखिने साहित्य आउनु पर्ने हो कि ?
दोस्रो कुरा, लेखिएका राम्रा उत्कृष्ट साहित्यको अनुवाद प्रचार प्रसार भएन । ‘ऋतु विचार’ ‘मुनामदन’, ‘सुम्निमा’ वा ‘उलार’ जस्ता कृति हामीसँग छन् । ती बाहिर फैलिन सकेको खोइ ? सरकारको बजेटले पालिएका नेपाल एकेडेमी र अन्य संघ संस्थाहरूकोे काम यो दिशातिर केन्द्रित हुनुपर्नेमा ‘गोष्ठी’ ‘विचार गोष्ठी’ अकडम बकडम कार्यक्रमतिर समय बिताएको पाइन्छ । नेपाल बाहिरका नेपाली भाषाका पाठकमाझ पनि हाम्रो साहित्य पुगेको छैन । अरू के कुरा ? 

नेपाली साहित्यको अहिलेको अवस्था कस्तो छ ?

समग्रमा भन्नुपर्दा हामीले हिँड्नु पर्ने लामो बाटो बाँकी नै छ । केही समय यता विविधता, मौलिकता चेतनाको स्तरमा वृद्धि त भएको छ । तर भयङ्कर लेखिएको छ । विश्वले चिन्न सकेन भन्ने भाषाचाँहि टोले गुण्डाले आफ्नो टोलमा दादागिरी देखाएको जस्तो मात्र हो ।

तपाईंको नजरमा राम्रो कविता कस्तो हुन्छ ?

मेरो बुझाइमा राम्रो कविता भनेको पढ्दा मजा आउने कविता मात्र होइन । त्यो त जोक चुट्किलाले पनि गर्छ । तर जीवनको रूपान्तरण गर्ने, मन्त्रजस्तो, पढेर डुब्न सकिने, ऊर्जा प्रवाह गर्ने कविता राम्रो कविता हो । आफू बाँचेको समयको तस्वीर प्रष्ट देखाउने कविता राम्रो कविता हो । जनताको पक्षमा, अबाेला मानिसहरूको हित र आवाज बोकेको कविताहरू सुन्दर कविताहरू हुनु ।

तपाईं निकै कम लेख्नु हुन्छ, नभ्याएर कि संख्यामा विश्वास नभएर ?

अध्ययन गरी हेर्दा दश वर्षमा एउटा संग्रह लेख्दो रहेछु । त्यो भनेको औसत ४०-५० कविता अथवा वर्षको ३-४ कविता । जबसम्म नयाँ कुरा, गहिरो प्रभाव पार्ने कुरा मेरो मनमा आउँदैन तवसम्म म लेख्दिनँ । लेखिसकेको कुरा फेरि दोहोरिएला कि भनेर मलाई जहिल्यै चिन्ता हुन्छ । लेख्न नभ्याउने खालको व्यस्त पनि छैन म । फेरि कविता साँझ विहान हिँड्दा घुम्दा र यात्रामै लेख्ने हो म त । बरु थोरै लेखूँ तर साँच्चिकै कविता लेखूँ भन्ने प्रयास हुन्छ मेरो । यसरी कम भएको होला कविता ।

प्रेम, मित्रता, सम्वन्धहरूको के प्रभाव हुन्छ रचनामा ? 

ती मानिसहरूप्रति कृतज्ञ छु म, जो मेरो जीवनमा आए । हामी सँगै हिँड्यौ, गीत गायौँ वा सपना देख्यौँ । जीवन ट्रेनको सफरजस्तै हो । कोही आइरहेको हुन्छ, कोही गइरहेको हुन्छ । एकछिन सँगै बसेको यात्री ओर्लेर कहाँ पुगिसकेको हुन्छ । स्टेसनमा हराइसकेको हुन्छ ।  ती मानिसहरूको प्रभाव रचनामा पर्छ नै । मेरो आगामी संग्रहमा पनि कसैले दिएका कविताहरू पनि छन । जस्तो कसैले बोलेको  वाक्यले, कसैसँग बिताएको साथ संगत र अनुभूतिले कविता दिएको हुन्छ । ‘आफैबाट हराएकी सिल्भियालाई एक कोमल प्रश्न’ जस्ता केही कविताहरू तपाईंको प्रश्नले सम्झायो जो मेरो नयाँ संग्रहमा हुनेछन् । 

नयाँ कविता संग्रह कहिले पढ्न पाइएला ? कस्तो संग्रह छ यो ? 

पाण्डुलिपि तयार भएर प्रकाशकसँग कुरा भइरहेको छ । सम्भवतः यस वर्षभित्र आउँछ होला । मेरा संग्रहहरूमध्ये सर्वाधिक प्रिय संग्रह हुनेछ यो । अहिलेसम्म हिँडेको यात्रा, अहिलेसम्म भोगेको जीवन र अनुभूतिको सङ्लाे तस्वीर हुनेछ यो संग्रह मेरा लागि । अरूका लागि के हुनेछ, त्यो समयले नै बताउला ।
 

  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १६:४:६,   अन्तिम अपडेट : असोज १६, २०७८ शनिबार १९:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया