ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राजनीतिको बागडोर नेकपा (माओवादी केन्द्र) र त्यसको नेतृत्वमा निहित रहेको बताएकी छन् । पार्टी स्थायी समिति सदस्यसमेत रहेकी मन्त्री भुसालले माओवादी आफ्नो संगठन, विचार र कार्यदिशामा स्पष्ट रहेको बताइन् ।
देशको सिङ्गो राजनीति चलाउने क्षमता आफ्नो पार्टीमा रहेको दाबी गर्दै उनले माओवादी नेतृत्वमा एकताको पहल गर्ने, प्रतिक्रान्तिका विरुद्ध गोलबद्ध गर्ने, अग्रगामी शक्तिलाई मिलाउने क्षमता रहेको बताइन् । उनले भनिन्, ‘देशको राजनीतिक बागडोर माओवादी र माओवादी नेतृत्वले लिएको छ ।’
ललितपुर महानगरपालिका–२२ को वडा सम्मेलनको आज उद्घाटन गर्दै उनले जनयुद्धका समयमा जनतासँग नङ र मासुको सम्बन्ध बनाएजस्तै गरी सङ्गठन विस्तार गर्ने बताइन् ।
उनले जनताको लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धनको सरकार बनेको स्पष्ट पार्दै पार्टी गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताइन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दलाल पुँजीपति वर्गलाई पोस्ने र विदेशी मालिकलाई खुसी पार्ने अभियानमा लागेकाले पछिल्लो अवस्था सिर्जना भएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।