पार्टीभित्र विचार र संगठनमा फरक मत छैन : विष्णु पौडेल

नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताएका छन् । 

पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसाबले एकतावद्ध रहेको दाबी समेत गरे । 

उनले पार्टीको विधान महाधिवेशनमा पार्टीभित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे । सोमबार हालै सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिए।

उनले भने, ‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरुमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रुपले बैठकको माईन्यूटमा दर्ज गर्नुपर्छ । औपचारिक रुपमा दर्ज भयो भने त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औंपचारिक रुपमा फरक मत राखेन भने ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ । हामीले यो प्रणाली नै विकास गरेका छौं ।’

‘यसपटक कसैले पनि पार्टीमा फरक मत राखेको होईन । विचार त सबैले व्यक्त ग¥यौं हामीले स्थायी कमिटीको बैठकमा, केन्द्रिय कमिटीको बैठक, विधान महाधिवेशनमा । सबै ठाउँमा हामीले आफूलाई लागेका कुराहरु बोल्यौं । तर आज औपचारिक निर्णय हुन्छ । त्यो निर्णयसँग भने कोही पनि असहमत भएको र कसैले पनि फरकमत प्रस्तुत गरेको अवस्था होईन । त्यसकारणले पार्टीमा फरक मतको अवस्था नै छैन । पार्टी विचारमा, संगठनमा सबै हिसाबले एकताबद्ध छ’, उनले भने ।

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको दाबी गरे । 



विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही साबित भएको उनको तर्क छ । 

उपमहासचिव पौडेलले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्ठावश, इस्र्यावश केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरु पुनः फर्किने क्रम सुरु भएको दाबी गरे । 



उनले भने, ‘नेकपा एमाले विभाजन भएको छैन भनेर हामीले जे भनि आएका थियौं । त्यो निष्कर्षलाई यो महाधिवेशनमा भएको उपस्थितिले, छलफलले, महाधिवेशनमा जुन खालको रिर्पोटिङ भयो, त्यसले पुनर्पुष्टि गरेको छ । एमाले विभाजित भएको छैन । केही साथीहरु स्वार्थबस, कुण्ठाबस, ईस्यावश पार्टीबाट अलग भए । केही साथीहरु भ्रममा परे । तर भ्रममा रहेका साथीहरु क्रमशः फर्किरहेका छन् ।’

उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अरु बढी प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गरे । 

आईतबार सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गरेका छन् । 

उपमहासचिव पौडेलले सो महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने बताए। 

उनले भने, ‘महाधिवेशन निर्धारित समयमै हुन्छ । हिजो अध्यक्षले विधान महाधिवेशनको सन्दर्भमा बुटवलमा राष्ट्रिय महाधिवेशन आयोजना हुने कुरा घोषणा गर्नु भएको छ । भव्यतापूर्वक आयोजना हुन्छ । तोकिएकै समयमा आयोजना हुन्छ । सफलतापूर्वक सम्पन्न हुन्छ । त्यसले राष्ट्रिय राजनीतिमा नेकपा (एमाले)को भूमिकालाई अरु बढी प्रभावकारी बनाएर जान्छ ।’

उपमहासचिव पौडेलले पार्टीको विधान महाधिवेशन पार्टी जीवनमै पहिलो पटक एकमतका साथ सम्पन्न भएको बताए ।

उनले भने, ‘एकता भावका साथ प्रवेश गर्‍यौ । एकताभावका साथ छलफल गर्‍यौै । सहमति र सर्वसम्मतिले निर्णय गर्‍यौं र एकताबद्ध भएर हल बाहिर निस्कियौं । यो चाँही महाधिवेशनको विशिष्ट विशेषता हो भन्ने म ठान्दछु । यसले चाँही आम जनता र कार्यकर्ताप्रति पार्टीको भरोसा बढाएको छ ।’

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १४:९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया