विगत भुलाउँदै श्रीलंकामाथि जित निकाल्ने दाउमा नेपाल

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज नेपालले श्रीलंकाविरुद्ध खेल्दैछ । खेल राति पाैने १० बजेदेखि सुरु हुनेछ । नेपाल र श्रीलंकाले १८ औँ पटक एकअर्काको सामना गर्न लागेका हुन् ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । साफ च्याम्पियनसिपमा भने नेपाल र श्रीलंकाको यो साताैँ भेट हो । 

नेपाल र श्रीलंकाको फुटबल इतिहास 

श्रीलंका र नेपालले पहिलोपटक सन् १९८४ मा मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा श्रीलंकाले नेपाललाई ४-० गोल अन्तरले हराएको थियो । त्यो खेलपछि यी दुई टोलीले सन् १९८६ मा २-२ बराबरी खेलेका थिए । त्यस्तै, नेपाल-श्रीलंकाले १९९१ मा दक्षिण एसियाली खेलमा प्रतिस्पर्धा गरेका थिए । सो खेलमा नेपाल र श्रीलंकाबीचको खेल २-२ को अवस्थामा सकिएको थियो । 

नेपाल र श्रीलंकाले १९९३ मा पहिलोपटक साफमा एक अर्काविरुद्ध खेलेका थिए । साे खेलको नतिजा गोलरहित बराबरी थियो । साफ च्याम्पियनसिप १९९५ मा श्रीलंकासँग नेपालले २-१ को हार बेहोरेको थियो । त्यस्तै, १९९५ मा नै भएको मैत्रीपूर्ण खेलमा दुवै टोलीबीचको खेल  गोलरहित बराबरीमा सकिएको थियो ।

१९९६ मा भएको एफसी एसियन कपमा नेपालले श्रीलंकासँग ३-१ को हार बेहोर्‍यो । १९९६ कै एफसी कपमा पुन: भिडे पनि त्यस खेलमा  नेपालले २-० को हारको सामना गरेको थियो । १९९७ मा भएको साफमा श्रीलंकासँग ​नेपालले १-३ गाेल अन्तरले पराजित भएको थियो ।



१९९८ मा भएको एसियन नेसन कपको खेल भने गोलरहित बराबरीमा टुङ्गिएको थियो । १९९९ मा भएको साफ च्याम्पियनसिपमा भने नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो । २००६ मा भएको एएफसी च्यालेन्ज कपअन्तर्गत नेपाल र श्रीलंकाको खेल १-१ बराबरीमा सकिएको थियो ।

२००८ मा भएको एएफसी च्यालेन्ज कपमा भने श्रीलंकाविरुद्ध नेपालले ३-० को राम्रो विजयी नतिजा निकाल्यो । २०११ मा भएको एएफसी च्यालेन्ज कपको खेल भने गोलरहित बराबरीमा टुङ्गियो ।  २०१५ मा भएको साफ च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग १-० ले पराजित भएको थियो । 



त्यस्तै, २०१६ मा भएको मैत्रीपूर्ण खेलमा भने नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । २०१६ पछि भने नेपाली टोलीले पहिलो पटक श्रीलंकाको सामना गर्दैछ । नेपालले यस पटक भने श्रीलंकालाई परास्त गर्ने योजना बनाएको छ ।  

फेरिएका प्रशिक्षक र लयमा देखिएका युवा खेलाडीको बाहुल्यताले यो सम्भव पनि रहेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध जित हासिल गर्ने लक्ष्यका साथ खेल्ने बताए । 

उनले श्रीलंकाका खेलाडी आक्रामक रहेकाले उनीहरूको यो कमजोरीको फाइदा उठाइ एक खेलाडीलाई मैदान बाहिर निकाल्न अथवा ‘रातो कार्ड’ दिलाउने प्रयत्न रहेको पनि बताएका हुन् । उनले भने, ‘श्रीलंकासँग खेल्नु हाम्रो लागि सहज छैन । तर, उनीहरू मैदानमा एकदमै आक्रमक भएर खेल्छन्, त्यसको फाइदा उठाएर एक खेलाडीलाई मैदान बाहिर पठाउने प्रयत्न गर्नेछौँ ।’ 

कप्तान किरण चेम्जोङले पनि जितको प्रतिक्षामा रहेको बताएका छन् । उनले म्याचअघि भनेका छन्, ‘मलाई मेरो प्रशिक्षक, टोली र आफूमा पूर्ण विश्वास छ । हामी जितका लागि ९० मिनेट मैदानमा लड्ने छौँ ।’  

प्रि म्याच कन्फ्रेन्समा श्रीलंकाका प्रशिक्षकले नेपालले प्रविधिक रूपमा निकै बलियो टोली रहेको प्रतिक्रिया पनि दिएका छन् । आफूहरू नेपालविरुद्ध उत्कृष्ट खेल्ने लक्ष्यका साथ मैदान उत्रिने पनि बताए ।

यो पटकको साफमा माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाले भाग लिएका छन् । सबै टोलीले एकअर्काको सामना गर्नेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । फाइनल खेल १६ अक्टोबर  (असोज ३०) मा हुनेछ । 

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १८:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया