प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई मन्त्रालय मागेको खुलासा भएको छ । जबराले वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो मान्छे नियुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको स्रोतले दाबी गरेको छ ।
यी दुई मन्त्रालय नपाएको खण्डमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिएमा एउटैमा चित्त बुझाउने उनको माग छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार मन्त्रालय दिन अस्वीकार गरिसकेका छन् ।
प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले २८ असारमा संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
मन्त्रालय भागबन्डामा प्रधानन्यायाधीशको भाग पनि छुट्याउनुपर्ने भएपछि मंगलबार गर्ने भनिएको मन्त्रिपरिषद् विस्तारसमेत अन्योलमा परेको छ ।
कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री देउवा कांग्रेसकै भागका दुई मन्त्रालय कटाएर वा घटाएर भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका प्रतिनिधिलाई दुई मन्त्रालय दिन तयार भइसकेका छन् ।
‘यसअघि प्रधानमन्त्री बाहेक नै कांग्रेसले ७ मन्त्रालय लिने कुरा भइरहेको थियो, तर अब कांग्रेसले प्रधानमन्त्री बाहेक पाँच मन्त्रालय लिन पनि तयार रहेको कुरा प्रधानमन्त्री देउवाले भनिसक्नु भएको छ,’ ती नेताले भने, ‘कांग्रेसले छोडेका ती दुई मन्त्रालय चाहिँ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई दिने तयारी चलेको छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।