साफ च्याम्पियसिप २०२१ मा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार श्रीलंकालाई ३–२ ले हराउँदै नेपाल फाइनलनजिक पनि पुगेको छ । नेपालले साफ फुटबलमा श्रीलंकाविरुद्ध २२ वर्षपछि जित निकालेको हो ।
जितसँगै नेपाल फाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
नेपाल लिग तालिकाको शीर्ष स्थानमा पनि पुगेको छ । सोमबारको खेलमा नेपालले ३३ मिनेटमा नै अग्रता लिएको थियो । खेलको ३३ औं मिनेटमा नेपालका सुमन लामाले पहिलो गोल गरेका थिए ।
सुमनको प्रहारलाई श्रीलंकाली गोलकिपरले समात्न खोजेका थिए । तर, बल फुत्किएको थियो । रिबाउन्डमा सुमनले उत्कृष्ट गोल गरेका थिए । सुमनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
खेलको ५१ औं मिनेटमा नेपालले अग्रता दोब्बर पारेको हो । अन्जन विष्टको गोलसँगै नेपालले २–० को अग्रतामा थियो ।
खेलको ५७ औं मिनेटमा श्रीलंकाले पहिलो गोल फर्कायो । श्रीलंकाका मार्भिन हामिल्टनले गोल गरेका थिए ।
खेलको ८६ औं मिनेटमा आयुषले नेपालका लागि तेस्रो गोल गर्न सफल भए । तेज तामाङको क्रसमा आयुषले यो गोल निकालेका थिए । आयुषको पनि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
खेल सकिने समयमा श्रीलंकाले पेनाल्टी पायो । गौतम श्रेष्ठले ह्यान्ड गरेपछि पेनाल्टी पाएको श्रीलंकाले आफ्नो लागि दोस्रो गोल गर्यो ।
यसअघि नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो ।
साफ च्याम्पियनसिपमा अब नेपालले २४ असोजमा भारतविरुद्ध खेल्दैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।