सबैको राय र सुझाव समेटेर विधान संशोधन हुन्छ: नेता सिंह

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबैको राय र सुझाव समेटेर पार्टीको विधान संशोधन गर्ने बताएका छन् । नेपाली कांग्रेस टोखा नगरपालिका ८, ९, १० र ११ वडाले आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले समयअनुसार सबैलाई समेट्ने गरी विधान संशोधन गर्ने बताएका हुन्। ‘सिंगाे जनतालाई बेवास्ता गरेर कुनै नेताका व्यक्ति अट्ने गरी विधान संशोधन गर्न हुँदैन,’ उनले भने । 

पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले प्रजातान्त्रिक पद्धति अवलम्बन गरेको कांग्रेस प्रजातान्त्रिक तरिकाले चल्न नसकेको आरोप लगाए । ‘पार्टी विधि, विधानअनुसार चल्न सकेको छैन, विधानअनुसार पार्टी चल्न नसक्दा कमजोर भएको हो,’ उनले भने । 

कांग्रेस नेता अर्जुनरसिंह केसीले अधिनायकवादी प्रवृत्तिले कांग्रेस चल्न नसक्ने बताए । ‘नेता होइन नीति, व्यक्ति होइन विचार कांग्रेसभित्र आवश्यक छ,’ उनले भने । 
कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले काठमाडौं कांग्रेसको संगठन बलियो बनाउनका लागि आफू लागिरहेको बताए । उनले कांग्रेस अहिले लथालिंग अवस्थामा पुगेको भन्दै यसलाई एकढिक्का बनाउनका लागि नेता लाग्नुपर्ने बताए । 

प्रदेश सांसद जीवन डंगाेलले पार्टीले युवामुखी कार्यक्रममा जोड दिए मात्र आगामी दिनमा राम्रो जित हासिल गर्न सकिने बताए । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पार्टीभित्र प्रशिक्षणको खाँचो रहेको औंल्याइन् । 

कांग्रेस टोखा नगरपालिका-१० का अध्यक्ष तेजप्रसाद सेडाईंको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडाैं कांग्रेस क्षेत्र नम्बर६ का सभापति श्यामकृष्ण खड्गी, काठमाडौँ महानगरपालिका– ६ का अध्यक्ष ख्यामराज तिवारी, काङ्ग्रेस टोखा नपाका अध्यक्ष वसन्त श्रेष्ठ, टोखा नपा– ११ का वडाअध्यक्ष उत्तम अधिकारीलगायतले पार्टीभित्र देखिएको गुटबन्दीलाई अन्त्य गरी सुधारको बाटोमा अगाडि बढ्नुपर्ने सुझाव दिए । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७५ शनिबार १४:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया