करारका स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब, कोरोना सकियो भन्दै घर पठाउँदै अस्पताल
स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्,- तलब किन र कसरी पाएनन भन्ने विषयमा मलाई थाहा भएन

कोरोना महामारीको दोस्रो लहरको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर करारमा स्वास्थ्यकर्मी नियुक्त गरेको थियो । कोरोना विशेष अस्पतालका लागि भन्दै मन्त्रालयले चिकित्सकसहित स्वास्थ्यकर्मी करारमा भर्ना गरेको हाे । 

गत असारमा नियुक्त भएका ती करारका स्वास्थ्यकर्मीले अहिलेसम्म पनि तलबभत्ता नपाएको गुनासो गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमर्जेन्सी वार्डमा चार महिना काम गरेका डा. विसद दाहालले अहिलेसम्म तलबभत्ता केही पनि नपाएको गुनासो गरे ।

उनले भने, ‘गत असारमा दोस्रो लहरको कोरोना महामारीको समयमा तीन महिने करारका लागि नियुक्त गरेको थियो । अहिलेसम्म एक पैसा पनि दिइएको छैन ।’

तलबभत्ताका लागि उनले टेकु अस्पताल प्रशासनसँग कैयौं पटक कुरा राखेका थिए । तर, अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध नगराउँँदा तलब दिन नसकिएको बताएको थियो । 

अस्पताल प्रशासनले तलबभत्ताको फाइल स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । टेकु अस्पतालमा दोस्रो लहरको महामारीमा चिकित्सक, नर्स, पारामेडिसियन लगायत गरेर ५० जना स्वास्थ्यकर्मीलाई करारमा भर्ना गरेको थियो । 

अस्पतालका स्थायी कर्मचारीले हरेक महिना तलब पाइरहेका बेला करारमा राखिएका कर्मचारीले भने ४/४ महिनादेखि तलब पाउन नसकेको डा. कृष्णप्रसाद पाैडेलकाे भनाइ छ । देशभरका अन्य कोरोना विशेष अस्पतालमा पनि करारमा कर्मचारी भर्ना गरिएको थियो । ती अस्पतालका करारमा नियुक्त स्वास्थ्यकर्मीले समेत तलबभत्ता पाउन सकेका छैनन् ।



देशभरका ३१ भन्दा बढी अस्पतालमा करारमा कर्मचारी भर्ना गरिएको थियो । ती अस्पताल तथा प्रतिष्ठानमा काम गर्ने कर्मचारीले अहिलेसम्मको तलब भत्ता पाउन नसकेका हुन् । 

उनीहरूले एकातिर तलब भत्ता पाउन सकिरहेका छैनन् भने अर्कोतिर करार सम्झौता नवीकरण हुन सकिरहेका छैन । ‘तीन महिने करार सम्झौता भएको थियो । त्यो सकिएपछि अब कोरोना संक्रमण कम भएकाले थप गर्न खोजेको छैनन्,’ डा. दाहालले भने, ‘त्यसमाथि झन् तलब भत्ता नै नदिएर झुलाइदिएको छ । कोभिड सकियो भनेर अहिले जागिरबाट निकालिदियो ।’



कोरोना महामारीको समयमा अग्रपंक्तिमा काम गर्न खटाइएको तर, अहिले दशैं तिहारजस्ता चाडपर्वको समयमा जागिरबाटै निकाल्ने काम भएको उनको भनाइ छ । टेकु अस्पतालमा मात्र नभएर पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले पनि अहिलेसम्म तलबभत्ता पाएका छैनन् ।

अस्पतालले गत असारमा ५८ जना स्वास्थ्यकर्मीलाई करारमा नियुक्त गरी अग्रपंक्तिमा खटाएको थियो । स्वास्थ्यकर्मीहरूले आफ्नो ज्ञान, बुद्धि विवेकले भ्याएसम्म अहोरात्र खटिएर काम गरे ।  अहिले चार महिना बितिसक्दा पनि तलब नपाउनुले प्रशासनकाे चरम लापरवाही देखिन्छ ।

स्वास्थ्यकर्मीहरूले तलबभत्ताको कुरा गर्न खोज्दा करार सम्झौता नै रद्द गर्ने धम्की अस्पताल प्रशासनले दिन्छ । त्यसैले कुनै पनि कर्मचारी बोल्न डराउँछन् । करारमा नियुक्त भएका एक स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा तलबभत्ताको कुरा गर्दा जागिर नै नरहने खतरा आफूहरूको अगाडि रहेको बताए । 

‘चिकित्सक, नर्स, पारामेसियन, ल्याब टेक्निसियन लगायत ५८ जनालाई करारमा नियुक्त गरेको थियो । लामो समयसम्म तलबको कुरै नगरेर काम गरियो । आज तलब आउला, भोलि आउला भनेर कुरेको पनि चार महिना बित्न लाग्यो’, ती स्वास्थ्यकर्मीले भने । 

करारमा नियुक्त भएका स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयमार्फत् तलबभत्ता पाउँछन् । त्यसका लागि स्वास्थ्य संस्थाहरूले उनीहरूको विवरण मन्त्रालयमा पठाउनुपर्छ । टेकु अस्पतालले सबै फाइल स्वास्थ्य मन्त्रालयमा पेस गरेको पनि लामो समय भइसक्यो । तर, मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन ।

टेकु अस्पतालले आफ्नै स्राेतबाट तलब दिने :

स्वास्थ्य मन्त्रालयले बजेट नपठाएपछि टेकु अस्पतालले भने आफ्नै स्राेतबाट करारका स्वास्थ्यकर्मीलाई तलबभत्ता उपलब्ध गराएको छ । अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले मन्त्रालयबाट बजेट नआएपछि आफ्नै स्राेतबाट तलब भत्ता पठाइएको बताए । 

‘हाम्रै स्रोत व्यवस्थापन गरेर तलब भत्ता पठाइसकेका छौं । भोलिसम्ममा उहाँहरूको खातामा आउँछ होला,’ निर्देशक  डा. बाँस्तोलाले भने, ‘मन्त्रालयले पछि बजेट पठायो भने अर्कोतिर व्यवस्थापन गर्छौं ।’

दशैं तिहारको समयमा तलब रोकेर नराम्रो हुने भएकाले यसरी नै व्यवस्थापन गरिएको उनले बताए । ‘दशैं तिहारजस्तो चाडपर्वको बेला कर्मचारीलाई तलब नदिँदा राम्रो नहुने भन्दै मन्त्रालयको बजेट नकुरेर अस्पतालकै आम्दानीबाट तलब दिएका हौं’, उनले भने ।
 
टेकु अस्पतालले करारमा नियुक्त गरेका ९ जना मेडिकल अफिसरको करार सम्झौता असोज १ गते नै सकिएको थियो । तीबाहेक कार्यरत रहेका स्वास्थ्यकर्मीले पनि छोड्ने क्रम जारी रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । 

मन्त्रालयले बजेट उपलब्ध नगराउँदा अस्पतालहरूले आफ्नै स्रोत व्यवस्थापन गरेर करारका स्वास्थ्यकर्मीलाई तलब भत्ता उपलब्ध गराउन थालेका छन् । 

बजेट रोकिएको बारे मन्त्रालय नै बेखबर 

यसरी करारका कर्मचारीको तलब भत्ता रोकिएको विषयमा स्वास्थ्य मन्त्रालय बेखबर देखिएको छ। मन्त्रालयका प्रवक्ता डा. पौडेलले यो विषयमा के भइरहेको छ भन्ने आफूलाई जानकारी नभएको बताए । 

‘मैले पनि यो कुरा त सुनेको हो । तर, के भइरहेको भन्ने ठ्याक्कै मलाई थाहा भएन । एक पटक सूचना अधिकारीसँग सम्पर्क गर्नुहोस्’, उनले भने । 

मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले आफू यो विषयमा अनभिज्ञ रहेको बताए । उनले भने, ‘अर्थ मन्त्रालयबाट बजेट निकासा नभएको भन्ने सामान्य जानकारी मलाई आको छ । यसको विस्तृत लेखा शाखाबाट बुझ्नै पर्छ ।’ 

रोकिएको तलब भत्ता दसैंपछि मात्र पाइने उनको भनाइ छ । ‘अर्थ मन्त्रालयबाट बजेट आएपछि मात्रै हामीले उपलब्ध गराउने हो । अब दसैंपछि मात्र हुन्छ होला’, उनले भने । 

स्वास्थ्य मन्त्रालयले करार बाहेकका स्वास्थ्यकर्मीलाई भने नियमित तलबभत्ता तथा जोखिमभत्ता समेत उपलब्ध गराउँदै आएको छ । 

तर, करारका नियुक्त गरेका स्वास्थ्यकर्मीलाई एकातिर काम गरेको तलब समेत समयमै दिन सकेको छैन । अर्कोतिर चाडपर्वको समयमा करार सम्झौता सकिएको भन्दै जागिरबाट निकाल्ने गरेको छ । यसरी सरकारको दोहोराे चरित्रप्रति स्वास्थ्यकर्मी आक्रोशित छन् । 

डा. पौडेलले महामारीको समयमा आफ्नो ज्यानको बाजी थापेर पनि काम गरेको तर, तलब दिने बेला अनेकन बहाना गर्ने गरिएको बताए । ‘कोरोना महामारीको समयमा आफ्नो स्वास्थ्यको प्रवाह नगरेर पनि काम गरियो । तलब दिने भने झुलाइराख्छन् । आफ्नो पसिनाको मूल्य माग्दा पनि यस्तो हण्डर खप्नुपरेको छ’, उनले भने । 

  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार ७:२९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया