इजरायलले केयरगिभरको ‘लक्की ड्र’को नतिजा कहिले खोल्छ ?

वैदेशिक रोजगार विभागले असोज १० गते एक हजार ६०० जना नेपालीको नामावली इजरायल पठायो । नेपाली सहायक कामदार (केयर गिभर) का लागि अन्तर्वार्तामा छनोट भएपछि उनीहरूको नाम लक्की ड्र गर्न पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरोटी अफ इजरायल (पिआइबिए) मा पठाएको हाे । 

पिआइबिएले लक्की ड्रका लागि छनोटमा पर्नुभयो भन्दै उम्मेदवारलाई म्यासेज पनि पठायो । तर, लक्की ड्र अझै हुन सकेको छैन । इजरायलले चाँडो नेपाली कामदार छनोट गर्न विभागलाई ताकेता गर्दै आएको थियो । तर, अहिले लक्की ड्र गर्न ढिलाइ गरिरहेको हो । जसले गर्दा लक्की ड्रको नतिजा आउने बित्तिकै घर फर्किने भन्दै काठमाडौंमा बसिरहेकाहरू मर्कामा परेका छन् । 

लक्की ड्र को नतिजा आएपछि घर फर्किने योजनासहित काठमाडौंमै बसिरहेकाहरू अहिले घर फर्किने कि यतै बस्ने भन्नेमा अन्यौलमा परेका छन् । 

लक्की ड्रको नतिजा आएलगत्तै इजरायल जाने प्रक्रिया अगाडि बढाउने योजनामा वैदेशिक रोजगार विभाग लागेको छ । इजरायले समेत जतिसक्दो चाँडो कामदार छनोट गर्न ताकेता गर्दै आएको थियो । तर, अहिले के कति कारणले लक्की ड्र गर्न ढिलाइ भइरहेको भन्नेबारे आफू अनभिज्ञ रहेको विभागको उद्धार तथा राहत समन्वय शाखाका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए ।
 
लक्की ड्रको प्रक्रिया अगाडि बढिरहेको भन्ने जानकारी आफूहरूलाई प्राप्त भएको उनको भनाइ छ । 

‘हामीले उहाँहरूलाई के भइरहेको छ भन्ने ताकेता गर्न सक्दैनौं । प्रक्रिया अलि चाँडो गरिदिनुपर्‍याे भनेर अनुरोध मात्र गर्ने हो,’ निर्देशक सुनुवारले भने, ‘काम भइरहेको छ भन्ने सामान्य जानकारी आएको छ । चाँडै गर्छन् होला, उहाँहरूलाई जतिसक्दो चाँडो कामदार लैजानुपर्ने छ ।’

वैदेशिक रोजगार विभागले असोज ४ गतेदेखि ९ गतेसम्म अन्तर्वार्ता लिएको छ । अन्तर्वार्ताबाट एक हजार १२० जना महिला र ४८० जना पुरुष लक्की ड्रका लागि सिफारिस भएका थिए । 
  
विभागले गत साउन १२ गते सूचना प्रकाशित गरेर आवेदन दिन आह्वान गरेको थियो । एक हजार जना केयरगिभर माग गरिएकोमा ९ हजार ६९९ जनाले आवेदन दिएका थिए । तर, परीक्षामा ७ हजार ९ जना सहभागी हुन योग्य ठहरिएका थिए ।



विभागले भदौ २८ गते भाषाकाे लिखित परीक्षा लिएको थियो । जसमा २ हजार ३९ जना पास भएका थिए । 

इजरायल जाने श्रमिकले हप्तामा ४२ घण्टा काम गर्नुपर्नेछ । सुरुमा एक वर्षको करार र ५ वर्षसम्म थप गर्न सकिनेछ । इजरायल जानका लागि अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ ।  
 



  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १३:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया