कोशी करिडोर विद्युत प्रसारणलाइन निर्माण सम्पन्न

भारतले २२० केभी डबल सर्किट क्षमताको कोशी करिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको छ ।

धनकुटा जिल्लाको हिलेमा आज एक समारोहको आयोजना गरी नेपाल विद्युत प्राधिकरणलाई उक्त विद्युत प्रसारणलाइन हस्तान्तरण गरिएको हो ।
१०६ किलोमिटर लामो कोशी करिडोर विद्युत प्रसारणलाइन १०.४ अर्ब रुपैयाँ (८६.८ मिलियन अमेरिकी डलर) लागतमा निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । 

भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको  ५५ करोड अमेरिकी डलर ऋण सहयोग अन्तर्गत उक्त प्रसारण लाइनको निर्माण भइरहेको छ । 
भारतको कलपत्रु पावर ट्रान्समिसन लिमिटेडले ४.५ अर्ब (३७.३ मिलियन अमेरिकी डलर) लागतमा यस परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएको थियो । उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ । 

बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि यस सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २ हजार मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्ने दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख ।



कलपत्रु पावर ट्रान्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले भारतीय दूतावासकी नियोग–उपप्रमुख नामग्य खम्पाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई सो परियोजना हस्तान्तरण गरेकी हुन् । समारोहमा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रान्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समारोहमा बोल्दै नियोग–उपप्रमुख खम्पाले भारत उर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको बताएकी थिइन् । साथै उनले नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरिन् । 



कोशी कोरिडोरको अतिरिक्त भारतले १३२ केभी क्षमताका मोदी–लेखनाथ र सोलु करिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ । 

  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १६:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया