कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण : दुई वर्षपछि पूर्वगृहमन्त्री थापा र आइजिपी खनालविरुद्ध जाहेरी दर्ता

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालविरुद्धको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीमा दर्ता भएको छ । कार्यालयले आज सनाखत गरेर दर्ता गरेको हो । 

पूर्वगृहमन्त्री थापा र पूर्वमहानिरीक्षक खनालको निर्देशनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेलको हत्या भएको जाहेरीमा उल्लेख छ । 

वकिल कार्यालयका सूचना अधिकारी शान्तिप्रसाद बरालले पौडेलकी आमालाई बोलाएर जाहेरी सनाखत गराएको फरकधारलाई बताए । 

दर्ता भएपछि प्रहरीले अनुसन्धानका लागि मिसिल लगेको छ । यसअघि प्रहरीले पौडेलको हत्यासम्बन्धी जाहेरी लिन अस्वीकार गर्दै आएको थियो । त्यसपछि जोहरी दर्ता गरी अनुसन्धान गर्नू भनी उत्प्रेषण आदेश माग गर्दै पीडित पक्षबाट सर्वोच्चमा निवेदन परेको थियो ।

आदेशपछि महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई आदेश कार्यान्वयनका लागि पत्र पठाएको थियो । सोहीअनुसार आज जाहेरी दर्ता भएको हो । 

पौडेल ५ असार ०७६मा ‘इन्काउन्टर’मा मारिएको प्रहरीले जनाएको थियो । तर, राष्ट्रिय मानव अधिकार आयोगको टोलीले स्थलगत अनुसन्धान गर्दा पौडेल ‘इन्कान्टर’मा मारिएको नभई चरम यातनापछि हत्या गरेको निष्कर्ष निकालेको थियो ।



सरकारलाई घटनामा संलग्न प्रहरी अधिकारीलाई अनुसन्धानको दायरामा ल्याई कानुनी कारबाही गर्न निर्देशन दिएको थियो । 

जसमा घटनामा प्रहरीलाई निर्देशन दिने तालुकदार निकायका पदाधिकारी तथा आदेश दिने अधिकारी समेतलाई कानुनको दायरामा ल्याउन भनिएको थियो। 



आयोगका अनुसार घटनामा निर्देशन दिने तत्कालीन प्रहरी महानिरीक्षक खनाल हुन् र उनलाई निर्देशन दिने विभागीय मन्त्री रामबहादुर थापा ‘बादल’ ।

घटनामा प्रत्यक्ष संलग्नता भने प्रहरी निरीक्षक कृष्णदेव साह, हवल्दारहरू विनोद साह र सत्यनारायण मिश्रको रहेको आयोगको निष्कर्ष थियो ।

यी तीनैजना प्रहरी अधिकारीलाई निलम्बन गरेर फौजदारी अभियोगमा मुद्दा चलाउन र प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने, प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्कीलाई भने सचेत गराउन आयोगले निर्देशन दिएको थियो । 

  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १७:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया