लोसपाले माग्यो मुख्यमन्त्री राउतको राजीनामा
अख्तियारविरुद्ध आन्दोलन आपत्तिजनक : कांग्रेस

प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।

बुधबार प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै संसदीय दलका नेता सोनलले मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको गरिमामाथि नै आँच आएको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे ।

उनले भने,‘अख्तियारले छापा हान्दै लौकामा औँला देखाएझैँ संघीयता सुक्ने होइन । मुख्यमन्त्री कार्यालय र प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ ।’

‘अख्तियारको छापापछि मुख्यमन्त्री राउतको नैतिकतामाथि प्रश्न उठेको छ, त्यसैले नैतिकता बचाउन राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ, ‘उनले भने । 

उनले मुख्यमन्त्री राउतलाई वर्तमान सरकार संविधानको कुन धाराको आधारमा चलिरहेको छ भन्ने प्रश्न गर्दै यस विषयमा विषयमा जानकारी गराउन समेत आग्रह गरे ।

उनले प्रश्न गर्दै भने,‘दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री राउतले विश्वासको मत किन लिएनन् ? यस्तो अवस्थामा सरकारलाई संवैधानिक भन्ने कि नभन्ने ?’ 



अख्तियारविरुद्ध आन्दोलन आपत्तिजनक कांग्रेस

सोही बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापामारेपछि जसपा आन्दोलनमा उत्रिनु आपत्तिजनक रहेको बताए । अख्तियारले छापा मार्दैमा आन्दोलन गर्नु दुःखद रहेको उनले बताए ।
 
 ‘नारा जुलुस गरेर, मसाल जुलुस निकालेर र इन्टरभ्यु दिएर मलाई यस्तो गर्यो भन्दैमा नेपालको संविधान र कानुन घट्दैन, तपाईंहरुले जुलुस निकाल्दैमा अख्तियारको अधिकार घट्दैन,’ उनले भने, ‘यदि गलत गर्नुभएको छैन भने शान्तिपूर्वक त्यसको सामना गर्नुस् ।’



दुईतिहाइभन्दा बढी प्रदेशसभा सदस्यको समर्थन रहे पनि मुख्यमन्त्री राउत आत्तिएको भन्दै उनले अख्तियारको सामना गर्न आग्रह गरे । 
 
प्रदेश स्थापनाकालमा प्रदेशसभा भवनको मर्मत सम्भार गर्न आएको ७ करोड रुपैयाँमा अनियमितता भएको प्रतिवेदनमा अख्तियारले कुनै कदम नचालेको सांसद चौधरीको आरोप छ ।

  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १८:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया