अनियमित बिजुलीका कारण सुनसरी मोरङ औद्योगिक करिडोरमा समस्या

सुनसरी मोरङ औद्योगिक करिडोरमा झ्याप्प झ्याप्प लाइन जाने समस्याका कारण उद्योगीहरु मारमा परेका छन् ।

छिनमा लाइन जाने र छिनमा आउने समस्याका कारण करिडोरमा रहेका उद्योगले क्षमता अनुसार उत्पादनमा समस्या भएको हो । 

यस्तै भोल्टेजमा समेत अनियमितता हुदाँ मेशिनहरु समेत बिग्रन थालेपछि करिडोरका साना ठूला १२ सय भन्दा उद्योग प्रभावित भएका छन् ।

नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण उद्योगहरुमा लाईन आएको समयमा पनि जोनेरेटर चलाउनुपर्ने बाध्यता रहेको सञ्चालकहरु बताउँछन् । 

अनियमित विद्युतका कारण उद्योगका लागत खर्च बढेका कारण भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या भएको उद्योगीहरुले बताएका छन् ।

कम भोल्टेजका कारण उद्योगमा लाईनको सर्कुलेसन भइरहेको बेला पनि जेनेरेटर चलाउनुपर्ने समस्या रहेको बोहोरा खाद्य उद्योगका सञ्चालक अभिनाश बोहराले बताए । अहिले उद्योगहरुमा ट्रिपिङ समस्या रहेको उनले सुनाए ।



‘विद्युत् प्राधिकरणले पुराना संरचनाको स्तरोन्नति नगर्दासम्म समस्या भएको छ’, उनले भने, ‘कम भोल्टेज र ट्रिपिङ उद्योगीको मुख्य समस्या हो ।’

५०औं वर्ष पुराना संरचनाहरू अहिले पनि उस्तै अवस्थामा रहेको र कुनै मर्मत सम्भार नभएकाले समस्या झेल्नुपरेको व्यवसायीहरू बताउँछन् । 



‘नियमित सप्लाई भएको छैन, ट्रान्सफरमर कमजोर छ’, उनले भने, ‘विद्युत् प्रवाह हुने लाईन ५० वर्ष पुरानो छ, इन्सुलेटरको समस्या छ ।’ 

यो करिडोरमा ३२५ देखि ३५० सम्मको भोल्टेज नकटेको उनले बताए । ‘विद्युत् हुँदा पनि जेनेरेटर चलाउनुपर्ने बाध्यता छ’, उनले भने, ‘हाम्रो माग भनेको भोल्टेज व्यवस्थित गर्नुपर्छ भन्ने हो ।’ यो करिडोरमा लाईन हुँदा पनि जेनेरेटरबाट उद्योग चलाउनुपरेको छ । विगत ५–६ महिनदेखिकै यो समस्या देखिएको उनले बताए ।

एक्कासी लाईन जाँदा कच्चा पदार्थ बिग्रने गरेको उद्योगीको गुनासो छ । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले आवश्यकताभन्दा कम विद्युत् उपलब्ध गराउँदा समस्या भएको बताए ।

‘विद्युत् कुनैबेला आउने जाने खालको समस्या छ, भोल्टेज अपडाउन पनि हाम्रो लागि पीडादायी बनेको छ’, उद्योगी रिजालले भने, ‘प्राधिकरणले निरन्तर मर्मतको काम आन्तरिक रुपमा गर्नुपर्ने हो, त्यस्तो भएको पाइएन हामीले समस्या भोग्नुपरेको छ ।’

अझ बढी सप्लाईको वातावरण बनाइनुपर्ने हुन्छ । विराटनगर–रानी करिडोरमा पनि ट्रान्सफर्मर र पुराना तार परिवर्तन गर्नुपर्ने बताए ।

उद्योगी व्यवसायी पछिल्ला दिन विद्युत् समस्याको विषयलाई लिएर तनावमा देखिन्छन् ।

विद्युत्को अनियमित कटौती भएको भन्दै मोरङ–सुनसरी औद्योगिक करिडोर तथा विराटनगर रंगेली करिडोरमा विद्युत् समस्या भएको उद्योगी व्यवसायीको भनाइ छ । विराटनगरमा रहेका आधा दर्जनभन्दा बढी उद्योगी व्यवसायीका संस्थाहरूले उद्योगधन्दा नै अस्तव्यस्त हुने गरी विद्युत्मा समस्या आएको बताउँदै आएका छन् ।

प्रदेश १ का ठूला व्यवसायी संस्था उद्योग संगठन, मोरङ व्यापार संघ, उद्योग परिसंघले विद्युत् प्राधिकरणलई नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।
 
औद्योगिक करिडोरको समस्याको बारेमा विराटनगर वितरण केन्द्रलाई जानकारी नहुने बताएको छ ।

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश्वरकुमार गोहिभरले विराटनगरमा भन्दा कटहरी क्षेत्रमा बढी समस्या देखिएको बताए । अहिले विराटनगरमा ९५ मेगावाट विद्युत चालु अवस्थामा रहेको जानकारी दिँदै दुहबी ग्रिडमा नयाँ ट्रान्समिटर जडान गर्नुपर्ने समेत उनले बताए ।

उद्योगहरूकै कारण पनि भोल्टेज कम हुने गरेको विद्युत् प्राधिकरणको ठम्याइ छ । नेपाल विद्युत् प्राधिकरणले राखेको ट्रान्समिटरसँगै उद्योगीहरूले आफ्नै ट्रान्समिटरहरू राखेका छन् ।

ती ट्रान्समिटर बिग्रिँदा वा त्यसमा समस्या आउँदा सिस्टममा नै समस्या आउने गरेको भन्दै उद्योगी व्यवसायीले पनि त्यस्ता ट्रान्सफर्मरको मर्मत तथा समस्या देखिएको अवस्थामा प्राविधिक टोलीलाई देखाउनुपर्ने प्राधिकरणको भनाइ छ ।

  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १३:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया