आजदेखि २०७८ सालको बडा दसैं सुरु भइसकेको छ । घर घरमा घटस्थापना गरी दसैं मनाउन सुरु भएको छ । दसैं सँगै जोडिन आउने नयाँ नोटको जोहो पनि कतिपयले गरिसकेका छन् भने कतिपयले नयाँ नोट साट्ने तयारीमा छन् ।
यो वर्ष नेपाल राष्ट्र बैंकले गत असोज ४ गतेदेखि आम सर्वसाधारणलाई वाणिज्य बैंकमा गएर बढीमा १८ हजार ५ सय रुपैयाँ साट्न सक्ने सक्ने व्यवस्था गरेको छ ।
दसैं भन्नेबित्तिकै आम नेपालीहरुको दिमागमा नयाँ नोटको सचित्र आउने गर्छ । पहिला पहिला राजपरिवार धनीमानी र शहरमा बस्नेहरुले दसैंमा नयाँ नोटको प्रयोग गर्थे भने अहिले अधिकांश नेपालीले दसैंमा नयाँ नोटको प्रयोग गर्ने गर्छन् ।
नयाँ नोटको इतिहास
दसैंमा नयाँ नोटको इतिहास पुरानै छ । राणा कालमै दसैंपर्वमा बजारमा नयाँ नोट ल्याउन प्रचलन सुरु भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार वि.स. २००२ मा राजा त्रिभुवन र राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा नेपालमा पहिलो पटक कागजी नोट निस्किएको बताइन्छ ।
२००२ देखि हालसम्म निरन्तर गभर्नरको हस्ताक्षरसहित नयाँ नोट निस्किन्छ । राणा कालमै दसैंमा नयाँ नोट चलाउने परम्परा सुरु भएको मानिन्छ । राष्ट्र बैंककाअनुसार २००२ मा पहिलोपटक सदरखानाबाट निस्किएको नोटमा ढुकुटी वा भण्डारको जिम्मा लिने अधिकारी (जसलाई खजान्ची भनिन्थ्यो) को हस्ताक्षर थियो ।
त्यसपछि निरन्तर २०१३ सालसम्मको नोटमा खजान्चीको हस्ताक्षर हुने गथ्र्यो भने वि स. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापनापछि गभर्नरको हस्ताक्षरमा नयाँ नोट बजारमा आउन थालेको इतिहास छ ।
बजारमा अउने नोटमध्ये धेरै नोट दसैंको मुखमा बजारमा ल्याउने प्रचलन छ । नोटमा हस्ताक्षर गर्ने नेपालको पहिलो खजाञ्जी जनकराज पण्डित हुन् भने पहिलो गभर्नर हिमालय शमशेर राणा हुन् ।
नेपालमा सबैभन्दा पहिले खञ्जाचीको हस्ताक्षरमा ५, १० र १ सय मोरुमा नोटहरु बजारमा आएका थिए । त्यसपछि २००९ मा नरेन्द्रराजको पालामा १ पनि मोरु निष्कासन भएको इतिहास छ भने २०२६ सालमा एक हजार रुपैयाँको नोट निष्कासन पहिलो पटक भएको थियो ।
त्यसको दुइ वर्षपछि २०२८ मा पाँच सय रुपैयाँको नोट पनि पहिलो पटक निष्कासन भएको थियो । ५०, ५, २० र २५ रुपैयाँको नोट भने क्रमशः २०३४, २०३८, २०३९ र २०५२ सालमा निष्कासन सुरु भएको हो ।
नोट निकाल्ने प्रक्रिया
नोटहरु जति पायो त्यति छाप्न मिल्दैन । नोट छाप्नका त्यस रकम बराबरको सम्पत्ति सरकारसँग हुनुपर्छ । त्यसलाई सुरक्षण भनिन्छ । अर्थात् जति रुपैयाँ छाप्ने हो त्यसका लागि धितो राख्नपर्ने जति सम्पत्ति सुरक्षण हुनुपर्छ ।
यस्तो सुरक्षणमा सुन, विदेशी मुद्रा र त्यसले नपुगेको अस्थामा राष्ट्र बैंकले खरिद गरेको सरकारको ऋणपत्रलाई पनि सुरक्षणका रुपमा राख्ने प्रचलन छ । यसरी विभागले विभागको सुरक्षण राखेको पक्का गरेपछि मात्रै मुद्रा निष्कासन गर्ने गरिन्छ ।
नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्दा तीन वर्ष तीन महिनाको मागको प्रक्षेपण गर्ने गर्छ । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले देशको अर्थतन्त्रको आकार र सम्भावित विस्तारलाई मध्यनजर गर्दै हरेक वर्ष आउने वर्षका लागि चाहिन सक्ने नोट आवश्यकता पहिचानसहित सिफारिस गर्छ ।
त्यही आधारमा राष्ट्र बैंकको सञ्चालक समितिको नोट निष्कासनसम्बन्धी निर्णय गर्छ । निर्णयका आारमा मुद्रा व्यवस्थापन विभागले नोटको दर र परिमाण तोक्छ र त्यसैअनुसार अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिन्छ ।
बोलपत्र आह्वानपछि खरिद नियमावली अनुसार सस्तो र भरपर्दो कम्पनीलाई नोट छपाइको जिम्मा दिइन्छ ।
अहिलेसम्मको अवस्था हेर्दा चीन, जर्मनी, नेदरल्याण्ड, अष्ट्रेलिया, बेलायत, फ्रान्स, इन्डोनेशिया, केन्या, माल्टाका कम्पनीले नेपालको नोट छपाइ गर्ने गरेका छन् । सामान्यतयाः नोटको आयु साढे तीन वर्ष हुने अनुमान राष्ट्र बैंकले गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।